ट्रिनिडाडमा जारी क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा लेग स्पिनर सन्दीप लामिछानेले उत्कृष्ट खेल प्रदर्शन गरेका छन् । जमैका तलावाजबाट खेल्दै आएका उनी समूह चरणका सबै खेलमा खेलैपिच्छे विकेट लिन सफल भएका छन् ।

सीपीएलको समूह चरणको सबै खेलहरू आइतबार राति सम्पन्न भएको छ । सीपीएलमा सहभागी ६ वटै टोली प्रत्येकले १०/१० वटा खेल खेलेका थिए । सेन्ट किटस्‍विरुद्धको आठौँ खेल वर्षाका कारण रद्द भयो । उक्त खेलमा सन्दीपले बलिङ गर्न पाएनन् । बाँकी नौवटा खेलमा भने उनले खेलैपिच्छे विकेट लिए । सन्दीपको बलमा विपक्षी खेलाडीले खुलेर रन बनाउन सकेनन् । उनले प्रत्येक खेलमा निकै किफायती बलिङ गरे । सन्दीपले समूह चरणका खेल सम्पन्न हुँदासम्म ९ खेलमा १२ विकेट लिए ।

जमैकाले समूह चरणमा स्तरीय खेल प्रदर्शन गर्न नसके पनि सन्दीपले भने आफ्नो उत्कृष्ट खेल देखाए । जमैका समूह चरणका १० खेलमध्ये तीनमा जीत तथा ६ वटामा हारका साथ ७ अंक बटुल्दै अंक तालिकाको चौथो स्थानमा खुम्चियो । यद्यपि सन्दीपले भने जमैकाका लागि कसिलो बलिङ गरे ।

सन्दीपले सेन्ट लुसियाविरुद्धको पहिलो खेलमा एक विकेट लिएका थिए । उक्त खेलमा उनले ४ ओभरमा २३ रन खर्चिए । सो खेल जमैकाले ५ विकेटले जित्यो । यस्तै दोस्रो खेलमा समेत सन्दीपले १विकेट लिए । उनले ट्रिनबागो नाइट राइडर्सविरुद्धको उक्त खेलमा ४ ओभरमा ३० रन दिए । उक्त खेल राइडर्सले ७ विकेटले जितेको थियो । गुयाना अमेजन वारियर्सविरुद्धको तेस्रो खेलमा सन्दीपले २ विकेट लिए । उनले सो खेलमा ४ ओभरमा ८ रन मात्र खर्चिए । उक्त खेलमा उनले हालसम्मकै उत्कृष्ट खेल देखाएका थिए । तर, सो खेलमा जमैका १४ रनले पराजित भयो ।

यसैगरी आफ्नो चौथो खेलमा सन्दीपले १ विकेट लिए । गुएना अमेजन वारियर्सविरुद्धको उक्त खेलमा उनले ४ ओभरमा मात्र १२ रन खर्चिए । सो खेलमा जमैका ५ विकेटले विजयी भयो । यस्तै पाँचौ खेलमा सन्दीपले २ विकेट लिए । बार्बाडोस ट्राइडेन्ससितको सो खेलमा उनले ४ ओभरमा १६ रन दिए । सो खेलमा जमैका ३६ रनले पराजित हुन पुग्यो ।

यस्तै, सेन्ट किट्सविरुद्धको छैटौँ खेलमा सन्दीपले २ विकेट लिए । सो खेलमा उनले ४ ओभर बलिङ गर्दै २७ रन खर्चिए । उक्त खेलमा जमैका ३७ रनले विजयी भयो । सातौँ खेलमा सन्दीपले १ विकेट लिए ।  ट्रिनबागो नाइट राइडर्सविरुद्धको सो खेलमा उनले ४ ओभर बलिङ गर्दै २० रन दिए । सो खेलमा ट्रिनबागोले जमैकालाई १९ रनले पराजित गरेको थियो ।

यस्तै, सेन्ट किट्सविरुद्धको आठौँ खेलमा सन्दीपले जमैकाका लागि बलिङ गर्न पाएनन् । उक्त खेल वर्षाका कारण रद्द भएको थियो । तर, नवौँ खेलमा भने सन्दीपले १ विकेट लिन सफल भए । बार्बाडोस ट्राइडेन्सविरुद्धको सो खेलमा उनले ४ ओभर बलिङ गर्दै २६ रन दिए । उक्त खेलमा जमैका ७ विकेटले पराजित हुनपुग्यो ।

समूह चरणको अन्तिम खेलमा सन्दीपले निकै किफायती बलिङ गरे । सेन्ट लुसियाविरुद्धको खेलमा उनले ४ ओभर बलिङ गर्दै एक मेडन राखेर मात्र २० रन खर्चिए । तर, उनको टोली जमैका भने उक्त खेलमा ११ रनले पराजित भयो ।

सन्दीपको टोली जमैकाले अब मंगलबार सीपीएलको शीर्ष स्थानको टोली ट्रिनबागो नाइट राइडर्ससित सेमिफाइनल खेल खेल्नेछ । उक्त खेलमा हालसम्मको खेल प्रदर्शनको आधारमा सन्दीपले जमैकाको तर्फबाट बलिङ गर्न पाउने निश्चित जस्तै छ । जमैकाले बलिङ लाइन सन्दीपमाथि निर्भर रहने गरेको छ । उनले विपक्षी खेलाडीलाई खुलेर रन बटुल्न दिएका छैनन् । सन्दीप र अफगानिस्तानका युवा खेलाडी मुजिबउर रहमानले जसरी जमैकालाई बलिङमा साथ दिँदै आउनुभएको त्यसैगरी ब्याटिङ लाइन बलियो भएमा जमैकाले सेमिफाइनलमा जित्न सक्ने अनुमान गरिएको छ ।

यस यामको सिपिएलका लागि जमैका तल्लावाहजले सन्दीपलाई ९० हजार अमेरिकी डलरमा अनुबन्ध गरेको हो । उनले यसअघि दुई पटक सीपीएल खेलिसकेका छन् । पहिलो पटक सन् २०१८ मा उनलाई सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्सले ५ हजार अमेरिकी डलरमा अनुबन्ध गरेको थियो । दोस्रो पटक बार्बाडोस ट्रिडेन्टसले सन् २०१९ मा सन्दीपलाई ७० हजार डलरमा अनुबन्ध गरेको थियो ।

सीपीएल सकिएपछि सन्दीप इन्डियन प्रिमियर लिग (आईपीएल) खेल्न युनाइटेड अरब इमिरेटस् (युएइए) जानेछन् । यस यामको आईपीएल कोरोना महामारीका कारण भारतमा आयोजना नभएर युएईमा हुँदैछ । सन्दीपले आईपीएलमा दिल्ली क्यापिटल्सबाट खेल्नेछन् । उनी दिल्ली क्यापिटल्समा ३२ लाख रुपैयाँमा अनुबन्धित भएका हुन् ।

Leave a Reply