Sunday, November 10

तरकारीको भाउ २१७ प्रतिशतले वृद्धि, गणस्तर नभएको गुनासो

काठमाडौं : पछिल्लो चार महिनाको बीचमा दैनिक उपभोग्य तरकारीको भाउ २१७ प्रतिशतसम्म महँगो भएको छ।

देशकै ठूलो तरकारी बजार कालीमाटीमा माघको दोस्रो साता र वैशाख दोस्रो साताको तुलनात्मक मूल्य हेर्दा यस्तो पाइएको हो। उपत्यकावासीको मागअनुसार तरकारी आपूर्ति हुन नसक्नु र आएको पनि छिट्टै कुहिने र बिग्रने गरेकोले भाउ महँगो भएको हो।

गुणस्तर

बजारमा बिक्रीका लागि आएका तरकारीको गुणस्तर पनि राम्रो छैन। कंलकीबाट कालीमाटी तरकारी बजारमा तरकारी किन्न आएकी कल्पना सापकोटाले महँगो पैसा तिरेर पनि राम्रो तरकारी नपाएको गुनासो गरिन्। उनसँगै बजारमा भेटिएकी कंलकीकै नम्रता क्षेत्रीले बजार घुमिसक्दा पनि कुन तरकारी किन्ने भन्ने अलमलमा परेर एउटा सागको मुठा लिएर निस्किइन्।

उनीहरूले एकै स्वरमा भने, ‘तरकारीको मूल्य छोइसाध्ये छैन, मुला ६० रुपियाँ केजी छ, त्यति महँगो तरकारी त्यही पनि गुणस्तरीय छैनन्।’

२१७ प्रतिशत मूल्यवृद्धि

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार माघ महिनामा प्रतिकेजी १२ रुपैयाँ थोक मूल्यमा कारोबार भएको सेतो मुला वैशाखको दोस्रो सातामा मूल्य बढेर प्रतिकेजी ३८ रुपियाँ थोकमै पुगेको छ। जुन मूल्य माघ महिनाको भन्दा यो वैशाखमा २१७ प्रतिशत धेरै हो।

यस्तै सो अवधिमा सानो गोलभेँडा प्रतिकेजी १८ रुपियाँमा कारोबार भएकोमा अहिले बढेर ४० रुपियाँ प्रतिकेजी थोकमै कारोबार भइरहेको छ।

असिनापानीको प्रभाव

कालीमाटीकी खुद्रा व्यापारी शर्मिला खड्काको अनुभवमा यसपटक गएको फागुनदेखि आएको असिना पानीले ठाउँ–ठाउँको तरकारी बालीमा ठूलो क्षति पुर्‍याएको र त्यसको प्रभाव तरकारीको भाउमा देखिएको छ।

कालीमाटी तरकारी बजार विकास समितिका कार्यकारी निर्देशक तेजेन्द्र पौडेलले अहिले मौसमी तरकारी जति आउनु पथ्र्यो त्यति नआएका कारण पनि महँगो भएको बताए। यसपटक मौसमी तरकारीमा गएको महिना आएको असिनापानीले क्षति पुर्‍याएका कारण यसको असर अहिले देखिएको उनको भनाइ छ।

केहीको मूल्य घट्यो

पौडेलका अनुसार यस अवधिमा मुला, स्थानीय काउली, बन्दा, ब्रोकाउली, घिउसिमी, टाटेसिमी र च्याउको मूल्यमा वृद्धि भएको छ भने भान्टा, तितेकरेला, पाकेको फर्सीलगायतका तरकारी घटेको छ।

यस अवधिमा सागबाहेक गान्टे मुलाको भाउ सबैभन्दा धेरै बढेको छ तर माघ महिनामा प्रतिकेजी १८ रुपैयाँ थोक मूल्यमा कारोबार भएको सानो गोलभेँडा वैशाख महिनाको सुरुमा थोकमै ४५ रुपैयाँ पुगेको छ।


Discover more from खबरगृह

Subscribe to get the latest posts sent to your email.

Leave a Reply