मुलुकमा उद्यमशीलताको विकास गर्ने उद्देश्यले देशका विभिन्न स्थानबाट आएका युवा उद्यमीका सफलताका कथाले राजधानीम आयोजित एक कार्यक्रमका सहभागी सबैलाई प्रेरणा मिलेको छ ।
युवा नवउद्यमीहरुले सञ्चालनमा ल्याएका विभिन्न व्यवसाय तथा तिनका उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा पुर्याउन छलफल तथा व्यापार विस्तारका लागि आयोजना गरिएको सम्मेलनले आफूहरुलाई थप ऊर्जा भरेको उनीहरुको भनाइ छ ।
उद्यमशील प्रवद्र्धनमा क्रियाशील संस्था ‘नेक्सट भेन्चर कोर्प’ले आज यहाँ आयोजना गरेको सम्मेलनमा देशभरका करीब ८०० उद्यमी सहभागी छन् । सम्मेलनमा भारत, चीन, बङ्गलादेशलगायत मुलुकबाट आएका उद्यमीले प्राप्त गरेका ज्ञान तथा विचारलाई आदानप्रदान गरिएको छ ।
सम्मेलनमा स्वदेशी तथा विदेशी उद्यमीले इलम, व्यवसाय तथा व्यापार वृद्धिका लागि लगानीमा साझेदारीसमेत हुने प्रतिबद्धता व्यक्त गरेका थिए ।
सहभागी उद्यमीहरुले व्यावसायिक सफलताका साथै गुणस्तरीय वस्तु उत्पादनमा लागत कम गर्ने उपाय, व्यापार विस्तार, पूर्ण प्रतिस्पर्धात्मक बजारमा वस्तुको लागत निर्धारणका साथै प्रचारप्रसारका अत्याधुनिक विधिबारे एकापसमा अनुभवलाई आदानप्रदान गराएका छन् ।
सम्मेलनमा सहभागी उद्यमी अनुरुप मानन्धर जैविक प्रविधिका विद्यार्थी हुन् । उनले सन् २०१० देखि दुई वर्षसम्म संयुक्त राज्य अमेरिकामा ‘फूलब्राइट’ छात्रवृत्तिमा स्नातकोत्तरको अध्ययन पूरा गरेपछि स्वदेश फर्केर ‘फाइकस बायोटेक प्रालि’ स्थापना गरी विभिन्न फूल तथा खाद्य सामग्रीको बीउ, बेर्ना उत्पादन गरेका थिए ।
बूढानीलकण्ठमा स्थापित उक्त प्रयोगशाला (उद्योग)ले अहिले केराका विभिन्न तीन प्रजातिका बेर्ना तथा माग भएअनुसार फूलका बेर्ना उत्पादन गरी करीब रु तीन करोडभन्दा बढीको पूँजी भएको उद्योगका रुपमा विकास गरेका छन् ।
करीब सात रोपनी जग्गा भाडामा लिएर सञ्चालन गरेको उक्त प्रयोगशालाले झापामा पनि शाखा विस्तार गरेको छ ।
अर्का उद्यमी सुरेश बस्यालले पाँच वर्षअघि रु तीन लाखको लगानीमा तीनजना साथीसँगको साझेदारीमा छालाजन्य वस्तु उत्पादन गर्ने उद्योग स्थापना गरेका थिए ।
दक्षिणकाली नगरपालिका–७ स्थित बाँसबारीमा स्थापना गरिएको समता क्रिएटेड इन नेपाल नामक उद्योगले आफ्ना उत्पादित वस्तु झोला र जुत्तालाई बजारको मागअनुसार पुर्याउन सकेको छैन्।
सीमान्तकृत समुदायका ३० जनालाई तालीमसमेत प्रदान गरेको उक्त उद्योगले सबै खर्च कटाएर प्रत्येक वर्ष रु १० लाख मुनाफा गर्ने गरेको सञ्चालक बस्यालले बताए।
सन् २०१६ देखि प्रत्येक वर्ष सञ्चालन हुँदै आएको सम्मेलनले सन् २०१८ सम्म तीन हजार २०० नवउद्यमीलाई व्यवसाय प्रवद्र्धनका लागि आवश्यक परियोजना, सीप विकास, लगानी साझेदारी, औद्योगिक नेतृत्वका लागि आत्मविश्वासको विकासमा सहयोग पुर्याएको कार्यक्रमका संयोजक कविराज जोशीले जानकारी दिए । उनले मुलुकमा बढ्दै गएको व्यापार घाटालाई न्यूनीकरण गर्न नयाँ नयाँ उद्यमशीलताको खाँचो औँल्याउँछन् ।
पूर्वाधार, कृषि, पर्यटन, उद्योगलगायत क्षेत्रले देशमा ठूलो रोजगारीको सिर्जना गरी अर्थतन्त्रलाई गतिशील बनाउने गर्दछ । स्वदेशी उत्पादनलाई सहजै उपभोक्तासम्म पुर्याउन सकेमा स्वदेशी मुद्रा स्वदेशमै परिचालन भई आर्थिक गतिविधि वृद्धि हुन्छ ।
सातदोबाटोमा हालै स्थापना गरिएको रारा बायोटेक कम्पनीले नयाँ प्रविधि प्रयोगबाट उच्च प्रोटिनयुक्त च्याउ उत्पादन गरी प्रदर्शनमा राखेको थियो । बायोटेकका तीन विद्यार्थीले साझेदारीमा स्थापना गरेको उक्त कम्पनीले गोब्रे, शिताकी र मृगी च्याउ उत्पादन गरी बजार विस्तार गरिरहेको छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रीति कार्कीले एक महिनाभित्र गाईभैँसी, बाख्राको गर्भाशयबारे सुनिश्चित गर्ने उपकरणको अनुसन्धान गरिरहेको जानकारी दिए ।