Thursday, October 10

आज रातिदेखि पश्चिमी वायुको प्रभाव बढ्ने, हिमपात र वर्षाको सम्भावना

आज रातिदेखि पश्चिमी वायुको प्रभाव बढ्ने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकामा आज रातिदेखि यसको प्रभाव बढ्ने सम्भावना छ ।

प्रदेश नं १, बागमती, गण्डकी, मधेस प्रदेश र तथा लुम्बिनी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

देशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउनसमेत विभागले अनुरोध गरेको छ ।

आज राति देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश नं १ र गण्डकी प्रदेशका केही स्थानमा सामान्य वर्षाको सम्भावना रहेको छ । बिहीबार प्रदेश नं १, मधेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ ।

आंशिक बदली रही प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको संभावना महाशाखाले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरण अनुसार मंगलबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम चार दशमलव चार डिग्री तथा अधिकतम तापक्रम १७ दशमलव तीन डिग्री सेल्सियस रहेको छ ।

त्यस्तै, सबैभन्दा कम जुम्लाको न्युनतम तापक्रम माइनस पाँच दशमलव शून्य तथा सबैभन्दा धेरै जनकपुरको अधिकतम तापक्रम २२ दशमलव चार डिग्री सेल्सियस रहेको थियो ।


Discover more from खबरगृह

Subscribe to get the latest posts sent to your email.

Leave a Reply