पछिल्लो समय क्रिकेटको क्रेज तीव्र रूपमा बढिरहेको छ। यसका साथै क्रिकेट व्यावसायिक पनि बन्दै गइरहेको छ। नेपालमा पनि यसको प्रभाव स्वरुप नेपाली क्रिकेटरहरू पनि व्यावसायिक बन्दै गइरहेका छन्। नेपाली क्रिकेटरहरूसमेत खेलेरै कमाउने अवस्थामा पुगेका छन्। यसको ज्वलन्त उदाहरण युवा बलर सन्दीप लामिछाने हुन्।
सन्दीपले संसारकै प्रतिष्ठित फेन्चाइस क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग (आइपिएल)लगायत अन्य धेरै माथिल्लो स्तरका लिग खेल्न सफल भए। यसबापत उनी केही महिनाभित्रै करोडभन्दा माथिको आम्दानी गर्न सफल भएका छन्।
यसले नेपाली युवा क्रिकेटरमा नयाँ आशा जगाएको छ। व्यावसायिक तरिकाले क्रिकेट खेल्न सक्यो भने नाम र दाम दुबै कमाउन सकिन्छ भन्ने प्रेरणा सन्दीपबाट नयाँ पुस्ताले सिक्दै छन्। प्रोफेसनल क्रिकेटर बन्ने चाहना राख्ने युवा खेलाडीहरूलाई कसरी अगाडि बढ्ने भन्ने दुविधा पनि रहेको छ। त्यसका लागि हामीसँग छन केही टिप्स :
-क्रिकेट खेल्नका लागि सबभन्दा पहिले यो खेलप्रति प्यासन (लगाब) हुनुपर्छ। यसका साथै क्रिकेटर बन्न चाहने हो भने यो खेलप्रति माया र सम्मानसमेत हुन आवश्यक छ र खेललाई इन्जोए गरेर खेल्न सक्नु पर्दछ।
-क्रिकेटका आधारभूत कुरा जान्नुपर्छ। यो खेलप्रति ज्ञानसमेत हुन जरुरी छ। करिब १०–१२ वर्षको उमेरदेखि नै क्रिकेट खेल्न सुरु गर्दा राम्रो हुन्छ।
-त्यसपछि राम्रो प्रदर्शनको कुरा आउँछ । राम्रो प्रदर्शन गर्न राम्रो स्किल हुनुपर्छ । स्किल खाली रहरले मात्र होइन, मिहिनेत पनि गर्नुपर्छ ।
-कुनै खेलमा जानुअघि त्यसको राम्रो तयारी गर्न आवश्यक छ। अझ बाहिर (विदेश) गएर स्किल डेभलप गर्न सके झनै राम्रो हुन्छ।
-सकेसम्म धेरैभन्दा धेरै म्याच खेल्नुपर्यो। ताकि, स्किल निखारियोस्।
-व्यावसायिक क्रिकेटर बन्नलाई आजभोलि त अलराउन्डर हुन आवश्यक छ। तसर्थ, सकेसम्म अलराउन्ड प्रदर्शन गर्ने कोसिस गर्नुपर्छ। राम्रो बलर बन्ने कोसिसमा भए पनि ब्याटिङ सिक्नसमेत उत्तिकै आवश्यक छ।