प्रा.डा. सुरेन्द्र केसीलाई खानसमेत फुर्सद छैन । शनिवार केसीनिवास पुग्दा उनी लोकसेवा आयोग तयारी गरिरहेकालाई पढाउन जान लागेका थिए । विश्वविद्यालयमा इतिहासका प्राध्यापक डा. केसी सबैभन्दा बढी क्षेत्रकालाई पढाउनेमा पर्छन् । उनले सुनाए, ‘विश्वविद्यालय अलावा सशस्त्र प्रहरी, जनपद, नेपाल प्रहरी, सेना र लोकसेवा आयोग तयारी गर्दै गरेकालाई समेत पढाउँछु । त्यसले पढाउने साँच्चैको आकांक्षा पूरा गरेको छ ।’
विश्वविद्यालयमा इतिहास पढ्ने विद्यार्थी शून्यजस्तै भए पनि उनलाई पढाउन खाँचो छैन । उनले एउटै कक्षामा तीन सय विद्यार्थीसम्मलाई पढाउँछन् । पढाउन माइकको सहायता लिनुपर्छ । लोकसेवा आयोगअन्गर्तत सहसचिवसम्मलाई पढाउने उनले सेनाका कर्णेल, प्रहरीका एसपीसम्मलाई पढाउन भ्याएका छन् । त्यसको प्रभाव र प्रतिक्रिया नराम्रो नभएको बताउने ५० पुस्तकका लेखक प्रा. डा. सुरेन्द्र केसीसँग रातोपाटीको मेरो जीवनका लागि दीपेन्द्र राईले गरेको कुराकानी :
मेरो खाना
भन्दा फेसनजस्तो हुन्छ तर मलाई मकैभटमास असाध्यै मन पर्छ । रस (झोल) हालेको कुनै पनि खानेकुरा मन पर्दैन । जस्तो कि झोल हालेको मासु, तरकारी आदि । खानकै लागि रेष्टुरेन्ट जाने बानी छैन । स्न्याक्समा प्राइ गरेको सबै मन पर्छ तर खानचाहिँ हुँदैन । पकाउने रुचि पटक्कै छैन ।
मेरो पोसाक
पोसाकमा त्यस्तो धेरै खर्च हुँदैन । मलाई जे लगाउन मन पर्छ, मेरो पेसाले त्यो लगाउन सक्दिनँ । म विश्वविद्यालयको प्राध्यापक भएकाले सादगीलाई ‘मेन्टेन’ गर्नुपर्ने हुन्छ । झिल्के, हिरो भएर हिँड्न मन परे पनि त्यो गर्न सक्दिनँ । म सस्तोमध्ये सस्तो र हेर्दा सस्तो नलाग्ने चिनियाँ कोट, ज्याकेट लगाउँछु । विदेश जाँदा युकेतिर तीनदेखि पाँच पाउन्डसम्मका ज्याकेट पाइँदारहेछन् । त्यस्ताले काम चलाउँछु ।
‘नेबि ब्ल्यु कलर’ को पोसाक लगाउन मन पर्छ । ९९ प्रतिशत कपडा सिलाएर लगाउँछु । चिनियाँ कोटचाहिँ रेडिमेड नै किन्ने गर्छु । पहिले दौरासुरुवाल लगाउँथें । टोपी लगाउन पनि सोख थियो । गाउँघरबाट काठमाडौं आउनेलाई टोपी ल्याइमाग्थें । अहिलेचाहिँ दौरासुरुवाल, टोपी लगाउनेलाई पहाडिया, प्रतिक्रियावादी, प्रतिगामी भन्न थालिएपछि डर लाग्न थाल्यो । त्यही भएर लगाउन छाडें । नत्र विदेश जाँदा पनि दौरासुरुवाल, कोट, टोपी लगाउँथें ।
पहिलोपटक बेल्जियम गएको थिएँ । बेल्जियमका साथीहरू तपाईंले यस्तो लुगा नलगाउँदा नै जाती हुन्छ भने । विदेश जाँदाचाहिँ यस्तै लुगा लगाउने मेरो मान्यता छ भनेर जवाफ दिएँ । अर्कोपटक बेलायत गएँ, त्यहाँ पनि त्यही कुरा आयो । कोरिया जाँदा पनि त्यसै भने । तपाईंहरूलाई नेपाली पोसाकप्रति किन यति धेरै चिडचिडाहट भनेर प्रश्न गरें । उनीहरूले भने, ‘त्यस्तो केही होइन सर, हामी गैरकानुनी तरिकाले बसेका छौं । तपाईंले जुन पोसाक लगाउनुभएको छ, प्रहरीको नजरमा झट्ट आँखा पर्छ । त्यसैले हामीलाई नराम्रो असर पर्छ । त्यसकारण अनुरोध गरेका हौं ।’ विदेशमा यस्तो र स्वदेशमा त्यस्तो समस्या देखिएपछि मैले दौरासुरुवाल लगाउन छाडें । तसर्थ, परम्परागत पोसाकप्रति त्यति चासो छैन । तर पनि संखुवासभा, तेह्रथुम, ताप्लेजुङ, कालीकोट र मुगु र भोजपुरका परम्परागत पोसाक मसँग भए पनि लोकतन्त्र र उदारवादका नाममा परम्परागत पोसाक विराना भए ।
सुने पनि ‘ब्रान्ड’ प्रति ‘कन्सस’ छैन । मैले तीन हजार पाँच सयसम्म ढाकाटोपी लगाएको छु ।
मेरो फिटनेस
यसमा मेरो ठूलो कमजोरी छ । एकदमै कम गर्छु । मलाई स्वास्थ्यमा धेरै समस्या छन्, त्यही भएर पहिले नगरे पनि अहिले डाइटिङमा छु । योगा गर्दिनँ । मर्निङवाक निस्कन्न तर यताउता जाँदा गाडी चढ्दिनँ । हिँडेरै पुग्ने गर्छु । त्यसैलाई शारीरिक अभ्यास ठानेको छु । ट्रेडमिलसँग भर्खरभर्खर परिचित भएको छु । गाउँठाउँबाट काठमाडौं आएका हामी स्वास्थ्यप्रति त्यति जागरुक हुन सकेनौ । बाध्यताले हामीलाई त्यसो गर्न दिएन ।
मेरो अध्यनन
नेपाली इतिहास र संस्कृतिबीचमा तादात्म्यता के छ भनेर चिन्तनका लागि विभिन्न ठाउँबाट अनुरोध आएको छ । इतिहास र संस्कृति अनि नेपाली समाज नेपालको सामाजिक बनोट र मनोविज्ञान छ, जाति, जनजातिका कुरा छन्, सामाजिक सद्भावको प्रश्न आइरहेको छ । यसको तथ्य तथ्यांकमा मुलुक ‘मिसलिड’ छ । जे कुरा भनिएको छ, त्यसमा सत्यता छैन । त्यही असत्यले मुलुकमा संघीयताको प्रश्न जटिल बनेको हो । असत्य बाटो हिँड्यौं भने संघीयता ठीक ठाउँमा पुग्दैन । यी सबैलाई कसरी ‘करेक्सन’ गर्ने भनेर चिन्तन मननमा छु ।
हिजोआज ठुल्ठूला मानिसका जीवनी पढ्दै छु । विश्वव्यापी जातीय सामाजिक संरचनाको जुन ‘ट्रेन्ड’ हो, त्यो के रहेछ, जैविक र लैंगिक विविधता, किन यी विभेद व्याप्त छन्, यसलाई कसरी निप्टारा लगाउन सकिन्छ भन्ने विषयमा केन्द्रित छु । साहित्यमा बीपी कोइराला, इतिहास र समाजमा पुष्पलाल, राष्ट्रियतामा गोपालप्रसाद रिमाल मन पर्छन् । कवि भूपी शेरचन, उपन्यासकार हृदयचन्द्रसिंह प्रधान सम्झिरहन्छु ।
मैले नेपालको वामपन्थमा पीएचडी गरेको हुँ । यही विषयमा सात किताब लेखेको छु । ती सबै नेपाली लेखिएका थिए । नेपाली पाठकमाझ मेरो बौद्धिकता पस्कें, अब विदेशी पाठक पनि बनाउनुपर्छ कि भनेर उल्लिखित किताबलाई अंग्रेजीमा अनुवाद गरिरहेको छु । मेरो घरको पुस्तकालयमा पाँच हजार बढी किताब छन् । एकताका किताब किन्ने रुझान हुन्थ्यो, अहिले किन्नु पर्दैन । म ५० किताबको लेखक छु । त्यसैले पुस्तक पसलेसँग पुस्तक साटासाट गर्छौं । किताबमा एक रुपैयाँ पनि खर्च गर्न पर्दैन ।
हिजोआज अधिकांश समय पुस्तकको मन्तव्य लेखनमा सदुपयोग गर्दै आएको छु । मन्तव्य लेखिसकेपछि पुस्तक पाउने नै भएँ । समीक्षाका लागि पनि उपलब्ध हुन्छ । दैनिकजसो आठ/दस किताब हात लाग्छ । केही समयअघि मैले एकजना प्रकाशकबाट २१ किताब एकैपटक पाएको थिएँ ।
मेरो घुमफिर
घुमफिरमा त्यत्रो रुचि थिएन । म गाउँको मानिस भएकाले गाउँ, पाखापर्वत घुम्नैपर्नेजस्तो लागेन । विदेश जाने अवसर आउन थालेपघि घुमफिरलाई पनि अध्ययनको दायरामा ल्याउनुपर्दोरहेछ भन्ने लागेको छ । आउँदा वर्ष सेवानिवृत्त हुँदै छु, त्यसपछि एकाध वर्ष घुमफिरमा खर्चन्छु । नेपालका ५० जिल्ला पुगेको छु भने १५ देशजति टेकेको छु । घुमेकामध्ये नयाँदिल्ली मन लाग्यो । अफ्रिका, रसिया र उत्तर कोरिया घुम्न असाध्यै रहर छ । श्रीलंका पनि एकदमै राम्रो देश हो । क्राइसिस नभइदिएको हो भने श्रीलंका स्वीट्जरल्यान्ड हुने थियो । छिमेकी गलत भयो भने केसम्म हुन्छ भन्ने दृष्टान्त श्रीलंका हो । त्यसैले पनि मलाई श्रीलंका पनि पुग्ने रहर छ ।
मेरो फुर्सद
खान पनि फुर्सद छैन । आरामबारे कल्पनासमेत गरेको छैन । जे जीवन भोगिरहेको छु, त्यो नै आरामजस्तो लाग्छ । कडा काम गर्नु पर्दैन । बौद्धिक काम गर्ने हो । फुर्सद भइहालेमा पढेर समय सदुपयोग गर्छु । घरपरिवारलाई समय दिन सकेको छैन ।
मेरो मोबाइल
मसँग आइफोन फोर र नोकियाको सेट छन् । दुवै मोबाइल उपहारस्वरूप पाएको हुँ । अमेरिकाबाट साथीले आइफोन पठाइदिएका थिए भने बिरामी हुँदा ठूलो फोन प्रयोग गर्न अप्ठ्यारो होला भनेर अस्ट्रेलियाबाट छोरीले नोकिया सेट पठाइदिएकी हुन् । मोबाइलमा फेसबुक र भाइबर प्रयोग गर्ने गरेको छु ।
मेरो टेलिभिजन
टेलिभिजनमा समाचार र ‘ट्यालेन्ट शो’ हेर्ने गर्छु । ‘ट्यालेन्ट शो’ पनि सन्देशमूलक हुँदारहेछन् भन्ने भेउ पाएको छु । कहिलेकाहीं फिल्म पनि हेर्छु । सात र साढे आठ बजेसम्मको बीचको समयमा टीभी हेर्ने साइत जुर्छ । घरमा एलजी टीभी छ । पहिले सानो थियो, अहिले ३२ या ४० इन्च छ ।
मेरो चलचित्र
साथी टीकाराम राईले डाक्टर साप कहिलेकाहीं हलसम्म पुगेर फिल्म हेर्नुपर्छ भनेर कुमारीहल लिएर जानुभएको थियो । राजनीतिसँग सम्बन्धित रहे पनि त्यो फिल्मको नाम सम्झन सकिनँ ।
स्नातक तहसम्म सुनसरीको धरानमा पढेको हुँ । त्यतिबेला रुचि नै फिल्म हेर्नु हुन्थ्यो । त्यतिबेला २०÷३० फिल्म हेरें हुँला । हेरेकामध्ये ‘आराधाना’, ‘कोरा कागज’, ‘सिन्दुर’ र ‘के घर के डेरा’ सम्झन्छु । जागिरे सेवा प्रवेश गरेपछि भोजपुर पुगें । त्यसपछि फिल्म हेर्न छाडें । भोजपुरबाट वीरगन्ज पुगें । वीरगन्जमा केही फिल्म हेरेको थिएँ ।
मेरो रोग
अहिले धेरै रोगले समातेको छ । क्यान्सरका लागि सालिन्दा ‘फलोअप’ मा नयाँदिल्ली जानुपर्छ । क्यान्सरले थाइराइड ग्ल्यान्ड फालेको हो । त्यसका लागि औषधि सेवन गर्दै आएको छु । मधुमेहको लक्षण देखिएको छ । माइग्रेन पनि छ ।
यसैपटक पहिलोपटक ‘होलबडी चेकअप’ गराएँ । यदि म स्वस्थ देखिन्छु भने गाउँघरको प्रणाली, उकाली÷ओह्राली, आमाको हातले पकाएको र घरको खाना नै हो ।
मेरो भाषणशैली
मैले अमेरिकन लाइब्रेरीबाट ‘पब्लिक स्पीकिङ’ मा ग्य्राजुएट गरेको छु । विद्यार्थीताका र स्थानीयस्तरमा नेतृत्वमा पनि थिएँ । फर्केर हेर्दा समाजले मलाई जहाँ राखेको छ, त्योभन्दा धेरै कमजोर थिएँ । तर, अहिले युट्युब हेर्नुभयो भने नेपालको सबैभन्दा बढी चर्चा गरिएको, उद्धरणमा लिइएकोमध्ये पर्छु । विदेशबाट धेरै प्रतिक्रिया आउँछ ।
मैले मुलुकबारे जे चासो/चिन्ता व्यक्त गर्दै आएको छु, त्यो चर्चाको विषय बन्ने गरेको छ । त्यसलाई अनलाइन म्यागेजिनले समाचार बनाउने, सेयर गर्ने गरेका छन् । मेरो अभिव्यक्तिमा जुन आक्रामकता छ, मोलाहिजा नगर्ने, निर्भयता छ, म त्योखालको नभए पनि त्यही श्रेणीमा राख्ने गर्छन् । म बौद्धिक नभए पनि जनमानसमा त्यही सन्देश गएको छ ।
भाषण गरेकै आधारमा आजसम्म विवादमा तानिएको छैन । पब्लिक स्पीकिङले जे बोल्नुपर्ने हो, ‘मास’ लाई हेरेर बोल सिकाएको छ ।
मेरो मापसे
मुखमा हालेको छैन भन्ने होइन तर त्यस्तोखालको मापसे गरेको छैन । मैले कुनै पनि पेग पूरा गर्दिनँ । केवल खाएजस्तो मात्रै गर्ने हो ।
मेरो संगीत
गीत/संगीत सुन्ने गर्छु । अहिले अञ्जु पन्त तहिले शम्भु राई, वास्तविकता भन्दा नारायणगोपाल मन पर्छन् । नारायणगोपालको ‘चिनारी हाम्रो धेरै पुराना भएझैं लाग्दछ’ भन्ने गीत गुनगुनाउने गर्छु ।
मेरो भूल
युवा पुस्ताले भूल गर्ने भनेको प्रेम प्रकरण नै हो । त्यसबाट म अछुतो रहिनँ । अपवादबाहेक प्रत्येक मानिसले जीवनमा यही शीर्षकमा गल्ती गर्ने गर्छन् । म त्यहाँभन्दा पर छैन । विद्यालय पढ्दा कहिलेकाहीं शिक्षकको गोदाइ खाएको छु । अरूजस्तो बाक्लै होइन । एकपटक मैले नै शिक्षकलाई दुव्र्यवहार गरेको सम्झन्छु । एकपटक शिक्षकले मलाई ठट्टाए । मैले भूल नगरी शिक्षकले मलाई ठट्टाएका थिए । भूल गरेको भन्ने भयो तर दुईतर्फी जाँचपड्ताल नगरी मलाई सजाय दिइयो ।
सुरुताका लोकसेवाका विद्यार्थीलाई पढाउँदा न्याय गरिनँ कि जस्तो लाग्यो । लोकसेवा आयोगले यति राम्रा विषय समावेश गरेको रहेछ कि मलाई थाहा भएन । लोकसेवा तयारी गर्दै रहेकाले सरले विश्वविद्यालय पढाएजस्तो पढाउनुभयो तर हामीलाई चाहिएकोचाहिँ यस्तो हो भनेर सुझाएपछि उनीहरूसँगै सिकेर आफूलाई रूपान्तरण गरेर पढाउन थालें ।
मेरो घर
घडेरी किन्दा पुख्र्यौली सम्पत्ति खर्चेको हु । अंशबन्डामा परेको जग्गा बेचविखन गरेर घडेरी किनें । घर आफ्नै कमाइले बनाएको हुँ । २०४८ मा बनाएको घर चार लाख रुपैयाँमा ठडिएको हो ।
मेरो राशी
मेरो राशी कुम्भ हो । ग्रहदशाप्रति वास्ता छैन । ग्रहशान्ति पनि गराउँदिनँ । ग्रह नक्षत्रको फलप्रति विश्वास छैन ।
मेरो प्रेम
जोसँग प्रेम पर्यो, उनीसँग बिहे भएन । सामाजिक समस्याले दोहोरो प्रेम हुँदाहुँदै बिहे हुन सकेन । बिहे नभए पनि उनको सम्झना आउँछ । पछि मागीबिहे भयो ।
मेरो सपना
पूर्वाधार हुँदाहुँदै पनि नेपालीले दुःख पाए । एक मानिसमात्रै सही हुने हो भने दुःखमुक्तको यात्रा नेपालबाट सुरु हुन्थ्यो भन्ने कुलमान घिसिङले देखाइदिए । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हिजैदेखि घिसिङकै जस्तो अडान लिइदिएको भए हामी आधाबाटो हिँडिसक्थ्यौं । ती दुष्प्रवृत्ति निराकरण नै मेरो सपना हो ।
हाम्रो पालामा महत्वाकांक्षा होइन, योगदानको कदर गरिन्थ्यो । आज म जहाँ छु, यसको एक अंशमात्रै जीवनको लक्ष्य थियो । म प्राध्यापक भएको पाँच/सात वर्षमात्रै भयो । म सहप्राध्यापकसम्म हुन्छु कि भन्ने लागेको थियो । तर, प्रजातन्त्रको नाममा यस्तो दुष्प्रवृत्ति, बाढी नेपाली संरचनामा प्रवेश गर्यो, कतिखेर को के हुने, फुटपाथमा हिँडिरहेको मानिस मन्त्री हुने, मन्त्री कारागार पुग्थे भन्ने थाहा हुँदैनथ्यो । मेरो बायोग्राफीको ग्राफ पनि निकै माथि पुगेको छ । मेरो सोचाइ र महत्वाकांक्षाभन्दा मैले पाएको जीवन धेरै माथि छ ।
मेरो जन्मस्थल ताप्लेजुङमा यातायात र राम्रा शिक्षण संस्था स्थापना गर्न पाए लाख हुन्थ्यो । म जुन ठाउँबाट पढ्न यहाँसम्म आएँ, सायद ताप्लेजुङबाट पीएचडी गर्ने पाँचजना होलान् । आफ्नै गाउँमा परिवारबाहेक स्नातक गरेका एकाधबाहेक छैनन् । खासगरी स्थानीय मूलवासीमा शिक्षाको पहुँच र चेतना पुग्न सकेन । तसर्थ, स्थानीयस्तरमा उच्चशिक्षा, प्राविधिक शिक्षालय र रोजगारीका पूर्वाधार तयार गर्नुका साथै स्थानीय उत्पादन बजारसम्म मात्रै जोड्न पाए हुन्थ्यो भन्ने लाग्छ । यो मेरो सपनामात्रै हो । मैले त्यस्तो योगदान दिन सकेको छैन । सम्भावना पनि छैन ।
मेरो मृत्यु
मृत्यु वास्तविकता हो तर त्यसले धेरै नै पीडा दिन्छ । क्यान्सर अप्रेसनका लागि अस्पताल रहँदा म मरेको सपना देखें । त्यतिबेला मलाई धेरै डर लाग्यो ।
गाउँमा रहँदा गाई हेर्न गएको थिएँ । एउटा रूखको ठुटो चढें । त्यो मक्किसकेको रहेछ । म जुन ठुटो चढेको थिएँ, त्यहाँबाट तल त्यति ठूलो पहाड थियो कि म खसेको भए मेरो शरीरको एक टुक्रा पनि नरहने । म त्यहाँबाट भीरपट्टि हाम्फाल्नु र ठुटो छाँगापट्टि खस्नु एकै समय भयो । त्यसरी म बाँचेको थिएँ । अहिले सम्झँदा कहाली लाग्छ ।
आफ्नो वशमा नहुने भएकाले मृत्यु यस्तै होस् भन्ने आकांक्षा छैन । मलामीमा जुन आकर्षषण छ, त्यो कोटीमा सुरेन्द्र केसी परिसक्यो भन्ने लाग्छ । मैले जे स्नेह पाएको छु, त्यो मलाई अनौठो लाग्छ । त्यो दिन पनि मैले त्यही स्नेह पाउँछु र मलाई साथ दिन्छन् भन्ने लाग्छ । रातोपार्टीबाट
Discover more from खबरगृह
Subscribe to get the latest posts sent to your email.