काठमाडौं : हाम्रो स्वास्थ्यलाई विज्ञानको चेतसहित छेउछाउका परिवेशसँग जोड्दै आएका लेखक जीवन प्रसाईंको तेश्रो पुस्तक ‘वरिपरि नै सर्वोपरि’ को शुक्रबार विमोचन भएको छ। पब्लिकेशन्स नेपालयको आर शालामा लेखक प्रसाईंले आफ्नो पुस्तक पर्यावरण र संस्कृतिका प्रखर विद्वान डा. तीर्थबहादुर श्रेष्ठलाई हस्तान्तरण गरेर विधिवत् सार्वजनिक भएको घोषणा गरेका हुन्।
कार्यक्रममा बोल्दै श्रेष्ठले हाम्रै जीवन, जगत र पाइतालाको संसारसँग यसको सम्वन्ध रहेको उल्लेख गरे। ‘पृथ्वीभरिका जीवात्माको आहाराको मूल श्रोत हरियालीको कुरा उठाएर पुस्तक अघि बढेको छ,’ वनस्पतिविद् श्रेष्ठले भने, ‘त्यसपछि हरियालीलाई यो किताबकै चुरो अर्थात् हाम्रो खानपिनसँग जोड्ने काम गरिएको छ।’
यसरी सबैले मानिआएको सर्वोपरि कुरालाई नै टेकेर पुस्तक तयार भएको जानकारी श्रेष्ठले दिए। लेखक सम्बन्धित विषयकै विज्ञ भएकाले उनले लेखेका कुराहरूको ‘रेफरेन्स’ समेत यसमा रहेको श्रेष्ठले बताए।
‘विज्ञान र प्रविधिको किताब हुँदाहुँदै पनि लेखकको चित्रण गर्ने शैलीले मलाई उपन्यास पढेजस्तै अनुभव भयो,’ श्रेष्ठले थपे, ‘अनि अरु उपन्यास जस्तो पढेपछि फ्याँक्नेभन्दा पनि दराजमा थपक्क राख्ने किताबको रुपमा मैले यसलाई पाएको छु।’
आधुनिक जीवनशैलीले हामीलाई बदल्दै लगे पनि हाम्रा वरपरको वातावरण र परम्परागत मान्यताहरु पनि उत्तिकै जरुरी छ भनेर यो पुस्तक लेख्न उत्साहित भएको लेखक प्रसाईंले बताए। ‘जैविक विविधताले हामी यति सम्पन्न छौं कि हाम्रा निम्ति अत्यन्त महत्वपूर्ण चिजहरु हाम्रै वरिपरि छन्,’ प्रसाईंले भने, ‘त्यो महत्व बुझाउनकै निम्ति यो पुस्तक तयार पारेको हुँ।’
प्रसाईंका अनुसार मानिसले स्वस्थ्य जीवनका निम्ति वंशानुगत जीनबाटै थुप्रै गुण बोकेर आएका हुन्छन्। ‘त्यसपछिको महत्वपूर्ण भनेको हाम्रो खानपिन,आनीबानी र वातावरण नै हो,’ उनले भने, ‘त्यसैले यिनै कुरालाई मेडिकल केमिस्टका रुपमा आफूले सिके जानेका वैज्ञानिक तर्कसमेत उभ्याउँदै पस्केको हुँ।’
अघिल्ला पुस्तकहरूमा खानपान र स्वस्थ्य जीवनशैली सिकाएका प्रसाईंले यसमा भने हामी र हाम्रा वरपरको प्रकृतिलाई समेत जोडेर तिनै कुराहरू प्रष्ट पारेका छन्। प्रकृति र वनस्पतिको मामलामा अत्यन्तै धनी भइकन पनि हाम्रै अघिल्तिर लोप हुन थालेका महत्वपूर्ण कुराहरु प्रति सचेतना बढाएर जोगाउनकै निम्ति पनि यसले सहयोग गर्ने विश्वास लेखकको छ।
‘किताबले उठाउन खोजेको स्वस्थ जीवनशैलीको कुरा मात्र होइन,’ लेखक प्रसाई भन्छन्, ‘आउँदो पुस्तालाई हामीले कस्तो संसार छाडेर जानेछौं भन्ने प्रश्न पनि हो।’
‘हामीले प्रारम्भदेखि नै कतिवटा पुस्तकभन्दा पनि कस्तो पुस्तक पाठकलाई दिने भन्ने कुरा ध्यानमा राख्दै आएका छौँ,’ पब्लिकेशन्सका तर्फबाट किरणकृष्ण श्रेष्ठले भने, ‘ हेल्थ एंड वेल बिंग अर्थात् स्वास्थ र स्वस्थ्य जीवनशैलीमा आधारित हाम्रो यो चौथो र प्रसाईंको तेश्रो पुस्तक हो।’
प्रसाईं अमेरिकामा स्वास्थ्य सम्बन्धि विषयमै अध्ययन अनुसन्धानमा सक्रिय छन्। उनले दुई दशकभन्दा बढी समयदेखि जडीबुटी र खाद्यपदार्थमा रहेका पोलिफेनोलको क्यान्सरलगायत जीर्ण रोगहरूको नियन्त्रण तथा उपचारमा हुने असरका क्षेत्रमा अनुसन्धान गर्दै आएका छन्। उनको वैज्ञानिक अनुसन्धान केन्द्र ‘नेसनल इन्स्टिच्युट अफ हेल्थ’ (एनआइएच) सँगसमेत आबद्धता छ।
खोजीमै आधारित उनका आलेख ‘साइन्स’ लगायत जर्नलहरूमा प्रकाशित छन्। प्रसाईंले जापानको तोयामा मेडिकल एन्ड फर्मास्युटिकल युनिभर्सिटीबाट औषधि विज्ञानमा विद्यावारिधी गरेका हुन्।
संयुक्त राज्य अमेरिकाको बर्मिङ्घमस्थित युनिभर्सिटी अफ अल्बामामा कार्यरत लेखक प्रसाईंले यसअघि यसै पब्लिकेशन नेपालयमार्फत् स्वस्थ्य जीवनशैलीमा आधारित दुइटा पुस्तक ‘जीवन जिउने काइदा’ र ‘सँधै तन्नेरी’ दिइसकेका छन्। पब्लिकेशन्स नेपालयको यो ४६ औं पुस्तक हो । २ सय २४ पृष्ठको पुस्तकको मूल्य ३९५ रुपैयाँ राखिएको छ।
पुस्तकको विमोचनसँगै मुलुकभर सबैजसो महत्वपूर्ण पुस्तक पसलहरुमा यो उपलब्ध भइसकेको छ। यो परम्परागत बिक्री प्रणाली बाहेक इन्टरनेटमार्फत् ‘थुप्रै डट कम’ (www.thuprai.com), ‘किताब यात्रा डट कम’ (www.kitabyatra.com), ‘सस्तो बुक डट कम’ (www.sastobook.com) र लैबरी डट कम (www.laibari.com) जुनसुकैमा गएर यसको अर्डर गर्ने हो भने पाठकले दिएको ठेगानामै पुस्तक उपलब्ध हुनेछ। यस्तो सेवा मुलुकका सबैजसो प्रमुख सहरहरुमा उपलब्ध छ ।