चितवन । पत्रकार सालिकराम पुडासैनी मृत्यु प्रकरणमा पक्राउ परेका सञ्चारकर्मी रवि लामिछाने, युवराज कंडेल र नर्स अस्मिता कार्किमाथि अनुसन्धानका लागि दोस्रो पटक म्याद थप गरिएको छ। अनुसन्धानका लागि जिल्ला अदालतले फेरि ५ दिनको म्याद थप गरेको हो।

बहस सकिएको केही समयमै अदालतले आदेश दिएको हो। उनीहरू फेरि थप ५ दिन न्यायिक हिरासतमा बस्नुपर्ने भएको छ। यसअघि चितवन अदालतका न्यायाधीश विनोदकुमार गौतमको इजलासले लामिछानेलाई अनुसन्धानका लागि बिहीबारदेखि लागू हुनेगरी ५ दिन थुनामा राख्‍न प्रहरीलाई अनुमति दिएको थियो। वादीका तर्फबाट जिल्ला न्यायाधिवक्ता यदुनाथ शर्माले र प्रतिवादीका तर्फबाट सुशील पन्त, सुनिल पोखरेल र चुडामणि सापकोटाले बहस गरेका थिए।

वादीका तर्फबाट यदुनाथ शर्माले मुद्दाको प्रकृति हेर्दा म्याद थप गरेर अनुसन्धान गर्नुपर्नेमा जोड दिएका थिए। उता, प्रतिवादीका वकिलले हिरासत मुक्त गरेर म्याद नथपी अनुसन्धान गर्नुपर्नेमा जोड दिएका थिए। जिल्ला न्यायाधीश केशव अधिकारीको इजालासमा बहस गरिएको थियो।

रवि लामिछानेसहित तीनजनाविरुद्ध आत्महत्या दुरुत्साहन अभियोगमा हिरासतमा राखी अनुसन्धान अघि बढाइएको छ। मुलुकी फौजदारी संहिताअन्तर्गत आत्महत्यामा दुरुत्साहन गरेको कसुरमा लामिछाने अनुसन्धानका लागि पक्राउ परेका थिए। पुडासैनीले आत्महत्याअघि खिचेको भिडियोमा लामिछानेसहित पत्रकार युवराज कँडेल र नर्स अस्मिता कार्कीको नाम लिएका थिए।

गत बिहीबार काठमाडौंबाट पक्राउ गरेर लामिछानेसहित तीनैलाई चितवन लगिएको थियो। चितवनको नारायणढस्थित पोखरा बसपार्कस्थित होटेल कंगारुमा पुडासैनी साउन २० गते झुन्डिएको अवस्थामा मृत फेला परेका थिए। त्यसपछि पुडासैनीका परिवारले रविसहित तीनैविरुद्ध प्रहरीमा जाहेरी दिएका थिए।

Leave a Reply