काठमाडौं : चर्चित अभिनेत्री रेखा थापाले एनसेलबाट अर्बौंको पूँजीगत लाभकर असुलीका लागि दवाव दिन युवालाई आह्वान गरेकी छन्।
चलचित्र निर्मातासमेत रहेकी अभिनेत्री थापाले एनसेलले लुट मच्याउँदा पनि सरकारले केही गर्न नसकेको उल्लेख गर्दै त्यसको विरुद्ध युवा अग्रसर हुनुको विकल्प नरहेको पनि स्पष्ट पारिन्।
आइतबार काठमाडौंमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले एनसेलले करिव ४० अर्ब पूँजीगत लाभकर बुझाउन बाँकी रहेको उल्लेख गर्दै त्यसको कार्यालयमा ताला लगाउन पनि सरकारलाई आग्रह गरिन्। एनसेलले पूँजीगत लाभकर असुली नगरेसम्म त्यसविरुद्धको आन्दोलनलाई निरन्तरता दिनुपर्ने अभिनेत्री थापाको भनाई छ।
कार्यक्रममा बोल्दै वरिष्ठ अभिवक्ता डा. सुरेन्द्र भण्डारीले एनसेलको पूँजीगत लाभकर असुली नभएसम्म त्यसको सिम कार्ड बहिष्कार गर्न पनि सबैलाई आह्वान गरे। उनले सरकारले एनसेलको पूँजीगत लाभकर असुली गर्ने नदेखिएपछि आफूहरूले असुलीका लागि सर्वसाधारणलाई दवाव दिन आह्वान गर्नु परेको पनि स्पष्ट पारे।
एनसेलले हाल करिव ४० अर्ब पूँजीगत लाभकर असुली गर्न बाँकी छ। तर, सरकारले त्यसलाई उठाउन चासो नदिएको नागरिक अगुवाहरुले गुनासो गरिरहेका छन। उनीहरूले पूँजीगत लाभकर असुली नभएसम्म एनसेललाई कारोबार गर्नबाट बञ्चित गराउन पनि सरकारलाई दवाव दिँदै आएका छन्।