अन्तरिक्षमा विश्वको पहिलो फिल्म स्टुडियो निर्माण हुने भएको छ । स्पेस इन्टरटेनमेन्ट इन्टरप्राइज (एसईई)ले अन्तरिक्षमा फिल्म स्टुडियो बनाउन लागेको हो । आगामी केही वर्षमा वास्तविकतामा परिणत हुने एसईईले जनाएको छ ।

एसईईले यो शून्य गुरुत्वाकर्षणमा बन्ने विश्वको पहिलो मनोरञ्जन स्टुडियो हुने दाबी गरेको छ । साथै यसमा बहुउद्देश्यीय एरिना हुने दाबी पनि एसईईको छ ।

एसईई अभिनेता टम क्रुजको आगामी ‘स्पेस चलचित्र’ को सह-निर्माता पनि हो । एसईईले डिसेम्बर २०२४ सम्ममा स्पेस स्टेसन मोड्युल निर्माण गर्ने योजना अघि सारेको छ । यसअन्तर्गत अन्तरिक्षमा कन्टेन्ट स्टुडियोसँगै खेलकुद र मनोरञ्जनका लागि पनि ठाउँ निर्माण गरिनेछ ।

एक समाचार एजेन्सीको रिपोर्टअनुसार एसईई-१ नामक यो मोड्युलले लो-अर्बिट, सूक्ष्म गुरुत्वाकर्षण वातावरणमा रचनात्मक काम गर्न चाहने कलाकार, निर्मातालगायतलाई सहयोग गर्ने छ ।

फिल्म स्टुडियोले उत्पादन, रेकर्डिङ, प्रसारण र लाइभ स्ट्रिमिङ सेवा प्रदान गर्नेछ । एसईईले आफ्नै सामग्री र कार्यक्रमहरू पनि बनाउन सक्छ, जुन तेस्रो पक्षलाई उपलब्ध गराइनेछ ।

एसईई–१ निर्माणको काम एक्सियोम स्पेसले गर्नेछ । एक्सियोम स्पेसले जनवरी २०२० मा अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आईएसएस) को व्यावसायिक भाग निर्माण गर्न नासाबाट स्वीकृति प्राप्त गरेको छ ।

एसईई-१ लाई बेलायतका उद्यमी एलेना र दिमित्री लेस्नेभस्कीले मिलेर स्थापित गरेका हुन् । अहिले उनीहरू रकम जुटाउने योजनामा ​​छन् । एलेना र दिमित्रीले यसलाई अन्तरिक्षमा एक रोमाञ्चक अध्याय सुरु गर्ने अविश्वसनीय अवसर भएको बताए ।

उनीहरूले नयाँ पूर्वाधारले सुसज्जित ठाउँमा सुटिङ गर्ने राम्रो अवसर दिने बताए । यसले रचनात्मकताको नयाँ दुनियालाई बाहिर ल्याउने उनीहरूको विश्वास छ ।

एक्सियोम स्पेसका अध्यक्ष र सीईओ माइकल सफ्रेडिनीले एक्सियोम स्टेसन विश्वको पहिलो व्यावसायिक अन्तरिक्ष स्टेसन भएको बताए । एक्सियोम स्टेसनमा एसईई–१ नामक मनोरञ्जन स्थलको उपलब्धताले यस स्टेसनको उपयोगिता बढाउने उनको भनाइ छ ।

उनका अनुसार यसले नयाँ अन्तरिक्ष अर्थतन्त्रको बाटो पनि खोल्नेछ । एसइई–१ ले अन्तरिक्षको वातावरणबाट फाइदा पुग्ने एक्सियोमका प्रमुख इन्जिनियर डा. माइकल बेनले बताए ।

एसईई सिओओ रिचर्ड जोन्सन भन्छन् विज्ञानमा आधारित फिल्महरूले संसारभरि लाखौँ मानिसलाई सपना देख्न प्रेरित गर्ने छ । उनले अन्तरिक्षमा अघिल्लो पुस्ताको मनोरञ्जन स्थल निर्माण गर्दा उत्कृष्ट र नवीन सामग्री सिर्जना गर्ने नयाँ बाटो खुल्ने बताए ।

उनका अनुसार सबै कुरा योजनाअनुसार चल्यो भने सन् २०२४ सम्ममा अन्तरिक्षमा सुटिङ गर्न चाहनेहरूका लागि स्टुडियो तयार हुनेछ ।

Leave a Reply