जुम्ला : छुमचौर विश्वमै सबैभन्दा अग्लो स्थानको धान फल्ने पातारासी गाउँपालिकाको क्षेत्र हो । यो गाउँपालिकाले अहिले यो दुर्लभ धान जोगाउन डीपीआर तयार गर्न थालेको छ ।

गुरुयोजना निर्माणका लागि डीपीआरको काम अगाडि बढाइएको प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाले जानकारी दिए । यसले कालीमार्सीको गुणस्तर उत्पादन परिणाम तथा उत्पादकत्व बढाउन तथा यसको संरक्षण गर्न आधार तयार गर्ने छ ‘। मार्सीसहित पातारासी गाउँपालिकालाई कृषि पर्यटनको नमुना गाउँपालिका बनाउने योजनाअन्तर्गत डीपीआरको तयारी भइरहेको हो’, प्रशासकीय अधिकृत बुढ्थापा स्पष्ट पार्छन् ।

मार्सी धानले बजार पाउन थालेपछि अहिले यसको उत्पादन तथा संरक्षणमा स्थानीयसमेत जुटेका छन् । यसका लागि सिँचाइ कुलो व्यवस्थित गर्नेदेखि अन्य व्यवस्थापनमा किसानको जोड छ । २०७३–०७४ को तथ्यांकअनुसार जुम्लामा कुल छ हजार ९० हेक्टरमा यो धान लगाइन्छ भने कुल दुई हजार नौ सय मे।टन उत्पादन हुने गर्दछ ।

बीमाले उत्साह

कालीमार्सी जोगाउन अहिले किसानले बीमासमेत गर्न थालेका छन् । चामलको माग बढिरहेकोले यसको सुरक्षा गर्न बीमा पनि आवश्यक रहेको स्थानीय किसान बताउँछन् ।

मार्सी चामलको माग बढ्दै गए पनि खेतीमा बढी दुःख गर्नुपर्ने भएकाले किसानको रुचि घट्दै गएको थियो । मार्सी हुने खेतमा समेत उन्नत धानको खेती सुरु भएको थियो ।

मार्सी धान नै लोप हुने जोखिम बढ्दै गएपछि बीमा सुविधा पनि दिइएको शिखर इन्स्योरेन्स कम्पनीले जनाएको छ । बीमा कार्यक्रमपछि किसान यसको खेती गर्न उत्साहित भएका छन् । अहिले जुम्लाका अधिकांश किसानले मार्सी धानको ब्याड राखिसकेका छन् ।

जिल्लामा धान खेतीका लागि बीमा अभियान सुरु गरिएको यो पहिलोपटक हो । जिल्लाका सातवटै गाउँपालिका र नगरपालिकामा मार्सी धान खेती हुने गरेको छ । किसानकै आग्रहमा मार्सी धानको बीमा गरिएको शिखर इन्स्योरेन्सका ऋषिराम पाण्डेले बताए ।

कृषि ज्ञान केन्द्रका प्रमुख डा. तपेन्द्र शाहले किसानलाई मार्सीको बीमा गर्दा राम्रो हुने बताए । उनका अनुसार रोग, असिना, खडेरी, धान झर्नेजस्ता समस्याले घाटा बेहोर्नुपर्ने चिन्ता नभएपछि किसान ढुक्कले मार्सी उत्पादनमा जोड दिनसक्ने उनको भनाइ छ ।

Leave a Reply