इन्डियन प्रिमियर लिग आइपीएल क्रिकेटमा नेपालका लेग स्पिनर सन्दीप लामिछाने आबद्ध दिल्ली क्यापिटल्सले पाँचौ जित निकालेको छ।

आइतबार राति सनराइजर्स हैदरावादलाई उसकै घरेलु मैदानमा ३९ रनले पराजित गर्दै दिल्लीले तालिकाको दोस्रो स्थान हासिल गर्न सफल भएको हो। टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा सात विकेट गुमाउँदै एक सय ५५ रन बनाएको थियो। उसका लागि श्रेयस ऐयरले सर्वाधिक ४५ तथा कोलिन मुन्रोले ४० रन बनाए।

१ सय ५६ रनको चुनौति लिएर जवाफी व्याटिङ गरेको हैदरावाद मात्र १८ ओभर ५ बलमा एक सय १६ रनमा अलआउट भयो। हैदरावादका लागि डेविड वार्नरले ५१ तथा जोनी बैस्टोले ४१ रन बनाए। हैदरावादलाई कम स्कोरमा रोक्न दिल्लीका लागि कागियो रावाडाले चार तथा क्रिस मोरीसले तीन विकेट लिए। जितपछि दिल्ली आठ खेलमा ५ जीतका साथ १० अंक बनाउदै दोस्रो स्थानमा उक्लेको छ।

नेपाली बलर सन्दीप लामिछानेलाई भने दिल्लीले पछिल्ला तीनवटा खेलमा बेन्चमा राख्दै आएको छ।

Leave a Reply