व्यावसायिक योजना बनाउनुभन्दा अगाडि यो भनेको के हो भनेर बुझ्नु जरुरी छ । व्यावसायिक योजना भनेको आफूले व्यवसायका सिलसिलामा गर्न चाहेको कुरा र भाविष्यमा गर्न सकिने कदमबारे लेखिएको विस्तृत रिपोर्ट नै व्यावसायिक योजना हो ।
यसमा आफूले व्यवसाय गर्न चाहेका कारण, व्यवसाय गरिने ठेगाना, कहिले गर्ने, कति खर्चमा गर्ने र खर्चको स्रोत कहाँबाट जुटाउनेलगायत पक्ष र लाग्ने जिज्ञासाको उत्तर दिने गर्छ ।
व्यवसायको परिचय
यो तयार गर्दा सबैभन्दा पहिले आफ्नो व्यवसायका बारेमा लेख्नुपर्छ । व्यवसायको प्रकृति, व्यवसाय गर्ने जिम्मेवार व्यक्तिको पृष्ठभूमि, व्यवसायको ठेगाना, फोन नम्बरलगायत विवरण उल्लेख गर्नुपर्छ । व्यवसायको उद्देश्य लेख्न भुल्नुहुँदैन ।
आफ्नो व्यवसाय कुन स्तरमा छ । भविष्यमा कस्तो योजना बनाउँदै छु भन्नेबारे पनि प्रस्टसँग लेख्नुपर्छ । आफ्नो व्यवसायले बजारमा कस्तो गरिरहेको छ । भविष्यमा के गर्ने योजना छ, त्यो पनि उल्लेख गर्नुपर्छ । बजार मागबारे, प्रतिस्पर्धाबारे पनि लेख्नुपर्ने हुन्छ ।
आफ्नो उत्पादन वा सेवाबारे
आफ्नो व्यवसायले उपभोक्तालाई कस्तो वस्तु तथा सेवा आपूर्ति गरिरहेको छ ? त्यसको अवस्था कस्तो छ ? प्रतिश्पर्धा कस्तो छ ? त्यो बारेमा पनि लेख्नुपर्छ । बजारमा उपलब्ध वस्तु तथा सेवा कस्तो छ र आफूले के गर्न सकिन्छ भनेर पनि लेख्ने ।
रणनीति विश्लेषण
आफूले कुन तरिकाले व्यवसाय गर्न खोजेको हो र भविष्यमा कसरी अगाडि बढ्न सकिन्छ ? त्योबारे पनि लेख्ने । अहिले बजारमा भएका प्रतिस्पर्धीभन्दा फरक कसरी बन्न सकिन्छ ? त्यो कुरा व्यावसायिक योजनामा लेख्नुपर्छ ।
श्रमिक लागत
व्यवसायमा सबैभन्दा महत्वपूर्ण खर्च भनेको पारिश्रमिक लागत पनि हो । आफूले कस्ता श्रमिक राख्ने हो, उनीहरूको उत्पादकत्व कस्तो हुन्छ भन्ने कुरा पनि लेख्नुपर्छ ।
कच्चा पदार्थ
उत्पादनमूलक व्यावसायिक योजनाको सबैभन्दा महत्वपूर्ण पक्ष भनेको कच्चा पदार्थ हो । कच्च पदार्थको उपलब्धता र मूल्यले अन्तिम वस्तुको गुणस्तर र मूल्यमा असर पर्छ । सजिलै उपलब्ध भएमा कच्चा पदार्थको उपादकत्व बढ्न सक्छ । जति सस्तोमा कच्चा पदार्थ उपलब्ध हुन्छ, अन्तिम वस्तुको मूल्य त्यति नै सस्तो पर्न जान्छ । यातायातको अवस्था कस्तो छ ? ढुवानीको अवस्थाबारे पनि लेख्नुपर्छ ।
कम्पनी
व्यवसाय सञ्चालनका लागि पूर्वाधार निर्माण सबैभन्दा महत्वपूर्ण पक्ष हो । उद्योग–व्यवसायका लागि घर, सहज पहुँचको जग्गा, अत्याधुनिक मेसिन, सवारीसाधन आदि कुराका बारेमा पनि लेख्नुपर्छ ।
उत्पादन
उत्पादनबारेमा पनि लेख्ने, आफ्नो उद्योग–व्यवसायले कस्तो वस्तुको उत्पादन गर्छ । वस्तु र सेवा उत्पादन गर्न मुख्य रूपमा के–के काम गर्नुपर्छ, त्यसको बारेमा पनि लेख्ने ।
बजारीकरण
उद्योग–व्यवसाय खोलेर मात्र हुँदैन, यसको उत्पादन बिक्री गर्ने तरिकाबारे पनि राम्रो जानकार हुनुपर्छ । कसरी आफ्नो व्यवसायका बारेमा ग्राहकलाई जानकारी गराउने हो, त्यो लेख्ने । विज्ञापन गर्ने हो भने कहाँ र कति पैसा तिरेर गर्ने हो ? रेडियो, टिभी, पर्चा, ब्यानर आदि माध्यमबाट विज्ञापन गर्नुपर्छ ।
बैंक ऋण
ऋणका लागि व्यावसायिक योजना बनाउने हो भने खर्च र आम्दानीबारे ख्याल गर्नुपर्छ । खर्च धेरै देखियो भने ऋण नदिने सम्भावना हुन्छ । त्यसैले खर्च राख्दा सकेसम्म गुणस्तरमा कमी आउन नदिई कम खर्च गरी काम सम्पन्न गर्ने प्रयास गर्नुपर्छ । साथै, ऋणको भुक्तानी अवधि ब्याज धान्न सक्ने पर्याप्त आम्दानीसमेत देखिनुपर्छ ।
तालिम
समय–समयमा विभिन्न संघ–संस्थाहरूले व्यावसायिक योजना बनाउनेसम्बन्धी तालिमहरू पनि दिइरहेका हुन्छन्, त्यहाँ गएर पनि तालिम लिई आफैं व्यावसायिक योजना बनाउन सकिन्छ ।