काठमाडौं : मनसुनी न्यून चापीय रेखा नेपालको तराई भू–भाग भन्दा दक्षिणतिर अवस्थित रहेको छ। शनिबारबाट विस्तारै उत्तरतिर (नेपाल तर्फ) सर्दै जाने क्रम शुरु भएकाले नेपालसम्म आइपुग्न अझै केही दिन लाग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
उक्त मनसुनी न्यून चापीय (वर्षा गराउने वायु) नेपालतर्फ सर्ने क्रम शुरु भएकाले सोमबारसम्ममा मनसुन पूर्ण सक्रिय हुने मौसमविद् समीर श्रेष्ठले बताए। उनले भने, ‘मनसुन एकैचोटी पूर्ण सक्रिय हुने छैन्, विस्तारै क्रमिक रुपमा सक्रिय हुँदै जाने छ।’
उक्त रेखा नेपालको उत्तरतिर सर्ने क्रम शुरु भइसकेकाले शनिबार देशभर आंसिकदेखि सामान्य बदली रही आइतबार हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। शनिबार राति देशभर आंशिकदेखि सामान्य बदली रही देशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम महाशाखाले जनाएको छ।
आइतबार देशैभर आंशिकदेखि सामान्य बदली रही मेघगर्जनसहित वर्षाको सम्भावना रहेको बताइएको छ। महाशाखाका अनुसार आइतबार देशभर आंसिकदेखि सामान्य बदली रही देशका पश्चिमी भू–भागका केही स्थानमा तथा मध्य र पूर्वका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
यसैगरी महाशाखाले आगामी २४ घण्टाको मौसम पूर्वानुमान जारी गर्दै देशका केही स्थानमा मेघगर्जन तथा चट्याङपर्ने सम्भावना रहेको र पहाडी भू–भागका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रेहकाले सतर्कता अपाउन आग्रह गरेको छ।