Sunday, September 8

खण्डहरबाट गुलजार बन्दै तातोपानी नाका

रमेश लम्साल


विसं २०७२ को ‘गोरखा भूकम्प’का कारण बन्द भएको तातोपानी नाका सञ्चालनमा आउने भएपछि स्थानीयवासी असाध्यै खुसी भएका छन्। देशको अर्थतन्त्रको प्रमुख मेरुदण्डका रुपमा समेत रहेको उत्तरी छिमेकी देश चीन जोड्ने उक्त नाका यही जेठ १७ गतेदेखि सञ्चालनमा आउँदैछ।

नाका सञ्चालन हुने खबर सुनेपछि स्थानीय छिरिङ शेर्पाले भने, ‘हामीले त नयाँ जीवन प्राप्त गरेको जस्तो लागेको छ।’ भूकम्पपछि खण्डहर बनेका तातोपानी, लिपिङ बजारलगायतका क्षेत्र यतिखेर क्रमशः गुलजार बन्दै गएका छन्। भत्किएका घर र संरचनालाई मर्मत सम्भार गर्दै स्थानीयवासी नाका खुल्ने खबरसँगै उत्साहित मात्रै भएका छैनन्, आर्थिक उन्नयन हुनेमा आशावादी देखिएका छन्।

भोटेकोशी गाउँपालिकाका स्थानीयवासी मिङ्मा शेर्पा भन्छन्, ‘नेपाल सरकारको ठूलो प्रयासपछि नाका सञ्चालनमा आउन लाग्नु हामी सबैका लागि खुसी र उत्साहको कुरा हो।’ स्थानीयवासीमा उत्साह भर्न गृहमन्त्री रामबहादुर थापा, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवं सिन्धुपाल्चोकका सांसद अग्निप्रसाद सापकोटालगायतले शनिबार तातोपानी नाका र कोदारी राजमार्गको स्थलगत निरीक्षण गरेका छन्।

यस्तै नेपाल इन्टरमोडेल यातायात विकास समितिले निर्माण गरेको सुक्खा बन्दरगाहको समेत उनले निरीक्षण गरे। निरीक्षणपछि गृहमन्त्री थापाले भने, ‘देशको अर्थतन्त्रमा ठूलो प्रभाव पार्ने यो नाका सञ्चालनमा आउन लागेको छ, नेपाल सरकारले शान्ति सुरक्षाको सबै प्रबन्ध गरेको छ, ‘एक चीन नीति’ विरुद्ध हुने सबै प्रकारका गतिविधि पूर्णरुपमा बन्देज गर्दै नाकालाई थप व्यवस्थित बनाउँछौँ।’

नाका खुल्ने भएसँगै पर्यटन, आर्थिक प्रवर्द्धन र दुई देशको सम्बन्धलाई समेत नयाँ उचाइमा लगेको स्मरण गर्दै उनले नाका आसपासका स्थानीयवासीले थप व्यवस्थित बनाउन सहयोग गर्नुपर्नेमा जोड दिए। सांसद सापकोटाले ठूलो मेहनत र प्रयासबाट नाका सञ्चालनमा आउन लागेकाले कुनै पनि प्रकारको कमजोरी हुन नदिन सबैले ध्यान दिनुपर्ने बताए।

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री भएका बेला गरेको सार्थक प्रयासका कारण नाका खुल्ने अवस्थामा आइपुगेको स्मरण गर्दै उनले भने, ‘यतिखेर परीक्षणका रुपमा नाका खुल्दैछ, अवाञ्छित गतिविधि नियन्त्रणका लागि सबैको साथ र सहयोग जरुरी छ, नेपाल सरकार, स्थानीय सरकार र नागरिकले आपसी हित र चासोलाई सम्बोधन गर्नुपर्छ।’

भोटेकोशी गाउँपालिकका अध्यक्ष राजकुमार पौडेलले स्थानीय सरकारका तर्फबाट नाका व्यवस्थित गर्न सबै प्रकारका सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। अध्यागमन विभागका महानिर्देशक इश्वरीराज पौडेलले भूकम्पपछि करीब बन्द अवस्थामा रहेको अध्यागमन कार्यालय स्थापना भइसकेको जानकारी दिए। उनले कार्यालयलाई थप व्यवस्थित बनाउने प्रयास भइरहेको बताए।

भन्सार विभागका निर्देशक शिव भण्डारीले भन्सार कार्यालयलाई सञ्चालनमा ल्याउन प्राविधिक तयारी भइरहेको र नाका खुल्नु अगावै सञ्चालनमा ल्याइने बताए। भूकम्पका कारण तातोपानीमा रहेका सम्पूर्ण संरचनामा क्षति पुगेपछि नाका बन्द रहेको थियो। नाकामा आवश्यक सबै संचरना निर्माण भइसकेका छन्। अध्यागमन कार्यालय, भन्सार कार्यालय र सुरक्षा निकायका कार्यालय खडा भइसकेका छन्।


Discover more from खबरगृह

Subscribe to get the latest posts sent to your email.

Leave a Reply

Discover more from खबरगृह

Subscribe now to keep reading and get access to the full archive.

Continue reading