पुरुषहरुले आकर्षक शरीर बनाउनका लागि प्रयोग गर्ने स्टेरोइड (एक प्रकारको औषधि) तथा टाउकोमा कपाल उमार्नका लागि प्रयोग गर्ने पिल्सको असर फर्टिलिटी (सन्तान उत्पादन क्षमता) मा पर्ने वैज्ञानिकले बताएका छन् ।
आफूलाई राम्रो वा आकर्षक देखाउनका लागि प्रयोग गर्ने स्टरोड तथा पिल्सका कारण पुरुषको वीर्यमा शुक्राणुको मात्रा कम हुने देखिएको हो । शारीरिक सुगठन राम्रो बनाउका लागि प्रयोग गर्ने स्टेरोइड र टाउकोको कपाल झर्न नदिने या कपाल उमार्न सहयोग गर्ने एन्टी–बाल्डनेस पिल्सले पुरुषमा सन्तान उत्पादन क्षमता कम गर्ने देखिएको वैज्ञानिकले बताएका हुन् ।
यसले बच्चा जन्माने योजनामा रहेका दम्पतिमा गर्भ नरहने समस्या ल्याउने गरेको वैज्ञानिकले बताएका छन् । स्टेरोइड तथा एन्टी–बाल्डनेस पिल्स प्रयोग गर्ने पुरुषको वीर्यमा शुक्रकिटको मात्रा गर्भ रहनका लागि चाहिने भन्दा कम हुने गरेको पाइएको छ ।
अमेरिकाको ब्राउन विश्वविद्यालयका डा. जेम्स मोसम्यानले शारीरिक रुपमा आकर्षक या सुगठित शरीर भएका पुरुषमा फर्टिलिटी समस्या देखिएपछि आफूहरुले यसमा अनुसन्धान गरेको बताएका छन् ।
अध्ययन गर्दै जाँदा मसलहरु ठूलो बनाउनका लागि प्रयोग गर्ने स्टेरोइड र फर्टिलिटीबिच नकारात्मक सम्बन्ध पाइएको उनले बताएका छन् । यसबारे थप अनुसन्धानको खाँचो रहेको उनले उल्लेख गरेका छन् ।