Friday, April 12

देशकै समृद्धि प्रदेश बन्ने लुम्बिनीको आधार

  • ई. शिव भट्टराई

भौगोलिक स्थिति, पुरातात्विक महत्त्व तथा पर्यटकीय क्षेत्र, अन्तर्राष्ट्रिय पहुँच मार्ग मात्रै नभई हालसम्मको पूर्वाधार विकासलाई हेर्ने हो भने लुम्बिनी देशकै समृद्ध प्रदेश बन्ने आधार छन् । तर, अधिकांश सूचकमा यो प्रदेश चौथो र पाँचौ स्थानमा रहेको छ ।

मुख्यतय कृषि र पर्यटनको प्रचुर सम्भावना बोकेको यो प्रदेशमा राष्ट्रिय र अन्तर्राष्ट्रिय लगानी भित्र्याएर उद्योग कलकारखाना खोल्दा प्रतिस्पर्धी क्षमताका साथै बजार विस्तारमा सहयोग पुग्ने देखिन्छ । यो विचारमा लुम्बिनी अहिलेको परिदृश्य र भावी अवसरलाई केलाउन खोजेको छु ।

पृश्ठभूमि

लुम्बिनी बर्दघाट पश्चिमको नवलपरासी, रुपन्देही, पाल्पा, कपिलवस्तु, गुल्मी, अर्घाखाँची, प्यूठान, रोल्पा, पूर्वी रूकुम, दाङ,  बाँके र बर्दिया गरी १२ जिल्ला समावेश भएको प्रदेश हो । यस प्रदेशमा तराईमा ६ र पहाडमा ६ गरी १२ जिल्ला छन् । यस प्रदेशमा ४ उपमहानगरपालिका, ३२ नगरपालिका र ७३ गाउँपालिका गरी कुल १०९ वटा स्थानीय तह छन् ।  महानगरपालिका नभए पनि देशकै सबैभन्दा धेरै उपमहानगरपालिका हुने प्रदेशमा लम्बिनी प्रदेश पर्छ । देशभर ११ वटा उपमहानगर रहेकोमा लुम्बिनीमा मात्रै ४ वटा छन् ।

यस प्रदेशको क्षेत्रफल १७ हजार ८१० वर्ग किमी छ । नेपालको कुल क्षेत्रफलको १२.१ प्रतिशत हिस्सा यो प्रदेशले ओगटेको छ । प्रदेशको कूल भू-भागमध्ये ५४ प्रतिशत तराई र ४६ प्रतिशत पहाड पर्दछ । यसको पूर्वमा गण्डकी प्रदेश, उत्तरमा गण्डकी प्रदेश र कर्णाली प्रदेश, पश्चिममा सुदूरपश्चिमय प्रदेशसँग र दक्षिणमा भारतसँग सीमा जोडिएको छ ।

भैरहवा र नेपालगञ्ज गरी दुइटा प्रमुख भन्सार नाका यस प्रदेशमा रहेका छन् । पूर्वमा त्रिवेणीधामदेखि पश्चिममा राजापूरसम्म र उत्तरमा सिस्ने, पुथा हिमालदेखि दक्षिणमा मर्चवारसम्म यो प्रदेश फैलिएको छ ।

एशियाकै ठूलो र सुन्दर उपत्यका दाङ र शान्तिका अग्रदूत गौतमबुद्धको जन्मस्थल लुम्बिनी यो प्रदेशका मुख्य पहिचान हुन् ।

आर्थिक परिदृश्व

यस आर्थिक वर्षमा यस प्रदेशको कुल गार्हस्थ उत्पादन उपभोक्ताको मूल्यमा करिव ६ खर्ब ८५ अर्ब रुपैयाँको रहेको छ । राष्ट्रिय अर्थतन्त्रमा यो प्रदेशको मात्रै १४ प्रतिशत योगदान रहेको छ ।

यो प्रदेशको कुल ग्राहस्थ्य उत्पादनमा सबैभन्दा बढी योगदान २९.४ प्रतिशतले कृषि क्षेत्रको छ भने सबैभन्दा कम योगदान ० दशमलव ४ प्रतिशतले प्रशासनिक सहयोगी सेवा क्षेत्रको रहेको छ ।

मुख्य आर्थिक सूचक

प्रमुखआर्थिक स्थितिको झलक
कुल गार्हस्थ्य उत्पादन ६ खर्ब ८४ अर्ब
राष्ट्रिय उत्पादनमा प्रदेशको अंश १४.१ प्रतिशत
आर्थिक वृद्धिदर उत्पादकको मूल्यमा ६.४ प्रतिशत
कृषि क्षेत्रमा प्रदेशको अंश १७.३
उद्योग क्षेत्रमा प्रदेशको अंश १५.८
सेवा क्षेत्रमाप्रवेशको अंश १२.५
उद्योगको दर्तासंख्या ६५६
लघु, घरेलु तथासाना उद्योगको संख्या ९४१३८
उद्योगमा लगानी १ खर्ब ७१ अर्ब
जलविद्युत उत्पादन मेगाबाट ३१

प्रदेशमा उपलब्ध जल, जमिन, जनशक्ति, मानवीय पूँजीलगायत अन्य स्रोत र साधनको अधिकतम् परिचालन र उपयोग गर्दै सुशासन, विकास र समृद्धिमार्फत प्रदेशवासीको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउन यहाँहरूको महत्त्वपूर्ण भूमिका रहनेछ । दिगो र उच्च वृद्धिदरको आर्थिक विकाससहित समृद्ध र आत्मनिर्भर प्रदेश बनाउन यहाँ सबै प्रतिवद्ध र कटिबद्ध भएर लागे पुग्छ । प्रदेश समृद्धिका मुख्य दुई आधारमा कृषि र पर्यटन क्षेत्रलाई लिइएको छ ।

कृषि क्षेत्र

केन्द्रीय तथ्याङ्क विभागको तथ्याङ्कलाई आधार मान्ने हो भने यस प्रदेशमा ४ लाख हेक्टर बढी खेतीयोग्य जमिन छ । यो प्रदेशको कुल जमिनको करिब २३ प्रतिशत पर्न आउछ । यस प्रदेशमा कृषि कार्यमा संलग्न करिब ३८ लाख जनता संलग्न छन् । कृषि आवद्ध जनसंख्या हेर्ने हो भने यो मधेस प्रदेशपछिको ठूलो हो ।

प्रदेशका करिब दुईतिहाई जनसंख्या कृषि पेशालाई अंगालेको पाइन्छ । तराईका जिल्लामा विशेषगरि खाद्यान्न, दलहन तथा तेलहन बाली उत्पादन हुन्छ भने पहाड तथा हिमाली जिल्लामा तरकारी तथा फलफूल खेतीका लागि उपयुक्त मानिन्छ । प्रमुख नगदे बालीमा कफी, कपास,  उखु,  तोरीलाई लिन सकिन्छ । अर्को आर्थिक सम्भावना बोकेको क्षेत्र मौरीपालन पनि हो ।

चालू वर्षको पहिलो ६ महिनाको आर्थिक परिदृश्यको आधारमा लुम्बिनी प्रदेशमा खाद्य तथा अन्न बालीले ढाकेको क्षेत्रफल बढेको छ । नेपाल राष्ट्र बैंकले गरेको प्रदेश आर्थिक क्रियाकलाप अध्ययनअनुसार गत वर्षको तुलनामा खाद्य तथा अन्य बालीले ढाकेको कूल क्षेत्रफल २.६४ प्रतिशतले बढेको देखिएको छ ।

फलफूल तथा मसला बालीले ढाकेको क्षेत्रफल गत अवधिको तुलनामा १२.०१ प्रतिशत र उत्पादन २६.०९ प्रतिशतले वृद्धि भएको छ । तर, तरकारी बालीले ढाकेको क्षेत्रफल ३.८८ प्रतिशत र तरकारी उत्पादन २०.२८ प्रतिशतले घटेको पाइएको छ ।

चालू वर्षमा नवलपरासी पश्चिम जिल्लामा केराले ढाकेका भू–क्षेत्र विस्तार हुनुको साथै केरा उत्पादन १८०.६१ प्रतिशतले वृद्धि भएको छ । यता रूकुम पूर्वमा सबैभन्दा धेरै उत्पादन हुने मह उत्पादनमा भारी गिरावट आएको कारण समग्र मह उत्पादन ७०.११ प्रतिशतले घटेको छ ।

समीक्षा अवधिमा पशुपन्छी उत्पादनमध्ये दूध उत्पादन १२.६७ प्रतिशत, मासु १५.१९ प्रतिशत, अण्डा २५.२८ प्रतिशत, छाला २.१४ प्रतिशत र हाड उत्पादन ६.४५ प्रतिशतले वृद्धि भएको तथ्यांकले देखाएको छ ।

बाँके जिल्लामा मत्स्य पालनको भू–क्षेत्रमा वृद्धि र २ हजार ५०० भुरा प्रतिकट्ठा राख्न मिल्ने पङ्गास जातको माछासमेतको व्यवसायिक उत्पादन सुरु भएको कारण समग्र माछा उत्पादन १८.८६ प्रतिशतले वृद्धि भएको छ ।

सामुदायिक वनमा कटान कार्य नभएको कारण वनजन्य उत्पादन अन्तर्गत काठ उत्पादन २०.५२ प्रतिशत, दाउरा २६.९५ र औषधिजन्य वस्तु उत्पादन २६.८५ प्रतिशतले घटेको अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ ।

कुल खेतीयोग्य क्षेत्रफलको २५.८१ प्रतिशत र खेती गरिएको क्षेत्रफलको ४४.१३ प्रतिशत हिस्सा सिंचित भएको उल्लेख छ ।

यो क्षेत्रमा कृषिमा लगानी बढ्दो क्रममा देखिएको छ । चालू वर्षको ६ महिनाको तथ्यांक अध्ययन गर्दा कृषि क्षेत्रमा प्रवाहित कृषि कर्जा २६.१५ प्रतिशतले वृद्धि भएको छ भने कूल प्रवाहित कृषि कर्जामा रुपन्देही जिल्लाको हिस्सा सबैभन्दा धेरै (४०.८८ प्रतिशत) र रुकुम पूर्व जिल्लाको हिस्सा सबैभन्दा कम (०.०४ प्रतिशत) रहेको छ ।

यो प्रदेशमा आधुनिकीकरण, व्यावसायीकरण र औद्योगिकीकरण गरी आन्तरिक रोजगारी र आय वृद्धि गर्न सकिने अवसर यो प्रदेशमा छ ।

कृषि उपजको उत्पादन र उत्पादकत्व वृद्धि गरी खाद्य सुरक्षा र प्रतिस्पर्धात्मक क्षमता बिकास गर्न अन्य प्रदेशको तुलनमा सहज रहेको छ । कृषिको उत्पादकत्व बढाउनप्रदेश मातहतमा संचालन हुने बिश्वबिद्यालयबाट कृषिसँग सम्बन्धित आधुनिक विषयवस्तुहरु पठनपाठन गराउन सकिने अवसर यो प्रदेशले बोकेको छ ।

पर्यटन

लुम्बिनी प्रदेश सरकारले पर्यटन क्षेत्रलाई पनि प्राथमिकता दिँदै आएको छ । पर्यटन क्षेत्रको विकासका लागि उपलब्ध साधन स्रोतको समुचित परिचालन गर्नु प्रदेशको मुख्य प्राथमिकता रहेको छ । कोभिड १९को प्रभाबले सरकारका योजना केही पछि धकेलिएका छन भने पर्यटन क्षेत्र पनि प्रत्यक्ष रुपमा प्रभावित भएको छ । नेपाली अर्थतन्त्रमा पर्यटन उद्योगको महत्वपूर्ण योगदान रहने भएकोले यसको असर बैदेशिक मुद्रा आर्जन, कुल गार्हस्थ उत्पादन, सरकारी आम्दानी र रोजगारी समेतमा परेको छ ।

लुम्बिनी प्रदेशमा अवस्थित तीर्थस्थल तथा अन्य पर्यटकीयस्थल जस्तै जगदिशपुर ताल, सागर ताल (कपिलवस्तु), ताल पोखरा, रम्भादेबी मन्दिर, रानीमहल, कालीगण्डकी क्षेत्र, तानसेन दरबार (पाल्पा), पाणिनी तपोभूमि, सुपादेउराली, मालारानी (अर्घाखाची), रुरु क्षेत्र, रेसुंगा तपोभूमि, थाप्लेको लेक, कंके देउराली (गुल्मी), जलजला (रोल्पा), स्वर्गद्दारी (प्युठान), बगरवावा धार्मिक पर्यटकीय क्षेत्र दाङलगायत स्थानसम्म पर्यटकलाई गन्तब्य स्थान बनाउन सकिन्छ । कूल पर्यटकको संख्यामध्ये कम्तीमा एक चौथाई संख्यामा यस प्रदेशमा भ्रमण गर्दछन् । आन्तरिक पर्यटनका लागि पनि यस प्रदेश देशकै अग्रणी मानिन्छ ।

यस प्रदेशमा थुप्रै प्राकृतिक, धार्मिक र सास्कृतिक पर्यटकीय सम्पदाहरु रहेका छन् । उदाहरणको लागि बर्दिया राष्ट्रिय निकुञ्ज, बाँके राष्ट्रिय निकुञ्ज, चमेरे गूफा, जखेरा ताल, लुम्बिनी, तिलौराकोट, निग्लीहवा, कुदान्, सगरहवा, देवदह, रामग्राम, गोटिहवा, स्वर्गद्वारी, धारपानी, पुरन्धारा छहरा, वाह्रकुने दह, रिडी, रानीमहल, श्रीनगर, सुपा देउराली, जगदीशपूर ताल रहेका छन् । सबै जिल्लाहरुमा धार्मिक मठ मन्दिरहरु रहेका छन् । साँस्कृतिक रुपमा पनि थारु संस्कृति, मगर संस्कृति, अवधी संस्कृति, मुस्लीम संस्कृति र खस–आर्य संस्कृति आदि विद्यमान छन् ।

होटल एसोसिएसन अफ नेपाल, लुम्बिनी प्रदेशबाट प्राप्त तथ्याङ्क अनुसार कोभिड–१९ को प्रभाव कम हुँदै गएको,लकडाउन नरहेको, नयाँ होटलहरु निमार्ण भैसकेको र थप होटलहरु निर्माणको क्रममा रहेको कारण समीक्षाअवधिमा स्तरीय होटल तथा लज संख्या गत वर्षको सोही अवधिको तुलनामा १८.३० प्रतिशतले वृद्धि भई १ सय८१ पुगेको छ भने होटल शैयाको संख्या र प्रत्यक्ष रोजगारी संख्या क्रमशः २९९ प्रतिशत र २६.८३ प्रतिशतले वृद्धिभएको छ ।

जहाँ हेर्यो त्यही सम्भावना

लुम्बिनी प्रदेशमा युवा जनशक्तिकोबाहुल्यता, बढ्दो शहरीकरण, छिमेकी प्रदेशहरु भन्दा उद्योगधन्धा खोल्नसहजरुपमा जग्गाको उपलब्धता छ । विशेष आर्थिक क्षेत्र सेजको निमार्ण, औद्योगिक उत्पादनहरु छिमेकी प्रदेशहरुमा निकासीगर्न सकिने अवस्था, भारतसंग जोडिएको लामो सिमाना सहितको सामिप्यता र त्यहांको बजारको ठूलो आकारका कारण आयात निर्यात गर्न सहज स्थिति, खनिज लगायतका कच्चा पदार्थको सहज उपलब्धता रउर्जाको आपूर्ति बढ्दै गरेको आदी कारणले गर्दा उद्योगधन्धा खोल्न र सञ्चालन गर्न सहज वातावरण छ ।

कृषि, पर्यटन, उद्योग तथा सेवा क्षेत्र एवम् रोजगारीसमेतमा उल्लेख्य विस्तार भई आर्थिकगतिविधि बढ्ने सम्भावना रहेको छ । भैरहवामा निर्माण सम्पन्न भैसकेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको व्यवसायिक उडानका लागि सञ्चालनमा आउने भएको, विभिन्न प्राकृतिक, सांस्कृतिक, ऐतिहासिकतथा धार्मिक पर्यटक स्थलहरु रहेको साथै यस प्रदेशका बिभिन्न जिल्लाहरुमा स्थलगत भ्रमणको क्रममाअधिकांश पर्यटक स्तरीय होटलको निर्माण भैसकेका छन् ।

यस प्रदेशका तराईका जिल्लाहरु ठुला उद्योगको लागि उपयुक्त रहेका छन् । केन्द्रीय तथ्याङ्ग विभागको आर्थिक वर्ष २०६८/६९ मा गरेको १० जना वा यस भन्दा बढी रोजगारी दिएका उत्पादनमुलक उद्योगहरुको सर्वेक्षण अनुसार यस प्रदेशमा समग्रमा नौ सय उद्योगहरु संचालित रहेको देखिन्छ जहाँ ४० हजार जति मानिसहरु संलग्न छन् । यस प्रदेशको रुपन्देहीमा सबैभन्दा धेरै ३२० वटा उद्योगहरु संचालनमा छन् । त्यसपछि बाँकेमा १८५ वटा, कपिलबस्तुमा ११० वटा उद्योगहरु संचालनमा छन् ।

पहाडी जिल्लाहरुमा सबैभन्दा कम रोल्पामा १ वटामात्र उद्योग रहेको देखिन्छ । त्यस्तै, प्यूठानमा ३ वटा र गुल्मीमा ८ वटा मात्र उद्योग संचालनमा छन् । दाङ्गमा ७८ वटा उद्योगहरु रहेका छन् । यस प्रदेशमा जगदम्बा, अर्घाखाँची, दाउन्ने, सोनापुर, घोराही जस्ता ठूला सिमेन्ट उद्योगहरु संचालनमा रहेका छन् । उद्योगहरुको संख्याको दृष्टिकोणले यो प्रदेश नेपालको दोस्रो धेरै उद्योगहरु भएको प्रदेशमा पर्दछ । यस प्रदेशमा वुटवल र नेपालगञ्ज गरी दुईवटा औद्योगिक क्षेत्र संचालनमा रहेका छन् । भैरहवामा विशेष आर्थिक क्षेत्र संचालनमा आएको छ ।

सन्दर्भ साम्रगी

    • प्रथम आवधिक योजना प्रदेश योजना आयोगको कार्यालय , बुटवल
    • आर्थिक गणना २०७५, राष्ट्रिय तथ्यांक विभाग
    • राष्ट्रिय लेखा तथ्याङ्क २०७९, राष्ट्रिय तथ्यांक विभाग
    • प्रादेशिक आर्थिक गतिविधि अध्ययन, लुम्बिनी प्रदेश: नेपाल राष्ट्र बैंक

Leave a Reply

Discover more from खबरगृह

Subscribe now to keep reading and get access to the full archive.

Continue reading