काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका संसदीय दलका प्रमुख सचेतक देव गुरुङले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहलाई नभई उसका गैहकानुनी गतिविधिमाथि मात्रै नियन्त्रण गरेको स्पष्ट पारेका छन्।

शुक्रबार रिपोर्टस क्लवको साक्षात्कारमा बोल्दै एवम् स्थायी समिति सदस्य समेत रहेका नेता गुरुङले विदेशी शक्तिहरुबीच टकराव चलिरहेका बेला आन्तरिक द्वन्द्वमा हिजोकै तरिकाले जान खोजियो भने देशकै अस्तित्व समाप्त हुने चेतावनी समेत दिए। उनले राजनीतिक रूपले समस्याको समाधान खोजिनुपर्नेमा जोड दिए। प्रजातन्त्रका लागि गरिएको संघर्ष र अहिलेको अवस्था भिन्न रहेको भन्दै उनले विगत र वर्तमानलाई तुलना नगर्न आग्रह गरे। उनले भने ‘कुनै व्यक्ति, समूह वा पार्टीको गैरकानूनी गतिविधि हुन्छ भने त्यसलाई राज्यले नियन्त्रण गर्छ।’

कार्यक्रममा राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले भ्रष्टाचार मंहगी, कुशासनबाट आक्रान्त भएका जनताले विकल्पमा राजसंस्था रोज्ने खतरा रहेको औँल्याए। उनले भने ‘देशमा राजा फर्काउने खेल भइरहेको छ। सयौं राजा पाल्नुभन्दा एउटै राजा भए हुन्थ्यो भन्ने जनतामा परिसकेको छ।’

उनले राजनीतिको नाममा लुटतन्त्र हावी भएको टिप्पणी गरे। संघीयताको खर्च मुलुकले धान्न नसक्ने भन्दै उनले संघीयता खारेज नभए संघीयताले देशलाई खारेज गर्ने चेतावनी दिए।

उनले भने ‘संघीयता खारेज गरिएन भने यसले मुलुकलाई खारेजी गर्छ । हामीले गाँजा खाएको भरमा भनेको होइन। चुनिएर आएपछि पहिलो काम सेवा सुविधा र स्थानीय प्रतिनिधिले पहिलो किनेको डोजर, ट्याक्टर । ठेकेदार बन्ने हो जनप्रतिनिधि?’ नेपालका ठूला दलहरूले विदेशीले बोकाएको संघीयताको भारी बोकेको टिप्पणी उनले गरे।

Leave a Reply