– सञ्चिता घिमिरे
स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मीलगायत बन्दाबन्दीका समयमा पनि नियमित कार्यस्थलमा खटिनुपर्ने व्यक्तिले सावधानी अपनाउँदा कोरोना भाइरस (कोभिड–१९) बाट बच्न सकिने देखिएको छ ।
घरबाट कार्यालय र कार्यालयबाट फिल्डमा जाँदा आवश्यक स्वास्थ्य सावधानी अपनाउँदा यो रोगको जोखिम असाध्यै कम हुने जनस्वास्थ्य विज्ञले बताएका छन् ।
मास्क, पञ्जा, चस्मालगायतको उचित प्रयोग गरेमा रोग लाग्ने सम्भावना कम गर्न सकिने जनस्वास्थ्य विज्ञ डा रवीन्द्र पाण्डेले बताए । कार्यस्थलमा जानु पहिले राम्रोसँग मास्क र चस्मा लगाउन उनले सुझाव दिए ।
माक्स बाहिरबाट हावा नपस्नेगरी लगाउनुपर्छ । आँखाका माध्यमबाट पनि भाइरस सर्ने हुँदा आफूसँग भएकै आँखा ढाकिने चस्मा प्रयोग गर्न सकिन्छ । ‘कतिपय व्यक्तिले घाँटीमा त कतिले नाक नै नछोपिनेगरी लगाएको पाइन्छ, तर सुरक्षाका लागि यसको सही प्रयोग गर्न खाँचो छ’ उनले भने ।
कार्यालय जाँदा गोजीमा सेनिटाइजर बोकेर हिँड्न उनले सबैलाई सल्लाह दिए । सम्भव भएसम्म हात धुने र साबुनपानी उपलब्ध नभएका स्थानमा सेनिटाइजर प्रयोग गरेर पनि हातमा भएका सङ्क्रमण नष्ट गर्न सकिन्छ । पञ्जाको प्रयोग गर्दा हातबाट नाक वा मुखसम्म सङ्क्रमण फैलन पाउँदैन ।
कार्यालय वा फिल्डमा पनि सामाजिक दूरी कायम गर्दा जोखिम कम हुने डा पाण्डेले बताए । कुनै पनि व्यक्तिसँग ६ फिटको दूरी कायम राख्नुपर्छ । कतिपय अवस्थामा कामका लागि नजिक जानुपर्दा लामो समयसम्म नजिक नबस्न उनको सुझाव छ ।
‘कुनै पनि व्यक्तिको नजिक कतिबेर बस्यो भन्ने कुराले पनि अर्थ राख्छ, नजिक बस्नैपर्दा पनि जति छोटो समयका लागि बस्यो त्यति राम्रो हुन्छ’ उनले भने ।
कार्यालयमा कामका सिलसिलामा किताब, कापी, टेबुल, कुर्सीलगायतका सामग्री पनि पटक पटक छुइने गरेको छ । यसले मानिसबाट मानिसमा जसरी सजिलै नसर्ने पनि उनले बताए । कार्यालयकै कर्मचारीले पनि आपसमा दूरी कायम गरेर काम गर्दा जोखिम कम हुने उनको भनाइ छ ।
कार्यालय बाहिर जाँदा पनि भीडभाड हुने ठाउँमा नजान उनले सुझाव दिए । ‘मानिसहरू भेट्नुपर्दा कसरी दूरी कायम गर्ने भन्ने तय गर्न खाँचो छ’ उनले भने ।
हामीमध्ये अधिकांशको पटक पटक हात, नाक, मुख, आँखालगायतका अङ्गमा लैजाने बानी हुन्छ । एउटा व्यक्तिले औसत दिनको ९० पटक हात अनुहारमा लैजाने बताइन्छ । कोभिड–१९ विश्वबाटै हराउने समय लाग्ने विश्व स्वास्थ्य सङ्गठनले बताइरहँदा हामीले यीलगायतका व्यवहारमा परिवर्तन ल्याउन खाँचो छ ।
मास्क लामो समयसम्म लगाउँदा चिलाए पनि त्यसलाई जुनसुकै समयमा हातले छुन नहुने उनले बताए । ‘चिलाउँदा पनि सहनुपर्छ हातमा सङ्क्रमण हुनसक्ने भएकाले झिक्ने वा चिलाउने गर्नु हुँदैन’ उनले भने ।
कार्यालयमा हुँदा पनि पटक पटक साबुनपानीले हात धोएर हातलाई सङ्क्रमणमुक्त गर्न सकिन्छ । खानेकुरा खानु पहिले उपलब्ध भएसम्म हात धोएर खानुपर्ने डा पाण्डेको सुझाव छ । साबुन र पानी उपलब्ध नहुने ठाउँमा हातमा सेनिटाइजर लगाएर चम्चाले खान सकिन्छ ।
अहिलेसम्म नेपाल र विश्वमा हेर्दा रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिलाई कोभिड–१९ ले आक्रमण गरेको पाइएको छ । आमनागरिकसँगै बन्दाबन्दीका समयमा काम गर्नुपर्ने पेशाका व्यक्तिले पनि पोषिलो खाना र व्यायाममा ध्यान दिनुपर्ने उनको सुझाव छ ।
कार्यालय आउन/जानका लागि प्रयोग गर्ने सवारी साधनमा सावधानी अपनाउँदा पनि सङ्क्रमणको जोखिम कम गर्न सकिन्छ । अहिले सडकमा जाम नहुने भएकाले कुनै एउटा सवारीमा हिँडेको व्यक्ति सडकमा अरुसँग नजिक हुने सम्भावना कम छ । यो समयमा आफ्नो मोटरसाइकल र स्कुटरमा हिँड्न त्यति डर नहुने उनले बताए ।
कार्यालयका गाडी, एम्बुलेन्सलगायत सवारी साधनलाई पनि हरेकपटक प्रयोग गरेपछि निसङ्क्रमित बनाउनुपर्छ । बिहान साबुनपानीले पखाल्ने र सोडियम पानीले सफा गर्न सकिन्छ । हरेकपटक प्रयोग गरेपछि सवारी साधनलाई निसङ्क्रमित गर्नुपर्ने उनले बताए ।
यस्तो समयमा कार्यालयको सवारी साधन असाध्यै जरुरी भएका व्यक्तिमात्रै चढ्दा अत्यावश्यक व्यक्तिलाई समेत जोखिम कम हुन्छ । सवारी चालकले पनि आवश्यक स्वास्थ्य सुरक्षा सामग्रीको प्रयोग गर्नुपर्ने उनको सुझाव छ । ‘चालकले मास्क, चस्मा र पञ्जा प्रयोग गरेर आफू पनि सुरक्षित हुन र अरुलाई पनि सुरक्षित गर्न सक्छ’ उनले भने ।
कार्यालयबाट घर फर्किएपछि हात खुट्टा धुने र लगाएका सबै कपडा धोएर घाममा सुकाउनुपर्ने उनको सुझाव छ । अहिले कतिपय डाक्टर, नर्स, कर्मचारीलगायत फ्रन्टलाइनमा बसेर काम गरिरहेकाहरू घरमै सेल्फ क्वारेन्टाइन बसिरहेका छन् ।
आफू बाहिर काम गर्ने व्यक्तिले आफूबाट परिवारको सदस्यमा सङ्क्रमण नफैलियोस् भनी सजग हुनुपर्ने उनको सुझाव छ । परिवारमा ज्येष्ठ नागरिक र दीर्घरोगी छन् भने उनीहरूको सम्पर्कमा आउनुहुँदैन । ‘घरमा बिरामी, रोगी हुनुहुन्छ भने उनीहरूको सम्पर्कबाट टाढा बस्नुपर्छ, घरभित्र पनि दूरी कायम गरेर बस्नुपर्छ’ उनले भने ।
Discover more from खबरगृह
Subscribe to get the latest posts sent to your email.