काठमाडौं : सुदूरपश्चिम प्रदेशमा यो वर्ष मनसुनी वर्षा औसतमा कम मात्रामा भएको छ। मनसुनको प्रभाव प्रदेशका पहाडी जिल्लामा केही बढी देखिएको भए पनि तराईका कैलाली, र कञ्चनपुरमा विगतका वर्षमा जस्तो अहिलेसम्म सक्रिय हुन सकेको छैन।
प्रदेशमा यस वर्ष जुन २० को आसपासमा मनसुन प्रवेश भएको अत्तरियास्थित जल तथा मौसम विज्ञान विभागको फिल्ड कार्यालयले जनाएको छ। कार्यालयका अनुसार गएको जुन महिनभर मुश्किलले ५१.८ मिमी वर्षा भएको थियो। जबकि अघिल्लो वर्षको जुनमा १०७.८ मिमी वर्षा मापन भएको थियो। गएको जुलाईमा ४६०.८ मिमी वर्षा भएकामा अघिल्लो वर्षको जुलाईमा ४४०.८ मिमी वर्षा भएको थियो।
यस्तै अगस्त महीनामा २३३.७ मिमी वर्षा भएकामा गत वर्षको अगस्तमा ४१७.२ मिमी वर्षा मापन भएको थियो। “यस वर्ष गएको असार २६ गते सबैभन्दा बढी ८१.नौ मिलिमिटर वर्षाको मापन गरिएको थियो, कार्यालयका मौसम विज्ञान सहायक सिंगल चौधरीले भने, “त्यसयता योभन्दा ठूलो वर्षा हुन सकिरहेको छैन।”
नेपालमा मनसुन जुन १० को आसपासमा भित्रिएर अगस्त महीनासम्म रहने गरेको बताइन्छ । आकाशको पानीको भरमा हुने वर्षे धानखेती पर्याप्त पानीको अभावका कारण प्रभावित हुन थालेको किसानले बताएका छन् ।
“भदौ तेस्रो हप्ता आउन लाग्दासम्म पनि राम्रोसँग वर्षा हुन सकिरहेको छैन”, धनगढी उपमहानगरपालिका–१३ का किसान महेश रानाले भने, “धान खेतमा पर्याप्त पानी नहुँदा झारपात उम्रिने र रोग किराको समस्या देखिन थालेको छ।”
वर्षा कम हुँदा वर्षायामा गरिने तोरैयाँ, लौका, फर्सी, काँक्रा र तानेबोडीको उत्पादन भने तराईका जिल्लामा यसअघिका वर्षको तुलनामा वृद्धि भएको छ। “वर्षा बढी हुँदा तरकारीको उत्पादन विगतको वर्षायाममा कम हुने गरेको थियो”, किसान रानाले भने, “यसपाली भने कम वर्षा हुँदा तरकारी बाली भने सप्रेको छ।”
बर्सेनि मौसममा (जलवायु) भइरहेको परिवर्तनका कारण चाहिएको समयमा वर्षा नहुने, वर्षा भइहालेमा बाढी र डुबानको ठूलो समस्या सिर्जना हुने, बेमौसमा चक्रवात र आँधीबेहरीको समस्या देखिने, बालीमा विभिन्न रोगको सङ्क्रमणको समस्याका साथै मित्र जीवभन्दा शत्रु जीवको समस्या बढी हुने जस्ता समस्या देखिन थालेको बताइन्छ।
प्रदेश सरकार, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता खगेन्द्रप्रसाद शर्माले आकासको पानीको भरमा गरिएको धानबालीमा पर्याप्त पानीको अभाव देखिएको बताए। “यस वर्ष धान बालीमा पर्याप्त पानीको अभावका कारण प्रदेशमा १५ देखि २० प्रतिशत धान उत्पादन घट्ने अनुमान गरिएको छ”, उनले भने।
वर्षायाममा पर्याप्त वर्षा हुन नसकेमा त्यसको असर हिउँदे बालीमा समेत पर्ने कृषि प्राविधिकको भनाइ छ। वर्षायाममा पर्याप्त वर्षा नहुँदा जग्गामा रिचार्ज (पानी सञ्चित)को अवस्था पनि कमजोर भई यसको असर हिउँदे बालीलाई पनि पर्ने बताइन्छ।
देशको पूर्वी भेकमा ठूलो मनसुनी वर्षा भए पनि कैलाली कञ्चनपुरसहित सुदूरपश्चिम प्रदेशमा अहिलेसम्म विगतका वर्षमा जस्तो ठूलो वर्षा हुन सकेको छैन।