नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी ट्वान्टी क्रिकेटअन्तर्गत आफ्नो चौथो खेल बुधबार बिहान खेल्दैछन् । ट्रीनिडाड एन्ड टोबेगोमा जारी सीपीएलअन्तर्गत सन्दीप सम्मिलित टोली जमैका तलावाजले चौंथो खेलमा गुएना अमेजन वारियर्ससित प्रतिस्पर्धा गर्नेछ ।

जमैका र वारियर्सबीचको खेल बुधबार बिहान सवा तीन बजे सुरु हुनेछ । क्विन्स पार्क ओभलमा हुने उक्त खेलमा जमैका दोस्रो जितको पर्खाइमा हुनेछ । पहिलो खेल जितेको सन्दीपको टोली जमैका त्यसपछिका २ खेलमा लगातार पराजित भएको थियो ।

जमैकाले पहिलो खेलमा सेन्ट लुसिया जोउक्सलाई ५ विकेटले हराएको थियो । दोस्रो खेलमा जमैका ट्रिनबागो नाइट राइडर्ससँग ७ विकेटले तथा तेस्रो खेलमा गुएना वारियर्ससित १४ रनले पराजित भएको थियो । जमैका ३ खेलमा एक जीत र २ हारका साथ २ अंक जोडेर प्रतियोगिताको अंकतालिकामा चौंथो स्थानमा छ भने गुएना ४ खेलमा २ मा जीत तथा २ मा हार बेहोर्दै ४ अंक जोडेर अंक तालिकाको तेस्रो स्थानमा छ ।

सन्दीपले हालसम्म खेलेका ३ खेलमा ४ विकेट लिएका छन् । सन्दीपले आइतबार गुएनासितको तेस्रो खेलमा ४ ओभरमा ८ रन खर्चिएर २ विकेट लिएको थियो । यो उनको हालसम्मकै उत्कृष्ट खेल प्रदर्शन थियो । सन्दीपले सेन्ट लुसियाविरुद्धको पहिलो खेलमा ४ ओभरमा २३ रन खर्चेर एक विकेट लिएका थिए । यस्तै, ट्रिनबागो नाइट राइडर्सविरुद्ध भएको दोस्रो खेलमा उनले ४ ओभरमा ३० रन दिँदै १ विकेट लिएको थियो ।

सन्दीप तेस्रो पटक सिपिएल खेल्दै छन् । उनले यसअघि सन् २०१८ मा पहिलो पटक सेन्ट किट्स एन्ड नेभिस पेट्रीयट्सबाट तथा दोस्रो पटक सन् २०१९ मा बार्बाडोस ट्राइडेन्ट्सबाट खेलेको थियो । यस वर्षको सीपीएलका लागि जमैकाले २० वर्षीय सन्दीपलाई ९० हजार अमेरिकी डलरमा अनुबन्ध गरेको हो ।

Leave a Reply