बलिउड फिल्म खलनायकबिना अधुरो मानिन्छ । र, यो चलन ६० को दशकदेखि चल्दै आएको छ । खासगरी ८० र ९० को दशकमा खलनायकको चरित्र फिल्मको नायक जत्तिकै बलियो थियो । बलिउडमा धेरै ‘भिलेन’ छन् तर ड्यानी डेन्जोङ्पाको कुरा फरक छ ।

८० र ९० को दशकका बलिउड फिल्ममा ड्यानी आफ्नो दमदार अभिनयले फिल्मका नायकलाई समेत आतंकित बनाइदिन्थे । फिल्मका नायकसँग कुटपिटदेखि तस्करीसम्म सबै काम फिल्ममा खलनायकले गर्थे । फिल्ममा डरलाग्दो रूपमा देखिने ड्यानी वास्तविक जीवनमा निकै साधारण व्यक्ति हुन् ।

को हुन् ड्यानी डेन्जोङ्पा ?

ड्यानी डेन्जोङ्पाको जन्म २५ फेब्रुअरी १९४८ मा सिक्किमको युक्सममा भएको थियो । उनको पूरा नाम छिरिङ फिन्सो डेन्जोङ्पा हो । ड्यानी ‘भुटिया’ जातका हुन् र भुटिया उनको मातृभाषा पनि हो । उनले नैनीतालको ‘बिर्ला विद्या मन्दिर’ बाट विद्यालय शिक्षा हासिल गरे, उनले दार्जिलिङको सेन्ट जोसेफ कलेजबाट स्नातक गरेका छन् । सन् १९६४ मा कलेजको पढाइ सकेर ‘इन्डियन आर्मी’ मा छनोट भए तर आमाले नमानेपछि उनले सेनामा भर्ना हुने रहर छोडे ।

ड्यानी डेन्जोङ्पालाई बाल्यकालदेखि नै गायन र अभिनयमा धेरै रुचि थियो। त्यसैले उनी अभिनयको क्षेत्रमा करियर बनाउन पुणेको प्रसिद्ध ‘फिल्म एण्ड टेलिभिजन इन्स्टिच्युट’ मा भर्ना भए । पुणेमा पढ्दा साथीहरूले अक्सर उनको लुक्स र नामलाई लिएर खिल्ली उडाउने गर्दथे, जसका कारण उनी निकै रिसाउने गर्थे ।

यसैबीच उनको भेट जया भादुरी (जया बच्चन)सँग भयो र दुवै राम्रो साथी बने । एक दिन जयाले उनलाई भनिन्, ‘तिमीले आफ्नो नाम ‘छिरिङ फिन्सो डेन्जोङ्पा’ को सट्टा ‘ड्यानी डेन्जोङ्पा’ राख ।’ यसपछि ‘छिरिङ फिन्सो डेन्जोङ्पा’ सदाका लागि ‘ड्यानी डेन्जोङ्पा’ बने ।

ड्यानीले सन् १९७१ मा बीए. आर. इशराको फिल्म ‘जरूरत’ बाट बलिउडमा डेब्यु गरेका थिए । यस फिल्ममा उनले नायक-नायिकाको साथीको भूमिका निभाएका छन् । त्यसपछि उनले गुलजारको फिल्म मेरे अपने (१९७१) मा ठूलो ब्रेक पाए । तर, बि. आर. चोपडाको फिल्म धुन (१९७३) मा महत्वपूर्ण भूमिका निभार उनले आफ्नो अभिनय क्षमतालाई सबैसामु छर्लङ्ग पारिदिए । ७० को दशकमा ड्यानी धेरै चलचित्रमा सेकेन्ड लिडिङ पोजिटिभ रोलमा देखिए । यस अवधिमा उनले ‘फकिरा’, ‘चोर मचाए शोर’, ‘देवता’, ‘कालीचरण’, ‘बुलन्दी र अधिकार’ जस्ता चलचित्रमा पनि सकारात्मक भूमिका निर्वाह गरेका छन् ।

सन् १९७५ मा रमेश सिप्पीले ड्यानीलाई गब्बर सिंहको भूमिका अफर गरे तर समयको अभावमा उनले यो भूमिका गर्न सकेनन् । त्यसपछि अमजद खानले हिन्दी सिनेमा इतिहासमा गब्बर सिंहको चरित्रलाई अमर बनाए । त्यसपछि उनले ठूला बजेटका फिल्म ‘आशिक हूँ बहरों का’, ‘पापी’, ‘बंदिश’, ‘द बर्निङ ट्रेन’ र ‘चुनौटी’मा नकारात्मक भूमिका खेल्न पाए र ड्यानी खलनायकका रूपमा चर्चित भए । यस क्रममा उनले धेरै सुपरहिट फिल्ममा खलनायकका रूपमा काम गरे र ड्यानीको खलनायकको भूमिका पनि यादगार बने । चाहे त्यो ‘कात्या’ होस्, ‘बख्तावर’ होस् वा अग्निपथको असली ‘कांचा छिना’ होस् ।

ड्यानीले ७० को दशकदेखि ९० को दशकसम्म धेरै बलिउड फिल्ममा अभिनेता, खलनायक, दोस्रो मुख्य भूमिका र कमेडियनको रूपमा काम गरे । यस अवधिमा ‘धुड’, ‘३६ घण्टे’, ‘बंदिश’, ‘जियो और जिने दो’, ‘धर्म और कानुन’, ‘अग्निपथ’, ‘हम’, ‘खुद गवाह’, ‘घातक’, सनम बेवफा औ वरसात’ जस्ता चलचित्रमा गरेको नकारात्मक भूमिकाले उनलाई चर्चित बनायो । तर, आज पनि हामी उनलाई ड्यानी कम ‘कान्चा छिना’, ‘बख्तावर’, ‘शेरखान’, ‘कात्या’ नामले बढी चिन्छौँ । यस अवधिमा ड्यानीले त्यस युगका हरेक ठूला स्टारसँग काम गरे ।

ड्यानीले बलिउडमा मात्र नभई हलिउड फिल्ममा पनि काम गरेका छन् । उनी हलिउड फिल्म ‘सेभेन इयर्स इन तिब्बत’ मा ब्राड पिटसँग देखिएका छन् । ड्यानीले चलचित्रमा मात्रै अभिनय गरेका छैनन्, चलचित्र निर्देशन पनि गरेका छन् । उनको निर्देशनमा बनेको फिल्म ‘फिर वही रात’ हिन्दी सिनेमाको शीर्ष ५ उत्कृष्ट हरर सस्पेन्स फिल्ममध्ये एक मानिन्छ ।

अभिनेता हुनुका साथै भारतको चौथो सर्वोच्च सम्मान ‘पद्मश्री’बाट सम्मानित ड्यानी डेंगजोङ्पा उत्कृष्ट गायक, चित्रकार, लेखक र मूर्तिकार पनि हुन् । उनले आफूमाथि छायांकन गरिएको बलिउड फिल्म ‘काला सोना’ मा आशा भोसलेसँग गीत गाएका छन् । यसका अलावा ड्यानीले लता मंगेशकर, मोहम्मद रफी, किशोर कुमार र एस. डी. बर्मनसाग पनि गीत गाएका छन् । उनले बलिउडमा प्रवेश गर्नु अघि नेपाली गीत गाउने गर्थे । उनले २०० बढी फिल्ममा काम गरिसेका छन् ।

Leave a Reply