काठमाडौं : दसैं, तिहार र छठलगायतका पर्वलाई लक्षित गरेर सरकारले सोमबारदेखि एकीकृत सहुलियत मूल्य पसल सञ्चालन गरेको छ । चाडपर्वमा उपभोक्तालाई राहत दिने उद्देश्यले सरकारले हरेक वर्ष झै यस्ता सहुलियत मूल्य पसल सञ्चालनमा ल्याएको हो ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतका खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ, र दुग्ध विकास संस्थानद्वारा संयुक्त रूपमा सञ्चालित एकीकृत सहुलियत मूल्य पसलको आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले शुभारम्भ गरे । कार्यक्रममा उनले सहुलियत मूल्य पसल र यसको उद्देश्य अनुरूप आमउपभोक्तालाई प्रत्यक्ष राहत हुने गरी सामान राख्न पनि सम्बन्धित संस्थानलाई निर्देशन दिए ।
कार्यक्रममा आपूर्ति मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले चाडपर्व लक्षित यस्ता सहुलियत मूल्य पसलबाट उपभोक्तालाई निकै राहत पुग्ने विश्वास व्यक्त गरे । कार्यक्रममा राष्ट्रिय उपभोक्ता मञ्चका राष्ट्रिय अध्यक्ष प्रेमलाल महर्जनले सरकारले सञ्चालनमा ल्याएका सहुलियत मूल्य पसलको उद्देश्य राम्रो भए पनि उपलब्धि सन्तोषजनक नभएको टिप्पणी गरे । साथै उनले सरकारले एकातर्फ दूध र दुग्धजन्य वस्तुको मूल्य बढाउने र अर्कोतर्फ सहुलियत पसल सञ्चालन गरेर सरकारले दोहोरो भूमिका खेलेको आरोप लगाए ।
कार्यक्रममा खाद्य व्यवस्था तथा व्यापार कम्पनीका महाप्रबन्धक योगेन्द्र गौचनले चाडपर्वलाई केन्द्रित गरेर कम्पनीले उपत्यकासहित देशका विभिन्न २३ स्थानमा सहुलियत पसल सञ्चालन हुने जानकारी दिए । उनले कम्पनीले मसिना तथा बासमती चामल, फापर, कर्णालीको सिमी प्रतिकेजीमा पाँचदेखि १० रुपैयाँ छुट गरिएको जानकारी गराए । यस्तै कम्पनीले उपत्यका बाहिरबाट तीन हजार खसीबोका र च्याङ्ग्रालाई सहुलियत दरमा उपलब्ध गराउने तयारी गरेको पनि उनले जानकारी गराए ।
साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडका महाप्रबन्धक उर्मिला श्रेष्ठले यस संस्थानले नजिकिँदो चाडपर्वलाई लक्षित सरकारको निर्देशनमा विगतमा झै यो वर्ष पनि नुनमा दुई रुपैयाँ र चिनीमा पाँच रुपैयाँ र अन्य सामानमा छुट दिने व्यवस्था गरेको जानकारी गराइन् । उनले बजार अनुगमनलाई चाडपर्वमा अझै व्यापक गराइने र सरकारले तोकेका ठाउँमा तोकिएका सामान भए वा नभएको विषयमा पनि स्वतन्त्ररूपमा नियमित अनुगमन गरिने जानकारी गराइन् ।
काठमाडौँ उपत्यकामा ११ स्थानसहित देशका अरु मुख्य सहरमा गरी ७३ वटा सहुलियत पसल सञ्चालन हुने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । सहुलियत पसल कात्तिक १७ गतेसम्म सञ्चालन गरिनेछ । एकीकृत सहुलियत पसलमा चिनी, नुन, चामल, घिउ, गेडागुडीदेखि मासुसमेत सहुलियत मूल्यमा पाइने छ ।
ती सहुलियत मूल्य पसलमा मोटा चामलमा प्रतिकिलो पाँच रुपैयाँ नुन प्रतिकेजी दुई रुपैयाँ, बासमती चामलमा तथा गेडागुडीमा प्रतिकिलो १० रुपैयाँ छुट पाइनेछ भने चिनीमा प्रतिकेजी पाँच रुपैयाँ छुट पाइने छ । त्यस्तै, च्याङ्ग्रा र खसी बोकामा प्रतिकिलो १० रुपैयाँ छुट दिइने मन्त्रालयले जनाएको छ । डीडीसी घिउमा प्रतिकेजी ५० रुपैयाँ र पनिरमा प्रतिकिलो १० रुपैयाँ छुट दिने भएको छ ।