टोरोन्टो : क्यानडाको टोरोन्टोमा नेपालीले ‘नेपाल डे’ मनाएका छन्। नेपालको संविधान दिवसको अवसर पारेर टोरोन्टोको क्विन्सपार्कस्थित प्रान्तीय संसद भवनमा नेपाल डे मनाइएको हो।

क्यानडाको प्रोगेसिभ कन्जरभेटिभ पार्टीको संसदीय दलको सभाहलमा कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा सहभागि स्थानीय सांसद तथा विभिन्न नेपाली संस्थाका प्रतिनिधिले नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्नमा जोड दिए।

गैरआवासिय नेपाली संघ एनआरएनए क्यानडाको अगुवाइमा भएको कार्यक्रममा एनआरएनए क्यानडाका अध्यक्ष चिरन्जिवी घिमिरेले उपस्थित व्यक्तिहरूलाई विश्वकै सुन्दर देश नेपाल एक पटक भ्रमण गरिदिन आग्रह गरे।

यस्तै क्यानडाका लागि नेपाली अवैतनिक महावाणिज्य दूत डा. कुन्जर शर्मा, कन्सर्न नेपालका संयोजक डा. तुल्सी धरेललगायतले नेपालको संविधान र नेपालको वर्तमान अवस्थाका बारेमा संक्षिप्त जानकारि गराएका थिए।

कन्जरभेटिभ पार्टीका सांसद दीपक आनन्दले सर्वोच्च शिखर सगरमाथा रहेको नेपाल विश्वकै सुन्दर देश भएकाले पनि एक पटक भ्रमण गर्न सबैलाई आग्रह गरे। आफू नेपाली समुदायसँग धेरै घुल मिल भएकाले पनि नेपालका विषयमा आफू जानकार रहेको भन्दै उनले नेपाल भ्रमण वर्ष २०२० सफल पार्न आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए।

एनआरएनए क्यानडाका महासचिव पिताम्बर भट्टराईले संचालन गरेको कार्यक्रममा नेपाली राष्ट्रिय गानले सभाहल गुन्जिदा स्थानिय संचारकर्मी र क्यानडेली पाहुनाले यसको संगीतलाई ध्यान दिएर सुनेका थिए। ब्राम्टन मिसिसागा क्षेत्रका सांसद आनन्दले उक्त कार्यक्रम बनाउने प्रबन्ध मिलाएका थिए।

Leave a Reply