Tuesday, July 16

मेलम्चीको पानी चाँडै ल्याउन संघर्ष समितिको दबाब

काठमाडौँ– काठमाडौँ उपत्यका मेलम्ची खानेपानी संघर्ष समितिले सरकारले उपभोक्ताका धारामा आगामी शुक्रबारसम्म मेलम्चीको पानी आउने व्यवस्था नगरे आन्दोलनलाई सशक्त पार्ने बताएको छ।

पटक–पटक सरकारी अधिकारीसँगको छलफलका क्रममा आश्वासन मात्र पाएको तर पानी आउने सुनिश्चितता नभएको भन्दै काठमाडौँ उपत्यकाका बासिन्दाहरूले संघर्ष समिति बनाएर आन्दोलन थालेका छन्।

आयोजना शुरूआत भएको २२ वर्षपछि २०७७ चैत १५ मा पहिलो पटक मेलम्चीको पानी काठमाडौँमा वितरण गरिएको थियो। सम्भावित बाढीबाट हेडबक्स सुरक्षार्थ भन्दै बन्द गरिएको आयोजना वर्षायाम सकिएको तीन महिना बितिसक्दा पनि सञ्चालनमा आउन सकेको छैन।झन्डै ३५ अर्ब रुपैयाँ खर्चेर निर्माण सम्पन्न गरिएको आयोजनाबाट पानी नआएपछि काठमाडौँवासीले अर्थमन्त्री डा. प्रकाशशरण महत र खानेपानीमन्त्री महेन्द्र राय यादवलाई गत मंसिर १२ मा सिंहदरबारमै भेटेर ‘अल्टिमेटम’ दिएका थिए। 

उपभोक्ताको अल्टिमेटमपछि खानेपानीमन्त्री यादवले मेलम्ची खानेपानी आयोजनाको मुहानस्थलमा स्थलगत निरीक्षणसमेत गरेका थिए। त्यसपछि पनि पानी आउने निश्चित नभएपछि उपभोक्ताले पुस २ गते कोटेश्वर–तीनकुने क्षेत्रमा खाली भाँडा लिएर विरोध प्रदर्शन गरेका थिए।

सरकार र निर्माण कम्पनीको लापरबाहीले मेलम्चीको पानी अवरुद्ध भएको भन्दै उपभोक्ता आन्दोलित भएलगत्तै मेलम्ची खानेपानी विकास समितिले २८ दिनको भाका मागेको थियो। विकास समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले विज्ञप्ति जारी गर्दै अब दुई सिफ्टमा काम गराएर २८ दिनमा काम सम्पन्न गर्ने र मेलम्चीको पानी काठमाडौँमा झर्ने बताएका छन्। 

खानेपानी विकास समितिको विज्ञप्तिबाट आश्वस्त नभएको समितिले गत बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै आफूहरूले उठाएका मागहरू तत्काल सम्बोधन नभए आन्दोलनलाई सशक्त बनाउने चेतावनी दिएको थियो। 

संघर्ष समितिका संयोजक गोविन्दराज पन्तले मेलम्चीका स्थानीय जनताबाट कुनै पनि प्रकारको अवरोध नहुँदा नहुँदै पनि सरकारले त्यसैलाई बहाना बनाइरहेको बताउँछन्। विभागीय मन्त्री यादवले मुहानमा पुगेर सात दिनमै पानी आउँछ भनी संघर्ष समिति समक्ष प्रतिबद्धता जनाएको तीन हप्ता बित्दा पनि पानी नआएको उनको भनाइ छ।

उनले सरकारी निकायबाट जारी भएको विज्ञप्तिमा विश्वास गर्न सकिने आधार नरहेको, वर्तमान अवस्थामा पानी छाड्न २८ दिन लाग्ने परिस्थिति नरहेको र संघर्ष समितिको आन्दोलनलाई कमजोर बनाउने उद्देश्यले आउने विज्ञप्ति आफूहरूलाई स्वीकार्य नहुने बताए। संघर्ष समितिका माग पूर्ण रूपमा पूरा नभएसम्म आन्दोलन जारी रहने उनको भनाइ छ। 

मेलम्ची खानेपानीको निरन्तरताका लागि आन्दोलन गर्न बाध्य भएको बताउँदै संघर्ष समितिकी सदस्य सीता कँडेल पराजुलीले मेलम्ची खानेपानी तुरुन्त सुचारु गर्न माग गरिन्। उपत्यकामा खानेपानीको स्थायित्वका लागि आफूहरू निरन्तर रूपमा लागिरहने उनको भनाइ छ।

संघर्ष समितिका सदस्य हरि गौतमले पनि सरकारी निकायको विज्ञप्तिप्रति आपत्ति जनाए। खानेपानीका लागि जनता समिति बनाएर सडकमा आउँदा पनि सरकारले एकलौटी निर्णय गरेर विज्ञप्ति जारी गरेको भन्दै असन्तुष्टि व्यक्त गरेका उनले प्रश्न गरे, “रित्तो गाग्री बोकेर पानी देऊ भनेर जनता सडकमा आइरहेका छन्, यो मागलाई सम्बोधन नगरी, संघर्ष समितिलाई नबोलाई एकलौटी निर्णय गर्न पाइन्छ?”

समितिले आगामी शुक्रबारसम्म मेलम्ची खानेपानी खोल्ने व्यवस्था नमिलाए आन्दोलनलाई थप चर्काउने जनाएको छ। समितिले सरकारले आफूहरूका मागलाई अनदेख गरे उपत्यका नै ठप्प पार्ने गरी आन्दोलन चर्काउने र उपत्यकावासीका धारा–धारामा पानी नझरेसम्म जारी राख्ने चेतावनी दिएको छ।


Discover more from खबरगृह

Subscribe to get the latest posts sent to your email.

Leave a Reply

Discover more from खबरगृह

Subscribe now to keep reading and get access to the full archive.

Continue reading