सुदूरपश्चिम प्रदेशका प्रमुख देवराज जोशीले नेपालको संविधानबमोजिम मुख्यमन्त्री त्रिलोचन भट्टको सिफारिसमा आज साँझ मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् ।
प्रदेश प्रमुख जोशीले आन्तरिक मामिला तथा कानुनमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता डा. रणबहादुर रावल तथा कांग्रेसकै गोविन्दराज बोहरालाई सामाजिक विकास मन्त्रीमा नियुक्त गरेका छन् । नेकपा (एकीकृत समाजवादी) का प्रकाशबहादुर रावल आर्थिक मामिलामन्त्रीमा नियुक्त भएका छन् ।
कांग्रेसका टेकबहादुर रैकालाई सामाजिक विकास राज्यमन्त्रीमा नियुक्त गरिएको छ । नेकपा (एकीकृत समाजवादी)का कुलवीर चौधरी भौतिक पूर्वाधार विकास राज्यमन्त्रीमा र अमरबहादुर साउद अर्थ राज्यमन्त्रीमा नियुक्त भएका छन् ।
नेकपा (एकीकृत समाजवादी)ले आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशी, सामाजिक विकासमन्त्री लालबहादुर खड्का र आर्थिक मामिलामन्त्री तारालामा तामाङलाई फिर्ता बोलाएको छ ।
यसैगरी सो पार्टीले भौतिक पूर्वाधार विकास राज्यमन्त्री चुनकुमारी चौधरी, अर्थ राज्यमन्त्री माया तामाङ बोहरा र सामाजिक विकास राज्यमन्त्री मनाकुमारी साउदलाई पनि फिर्ता बोलाएको छ ।
प्रदेश प्रमुख जोशीले प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा आजै साँझ नवनियुक्त मन्त्री र राज्यमन्त्रीलाई पद तथा गोपनीयताका शपथ गराए ।