त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार एकैदिन १६ अन्तर्राष्ट्रिय चार्टर्ड उडान भएका छन् । यी उडानमार्फत १ हजार ४१४ नेपाली स्वदेश फर्किएको विमानस्थल कार्यालयले जनाएको छ ।

नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले दोहाबाट २६२, दुबईबाट १४९ यात्रु काठमाडौं ल्याएको छ । त्यस्तै, हिमालय एयरलाइन्सले दमामबाट १५३, अबुधाबीबाट १५१ यात्रु ल्याएको छ ।

थप नेपालीको उद्धार उडानका लागि नेपाल एयरलाइन्स बहराइन र नारिता प्रस्थान गरेको छ भने हिमालय एयरलाइन्स दमाम, क्वालालम्पुर र फिलिपिन्सको मनिलाबाट यात्रु ल्याउन गन्तव्यतर्फ उडेको विमानस्थलले जनाएको छ ।

त्यसैगरी, फ्लाई दुबईले दुबईबाट १७२, एयर अरेबियाले सारजाहाबाट १६१, जजिरा एयरले कुवेतबाट १६०, इतिहाद एयरले अबुधाबीबाट १४० र टर्किस एयरलाइन्सले इस्तान्बुलबाट ३३ यात्रु काठमाडौं ल्याएको विमानस्थलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

आइतबार पनि नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले छ उडानमार्फत बहराइन, नारिता, दममाम, मनिला, क्वालालम्पुर र दुबईबाट नेपाली ल्याउने विमानस्थलको कार्यतालिका छ ।

शनिबार आन्तरिकतर्फ विभिन्न एयरलाइन्सले १० चार्टर्ड उडान गरेका छन् । मनाङ एयरले लुक्लामा १ उडान, सिम्रिक एयरले बुटवलमा २ उडान, एयर डाइनेष्टीले धादिङमा २ उडान, कैलशा हेलिकप्टरले तातोपानीमा २ उडान र प्रभु हेलिकोप्टरले पोखरामा २ चार्टर्ड उडान गरेका छन् । रासस

Leave a Reply