काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रलयका सचिव केदार बहादुर अधिकारीले नकारात्मक समाचारका कारण पर्यटकहरू बिच्किने गरेको बताएका छन्।
कारोना भाइरस र यसबाट पर्यटन क्षेत्रमा परेको असरका विषयमा आयोजित छलफल कार्यक्रममा उनले यस्तो बताएका हुन्। नेपालमा कोरोनाको संक्रमण नदेखिएपनि नकारात्मक खवरहरुले पर्यटन क्षेत्रलाई असर गरेको गुनासो उनले गरे।
‘नेपालमा एकजनालाई कोरोना भएको पुष्टि भएको थियो। उहाँ पनि उचारबाट फर्किनुभएको छ। अन्य पाँचजनामा आशंका गरिएको थियो तर सबैमा नेगेटिभ देखियो। नेपालमा कोरोनाको प्रभाव छैन्’, उनले भने, ‘तर समाचारमा फलना होटलको यति बुकिङ क्यान्सिल, यति प्रतिशत व्यापार घट्यो भन्ने जस्ता नकारात्मक समाचारले नराम्रो सन्देश गएको छ।’
समाचारको उद्देश्य राम्रो भए पनि यसबाट पर्यटकहरूमा नेपालमा भ्रमण गर्न सुरक्षीत छैन भन्ने सन्देश जाने उनले बताए। चीनले समेत वुहानबाहेक अरू ठाउँ सुरक्षीत रहेको र नेपालमा जस्तो पर्यटकको संख्या यतिले घट्यो, आउन छोडे भन्ने खालका समचार नआएको बताए।
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीले सही र तथ्यगत सूचना आदानप्रदान अहिलेको आवश्यकता भएको बताए। सबैमाझ सही सूचना आदानप्रदान गर्ने र नेपाल नाउ डट ओआरजी नामक वेवसाईटलाई एक्टिभ गरी हरेक गतिविधि, नेपालमा रहेका पर्यटक आफैँले आफ्नो मनमा लागेका कुरा राख्न पाउने गरी व्यवस्था गर्नुपर्ने उनले बताए।
‘प्रेस रिलिजले मात्रै अब काम गर्दैन्। विभिन्न ७, ८ वटा जानकारी मूलक सूचनाहरू राखेर इन्फेग्राफिक्स नै प्रकाशनमा ल्याउनुपर्यो। नेपालमा कोरोना भाइरसको खतरा छैन्। चीन र नेपालको दूरी यति हो। जस्ता जानकारी दिने गरी प्रकाशन गर्नुपर्यो’, उनले भने।
चीनको वुहान क्षेत्रबाट देखिएको कोरोना भाइरसको संक्रमण विश्वका विभिन्न मुलुकहरुमा फैलिसकेको छ। नेपालमा एकजनामा कोरोनाको संक्रमण देखिए पनि उनी उपचारबाट फर्किसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र स्थलमार्गमा समेत विशेष निगरानी बढाएको जनाएको छ।