कोरोना भाइरसको परीक्षणका लागि नाकबाट भन्दा मुखबाट नमुना लिँदा राम्रो नतिजा आउने अनुसन्धानबाट पत्ता लागेको छ । यसो गर्दा भाइरस पनि चाँडै पत्ता लगाउन सकिने अनुसन्धानबाट खुलेको हो ।

युनिभर्सिटी अफ मेरिल्याण्डका अनुसन्धानकर्ता डा. डोनाल्ड मिल्टनले गरेका केही अनुसन्धानका आधारमा यस्तो दाबी गरिएको हो । कोरोना भाइरस सबैभन्दा पहिले मुख र घाँटीमा देखा पर्ने उनको भनाइ छ ।

डा. मिल्टन र उनको टिमले कोरोना परीक्षणका लागि उपयुक्त विधि पत्ता लगाउनका लागि यो अनुसन्धान गरेका थिए । अनुसन्धानका लागि लक्षण देखिनुअघि नै कोरोना संक्रमितको नाक र मुखबाट नमुना लिइएको थियो ।

ल्याब परीक्षणका क्रममा नाकबाट लिइएको भन्दा मुखबाट लिइएको नमुनामा तीन गुणा बढी भाइरस भेटिएका थिए । साथै, मुखबाट लिइएको नमुनाले धेरै कोरोना पोजिटिभ नतिजा दिएको थियो अर्थात् नाकबाट लिएका नमुनाको तुलनामा १२ गुणा भाइरस भेटिएको थियो ।

डा. रोबी सिक्का ओमिक्रोनको लहरका बीचमा कोरोना परीक्षणलाई अपडेट गर्न आवश्यक ठान्छन् । यो भेरियन्ट शरीरमा प्रवेश गरेपछि डुप्लिकेट हुने र धेरै छिटो फैलिने उनको आँकलन छ ।

उनका अनुसार धेरैजसो संक्रमितमा ओमिक्रोनले कुनै पनि लक्षण देखाउँदैन र यो छिट्टै निको पनि हुन्छ । त्यसैले नाकको सट्टा बिरामीको र्‍याल परीक्षण गर्नुपर्छ । ओमिक्रोन मुख र घाँटीमा छिट्टै धेरै गुणा फैलिने केही विशेषज्ञहरू विश्वास गर्छन् । तर, अहिलेसम्म यसको पुष्टि हुन सकेको छैन ।

दक्षिण अफ्रिकामा गरिएको हालैको अनुसन्धानले नाकबाट लिइने नमुना डेल्टा भेरियन्ट पत्ता लगाउन उचित हुने पत्ता लागेको छ । विज्ञहरूका अनुसार ओमिक्रोन भेरियन्टको परीक्षणमा सबै कुरा उल्टो हुन्छन् ।

यूएस फूड एण्ड ड्रग एडमिनिस्ट्रेशन (एफडिए) ले हालै केही र्‍यालमा आधारित कोरोना परीक्षण किटलाई स्वीकृत दिएको छ । यी किट विद्यालयमा बालबालिकाको कोरोना परीक्षण गराउन उपयोगी मानिन्छन् । तर, अझै पनि विश्वभरका सरकारहरूसँग यो परीक्षणका लागि आवश्यक पूर्वाधार छैन ।

येल स्कूल अफ पब्लिक हेल्थकी माइक्रोबायोलोजिस्ट एनी वाइली भन्छिन्, ‘धेरै सरकार र प्रयोगशालाहरू अझै पनि कोरोना परीक्षणको पुरानो विधिमा अड्किएका छन् । हामीले समयसँगै प्रविधिमा परिवर्तन ल्याउनुपर्छ ।’

क्यालिफोर्निया इन्स्टिच्युट अफ टेक्नोलोजीले आफ्नो एउटा अनुसन्धानमा कोरोना संक्रमण भएको केही दिनपछि नाकमा भाइरस बढी जम्मा हुने गरेको पत्ता लगाएको छ । यसको अर्थ सुरुवाती चरणमा मुखमा भाइरस सजिलै पत्ता लगाउन सकिने भए पनि केही समयपछि नाकबाट नमुना लिएर परीक्षण गराउनु राम्रो हुन्छ ।

डा. जोसेफ डेरिसीका अनुसार मुखको वातावरण कहिल्यै एकनासको हुँदैन । कहिले सुख्खा त कहिले भिजेको हुन्छ । कहिलेकाहीँ यो अधिक अम्लीय र त कहिले सामान्य हुन्छ । जसले गर्दा मुखबाट लिइएको नमुनाले राम्रो नतिजा नदिन सक्छ । तर, नाकमा त्यस्तो कुनै किसिमको परिवर्तन नहुने भएकाले यहाँबाट नमुना लिनु राम्रो हुने चिकित्सकहरूको भनाइ छ ।

Leave a Reply