काठमाडौं : रोजगार अनुमति प्रणाली ईपीएसमार्फत दक्षिण कोरियामा प्रशिक्षार्थी नेपाली कामदार पठाउनका लागि लिइएकोे कोरियन भाषा परीक्षा उत्तीर्ण भएका परीक्षार्थीको सीप तथा क्षमता परीक्षण कार्य आगामी ४ देखि १९ मंसिरमा हुने भएको छ ।

यसअघि आगामी ४ देखि १८ भदौमा सञ्चालन हुने भनिएको दोस्रो चरणको सीप तथा क्षमता परीक्षण कार्यको समय सारेर आगामी ४ मंसिरबाट सुरु हुने ईपीएस कोरिया शाखाले जनाएको छ । सो शाखाका अनुसार सीप परीक्षामा सहभागी हुने समयावधि पनि बढाएर आगामी २७ कात्तिकसम्म पुर्‍याइएको छ । यसअघि सीप परीक्षणमा सहभागी हुन भाषा परीक्षा उतीर्ण परीक्षार्थीले गत २० देखि २९ असारसम्म आवेदन फारम भरिसक्नुपर्ने समय तोकिएको थियो ।

सोमबार पुनः नयाँ सूचना जारी गरी ईपीएस कोरिया शाखाले सीप तथा क्षमता परीक्षण कार्य आगामी ४ मंसिरबाट सुरु हुने जानकारी गराएको हो । यसअघिको समय परिवर्तन गर्नुको कारणका बारेमा भने सो शाखाले केही खुलाएको छैन । यसपाली कोरिया आफैंले कोरियन प्रविधिबाट भाषा परीक्षा उत्तीर्ण परिक्षार्थीको सीप परीक्षण गराउने सो शाखाले जनाएको छ ।

ईपीएस कोरिया शाखाका अनुसार सीप तथा क्षमता परीक्षण कार्य पहिलोपटक काठमाडौंमा हुन लागेको हो । सीप परीक्षण हुने स्थानका बारेमा भने पछि निर्णय हुने छ ।

ईपीएस कोरिया शाखाका प्रवक्ता शोभाकर भण्डारीले दोस्रो चरणको सीप तथा क्षमता परीक्षण कार्य आगामी ४ देखि १९ मंसिरसम्म सञ्चालन हुने बताए । अहिलेसम्म सीप परीक्षण केन्द्रको छनोट भइनसकेको जानकारी गराउँदै प्रवक्ता भण्डारीले भने, ‘सीप परीक्षण गर्न कोरियन प्रविधिसहितको टोली काठमाडौं आउँछन् । हामीले स्थान मात्रै निर्धारण गर्ने हो ।’

उनले सीप परीक्षणको नतिजा आगामी ४ पुसमा प्रकाशित हुने जानकारी दिए । सीप परीक्षणमा गत १३ असारमा प्रकाशित भएको कोरियन भाषा परीक्षाको नतिजामा उत्तीर्ण भएका परीक्षार्थी सहभागी हुन पाउनेछन् । यस कार्यमा सहभागी हुन भाषा परीक्षा उत्तीर्ण परीक्षार्थीले आगामी २७ कात्तिकसम्म सीप परीक्षणका लागि आवेदन फारम भरिसक्नुपर्ने सो शाखाले जनाएको छ । यस वर्षको कोरियन भाषा परीक्षामा १२ हजार नौ जना उत्तीर्ण भएका छन् । जसमध्ये ९ हजार १३३ जना उत्पादनमूलक क्षेत्रतर्फ र २ हजार ८ सय ७६ जना कृषि क्षेत्रका लागि उत्तीर्ण भएका छन् ।

यी दुवै क्षेत्रको परीक्षामा उत्तीर्ण भएकाहरू मध्येबाट यस वर्ष कोरियन सीप परीक्षण गरी जम्मा ६ हजार ७ सय कामदार मात्रै छनोट गर्ने बताइएको छ । जसमा उत्पादनमूलक क्षेत्रतर्फ ४ हजार ७ सय र कृषि तथा पशुपालन क्षेत्रका लागि २ हजार कामदार छनोट गरी कोरिया पठाइनेछ । कोरियामा अघिल्ला वर्षको तुलनामा रोजगारीका अवसर कम हुँदै गएकाले भाषा परीक्षा उत्तीर्ण गरेका परीक्षार्थीबाट करिब आधा मात्र सीप परीक्षणबाट छनोट हुने ईपीएस कोरिया शाखाले जनाएको छ ।

भाषा परीक्षा उत्तीर्ण गरी सीप परीक्षणमा समेत छनोट भएका कुल ६ हजार ७ सय प्रशिक्षार्थी कामदारबाट पनि सबै जना रोजगारीका लागि कोरिया जान पाउने ग्यारेन्टी दिन नसकिने सो शाखाले जानकारी गराएको छ । कोरियामा कति कामदार आवश्यक पर्छन्, त्यति कामदार मात्रै कोरियन सरकारले माग गर्छ, भाषा परीक्षा उत्तीर्ण गर्नु र सीप परीक्षण मा पनि उत्तीर्ण गर्नु कोरिया जान योग्य हुनु नभएको सो शाखाले स्पष्ट पारेको छ । ‘कोरियाको विकासका लागि धेरै कामदार आवश्यक पर्ने भयो भने कोरियाले छनोट गरेका सबै कामदारको माग गर्न सक्छ, नत्र आवश्यकताअनुसार मात्र लैजान्छ,’ प्रवक्ता भण्डारीले भने । दक्षिण कोरियाले यसपटकबाट भाषा परीक्षासँगै सीप परीक्षण प्रविधिलाई पनि कार्यान्वयनमा ल्याएको हो ।

सन् २००७ मा नेपालसँग श्रम सम्झौता भएसँगै सन् २००८ देखि दक्षिण कोरियाले नेपाली कामदार लिन सुरु गरेको हो । त्यसबेलादेखि अहिलेसम्म दक्षिण कोरियामा ईपीएसमार्फत करिब ३५ हजारभन्दा बढी नेपाली कामदार पुगिसकेका छन् ।

दक्षिण कोरियामा न्युनतम मासिक १ लाख रुपैयाँभन्दा बढी कमाइ हुने भएकाले नेपाली कामदारको आकर्षण बढेको छ । अहिलेसम्म कुल ५५ हजार भन्दाबढी कामदार त्यहाँ पुगिसकेका छन् । कोरियाले ४० वर्ष ननाघेका अदक्ष कामदारलाई आकर्षक तलब दिने गरी आफ्नो मुलुकमा लगिरहेको छ । अन्य गन्तब्य मुलुकहरूको तुलनामा आकर्षक कमाइ हुने भएकाले दक्षिण कोरिया जान खोज्ने युवाको संख्या उच्च छ ।

यसरी गरिन्छ सीप परीक्षण

कोरियन भाषा परीक्षामा उत्तीर्ण भएका प्रशिक्षार्थी कामदारको सीप परीक्षण गर्दा शारीरिक अवस्था कस्तो छ, कान कम सुन्ने वा नसुन्ने, दृष्टिशक्ति, दिमागको तीक्ष्णता जस्ता शारीरिक अवस्था परीक्षण गरिनेछ । यसैगरी, भाषा परीक्षा उत्तीर्ण प्रशिक्षार्थी कामदारको अन्तरवार्ता पनि सीप तथा क्षमता परीक्षणभित्रै समावेश गरिनेछ । सीप परीक्षणका लागि पनि निश्चित समय दिएर सहभागीको क्षमताका बारेमा सबै जानकारी लिइने छ । सीप परीक्षण गर्दा कोरिया कुन कामका लागि रोजगारीमा जान लागेको हो, सोही गरेर देखाउनु पर्ने सो शाखाले जनाएको छ ।

उत्पादनमूलक कामका लागि जानुपर्ने हो भने कामदारले मेसिन चलाउन वा कुनै सामग्री फिटिङ कसरी गर्ने भनि प्रयोगात्मक रूपमा देखाउनुपर्दछ । कृषि काममा जाने कामदारले कृषिसम्बन्धी काम गरेर देखाउनुपर्नेछ । यसैगरी, उत्पादनमूलक र कृषि दुवै क्षेत्रका कामदार लिन लिखित तथा सीप दुवै परीक्षण हुन्छ ।

उत्पादनमूलक क्षेत्रमा यी दुवै खालका परिक्षाको अंक बराबर तोकिएको छ । लिखित परीक्षाको १ सय र सीप परीक्षणको १ सय गरी कुल २ सय पूर्णाङ्कमा प्रशिक्षार्थीको क्षमता जाँच गरिन्छ । सीप परीक्षणतर्फ शारीरिक स्फुर्ति र अन्तर्वार्ताका लागि समान ३०/३० तथा सामान्य सीप जानेकाहरूका लागि ४० अंक गरी कुल १ सय अंकमा जाँच हुनेछ । यसैगरी, कृषि क्षेत्रका हकमा भने कुल २ सय पूर्णाङ्कमा लिखित परीक्षामा ९० र सीप परीक्षणका लागि भने ११० अंक छुट्याइएको छ ।

सीप परीक्षणअन्तर्गत प्रशिक्षार्थीले शारीरिक स्फुर्ति र अन्तर्वार्ताका लागि ३०/३० तथा सामान्य सीप शीर्षकमा ५० अंकको परीक्षा दिनुपर्नेछ । दुवै क्षेत्रकौ परीक्षामा सहभागी अनुभवी, तालिम प्राप्त तथा शैक्षिक योग्यता र सरकारी अनुभवको प्रमाणपत्र भएका प्रशिक्षार्थीहरूलाई भने अतिरिक्त ५ अंक दिइनेसमेत सो शाखाले जनाएको छ ।

Leave a Reply