विजय रावत
खलंगा : जुम्लाको पातारासी गाउँपालिकाले यार्सा संकलनका लागि पाटन जान विद्यार्थीलाई रोक लगाएको छ। बर्सेनि यार्सा टिप्न जाँदा विद्यालयको पठनपाठन प्रभावित हुने गरेकाले यसपटक यार्सा टिप्न पाटन जान विद्यार्थीलाई रोक लगाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बढथापाले बताए।
गाउँपालिकाले कुनै पनि विद्यार्थीलाई यार्सा टिप्ने काममा नलगाउन अभिभावकलाई सचेत गराएको छ। अधिकृत बढथापाले यार्सा टिप्न विद्यार्थीलाई पाटन लैजाने चलनलाई निरुत्साहित गर्न अभियान नै थालेको बताए। विद्यार्थी यार्सा टिप्न जाँदा तीन महीना विद्यालय बन्द हुने गरेका छन्। उनले भने, ‘यहाँको शैक्षिक अवस्थालाई सुधार्न विद्यालयमा पढ्ने बालबालिकालाई पाटन लैजाने चलनमा रोक लगाएका हौँ।’
यार्सा संकलन गरिने यो समयमा बालबालिकासमेत लिएर अभिभावक पाटन जाने गर्छन्। त्यसका कारण यहाँका विद्यालय खाली र शिक्षक बेकामे बन्ने गरेका छन्। यार्सा टिपाइका कारण विद्यालयमा पठनपाठन प्रभावित हुने गरेकाले गाउँपालिका अध्यक्ष, उपाध्यक्षसहित सरोकारवालाले विद्यार्थीको शिक्षा र भविष्यप्रति जिम्मेवार बन्न अभिभावकलाई दबाब दिँदै आएका छन्।
प्रशासकीय अधिकृत बढथापाले भने, ‘यहाँको शैक्षिक अवस्थालाई सुधार्न विद्यार्थीलाई पाटन लैजाने चलनमा रोक लगाएका हौँ।’ गाउँपालिका अध्यक्ष लछिमाने बोहोराले पाटनबाट यार्सा बेचेर ल्याएको पैसा एकातिर विद्यार्थीको शिक्षामा लगानी नहुने र अर्कोतिर विद्यालयको पठनपाठन पनि प्रभावित हुने भएकाले गाउँपालिकालाई निकै गम्भीर बनाएको बताए। उनले भने, ‘हामी शिक्षा नै जीवनको आधार हो भन्ने मान्यतालाई स्थापित गर्न शिक्षक, अभिभावक र विद्यालयलाई जिम्मेबार बनाउन लागिपरेका छौँ।’
अध्यक्ष बोहोराका अनुसार बालबालिकालाई पाटन जानबाट रोक्न निकै मेहनत गरिँदै छ, शैक्षिक सचेतना बढाउन ठाउँ–ठाउँमा सडक नाटक प्रदर्शनलाई अभियानकै अंग बनाइएको छ। पाटन नपठाउनेबारे छलफल चलाउन प्रत्येक विद्यालयलाई गाउँपालिकाले परिपत्रसमेत गरेको जनाउँदै उनले भने, ‘तीन महिना पाटन बस्दा ५० हजार रुपैयाँ कमाउँछन् तर नियमित विद्यालय गए भविष्य बनाउने छन्।’ पातारासीका नौ आधारभूत विद्यालयबाट थालिएको शैक्षिक जागरण अभियान आगामी वैशाख १० गतेसम्म चल्ने बताइएको छ।
गाउँपालिकाले गरेको निर्णय अवज्ञा गरेर पाटन लैजाने अभिभावकलाई के गर्ने भन्ने विषयमा पुनः गाउँ शिक्षा समितिको बैठक बसेर निर्णय गरिने उनले भने। वैशाख, जेठ र असार महीनामा यार्सा टिप्न यहाँका बालबालिकादेखि वृद्धवृद्धासम्म पाटन जाने चलन छ। अभिभावक काखको बच्चा बोकेरसमेत यार्सा टिप्न पाटन जाने गर्छन्। जुम्लामा पढ्ने समयमा पाटन जाने र पछि महँगो शुल्क तिरेर ट्युसन पढ्ने परम्परासमेत हाबी छ।
भैँसीपालन लोप हुँदै
जुम्लामा भैँसीपालन लोप हुँदै गएको छ। कुनैबेला घरैपच्छिे देखिने भैँसी हिजोआज क्रमिकरुपमा लोप हुँदै जान थालेका छन्। पछिल्लो समय उन्नत जातका गाई भित्रिदै गएपछि स्थानीयले भैँसी पाल्न छोडेका हुन्। पहिले एउटै घरमा पाँचदेखि छ भैँसी पाल्ने गरे पनि अहिले मुस्किलले मात्रै एउटा भैँसी देखिने गरेको गुठिचौर गाउँपालिका–५ का हरिचन्द्र धितालले बताए। गाउँका स्थानीयले भैँसी पाल्न क्रमिक रूपमा छाड्न थालेपछि यहाँ दुग्धजन्य पदार्थमा पनि कमी आउन थालेको छ।
गाउँबाट दूध आउन बन्द हुँदा बजारमा रहेका होटेल, चिया पसलले दूधका लागि जिल्ला बाहिरबाट प्याकिङ गरेको दूध मगाउन बाध्य भएका आचार्य डेरी उद्योगका प्रोपाइटर खडानन्द आचार्यले बताए। भैँसीबाट सोचेअनुरुप उत्पादन लिन नसकिने र उत्पादन लिन लामो समय पर्खनुपर्ने हुँदा जिल्लामा यतिखेर भैँसी पाल्ने किसानको संख्या घट्दै गएको चन्दननाथ नगरपालिका–४ मालाभिडका भैँसीपालक किसान कृष्णप्रसाद देवकोटाले बताए।