• यो ‘नमूना ७३००१’ डिसेम्बर १९७२ मा चन्द्रमाको वृष-लिट्रो उपत्यकाबाट लिइएको थियो। केवल दुई नमूनाहरू चन्द्रमामा भ्याकुम सील गरिएको थियो। ७३००१ ती मध्ये एक हो। नासाले विशेष उद्देश्यका लागि यसलाई खोल्न ५० वर्ष पर्खिएको हो ।

अमेरिकाको ‘अपोलो कार्यक्रम’ को उद्देश्य मानिसलाई चन्द्रमामा अवतरण गरी सुरक्षित रूपमा पृथ्वीमा फिर्ता ल्याउनु थियो। यस कार्यक्रम अन्तर्गत, अपोलो ११, १२, १३, १५, १६ र १७ गरी ६ वटा मिसनहरूले आफ्नो लक्ष्यहरू पूरा गरे। यी मिसनहरूको सबैभन्दा उज्यालो अध्याय २० जुलाइ १९६९ को दिन थियो। सोही दिन अपोलो ११ मिसनमा गएका अन्तरिक्ष यात्री निल आर्मस्ट्रङ र बज एल्ड्रिन चन्द्रमामा पाइला राख्ने पहिलो मानव बने। दुवैले आफूसँगै चन्द्रमाको नमूना पनि पृथ्वीमा ल्याएका थिए। अर्को ग्रहबाट वस्तु पृथ्वीमा ल्याएको यो पहिलो पटक हो।

अनुसन्धानका लागि पाँच दशकसम्म किन पर्खिनुपर्‍यो ?

अपोलोका यी ६ वटा मिसनमार्फत धेरै वैज्ञानिक डाटा र करिब ४०० किलोग्राम चन्द्रमाको नमूना पृथ्वीमा ल्याइएको थियो। जसमा चन्द्रमाबाट ल्याइएको कुल २ हजार १९६ ढुङ्गाको नमूना समावेश छ । तर आधा शताब्दी बितिसक्दा पनि सबै नमूनाको अनुसन्धान कार्य पूरा हुन सकेको छैन । नासाले अब पछिल्ला केही नमूनाहरूमा काम सुरु गरेको छ। यो ढिलाइ जानाजानी गरिएको हो। उनीहरूमाथि थप अनुसन्धान गर्न सकियोस् भनेर नासाले तिनीहरूलाई सिल गरेर राखेको थियो।

लोरी ग्लेज नासा मुख्यालयमा ग्रह विज्ञान विभागका निर्देशक हुन्। यसबारे एक विज्ञप्ति जारी गर्दै उनले भने, ‘नासालाई थाहा थियो कि भविष्यमा विज्ञान र प्रविधिमा प्रगति हुनेछ। यसले वैज्ञानिकहरूलाई ती नमूनाहरूलाई नयाँ र उन्नत तरिकाले नमूनाको अध्ययन/अनुसन्धान गर्न मद्दत मिल्ने छ। जसले भविष्यका चुनौती र चिन्ताहरूलाई मध्यनजर गर्दै हामी नयाँ पक्षहरू हेर्न सक्षम हुनेछौं।’

नमूना ७३००१ के हो ?

अनुसन्धानका लागि भर्खरै खोलिएको नमूनाको नाम हो – ७३००१। यो नमूना ७३००१ एउटा ३५ सेमी लामो र चार सेमी चौडा ट्यूब हो। यो ट्यूब चन्द्रमाको वृष-लिट्रो उपत्यकाबाट ढुङ्गा सङ्कलन गर्न जमिनमा घुसाइएको थियो। केवल दुई नमूनाहरू चन्द्रमामा भ्याकुम सील गरिएको थियो। ७३००१ तीमध्ये एक हो। एपोलो १७ मिसनमा चन्द्रमामा गएका अन्तरिक्ष यात्री युजीन सार्नेन र ह्यारिसन स्मिटले सन् १९७२ को डिसेम्बरमा यसलाई पृथ्वीमा ल्याएका थिए। यो चन्द्रमामा नासाको अन्तिम मानव मिशन थियो।

यो ट्यूब ७३००१ मा ग्यास वा पानी, कार्बन डाइअक्साइड जस्ता चिजहरू हुन सक्छ। यीमध्ये थोरै मात्रा मात्र ट्यूबभित्र रहेको हुन सक्ने अनुमान गरिएको छ। नासा तिनीहरूलाई सुरक्षित रूपमा प्राप्त गर्न चाहन्छ, ताकि तिनीहरूको हालका वर्षहरूमा अत्यधिक उन्नत गरिएका स्पेक्ट्रोमेट्री प्रविधिहरूको सहायताले विश्लेषण गर्न सकियोस्। यसअघि फेब्रुअरी २०२२ मा यस ट्यूबको बाहिरी भागमा सुरक्षा कभरका रूपमा राखिए अतिरिक्त ट्यूब तह हटाइयो। त्यसमा चन्द्रमाको ग्यास थिएन।

यसबाट वैज्ञानिकहरूले ट्यूबमा बन्द गरिएका नमूना सुरक्षित रहेको अनुमान लगाएका छन्। अर्थात् नमूना लिक भएको छैन। त्यसपछि २३ फेब्रुअरीमा वैज्ञानिकहरूले ट्यूबको मुख्य भागमा प्वाल पारेर भित्रको ग्यासको नमूना संकलन गर्ने प्रक्रिया सुरु गरे। यो लामो प्रक्रिया पूरा हुन हप्ता लाग्न सक्छ। यसपछि भित्र जम्मा भएको ढुङ्गालाई सावधानीपूर्वक निकालिने छ। यो तोडिनेछ। त्यसपछि विभिन्न वैज्ञानिकहरूको टोलीले यसको विश्लेषण गर्नेछ।

चन्द्रमामा पहिरोको रहस्य समाधान हुनेछ!

चन्द्रमाको जुन स्थानबाट यो नमूना ७३००१ संकलन गरिएको हो, त्यो पनि रोचक छ। यो स्थानमा एक पटक पहिरो गएको थियो। यसको महत्त्वबारे बताउँदै एपोलोका डेपुटी क्युरेटर जुलियन ग्रस भन्छन्, ‘चन्द्रमामा पानी पर्दैन। त्यसैले हामीले बुझ्न सकेका छैनौँ त्यहाँ पहिरो खस्नुको कारण के हो ।’

ग्रोसका अनुसार अनुसन्धानकर्ताहरूलाई आशा छ कि नमूना विश्लेषण गरेर त्यसको जवाफ पाउन सकिने छ। ७३००१ पछि चन्द्रमाबाट ल्याइएको तीनवटा नमूनाहरू मात्र बाँकी रहनेछन्, जुन अझै पनि सिल छन्। तिनीहरू कहिले खोलिने भनेर सोध्दा, वरिष्ठ क्युरेटर रायन सिग्लरले भने, ‘मलाई लाग्दैन कि हामी अझै अर्को ५० वर्ष पर्ख्नेछौँ। आर्टेमिसबाट नमूना प्राप्त भएपछि, हामीले आर्टेमिसबाट प्राप्त गरेका नमूना र बाँकी बचेका सिल नमूनासँग तुलना गरेर हेर्दा उचित हुने छ।’

मंगल ग्रहमा मानिस पठाउन मद्दत पाउन सकिन्छ

आर्टेमिस चन्द्रमामा नासाको अर्को मिसन हो। एजेन्सीले सन् २०२५ मा फेरि चन्द्रमामा मानिस पठाउने तयारी गरिरहेको छ। आर्टेमिस मिसनमा नासाले पहिलो पटक महिला र अश्वेत अन्तरिक्ष यात्रीहरूलाई चन्द्रमामा पठाउनेछ। यसपटक पनि चन्द्रमामा अपेक्षाकृत लामो समय बस्ने प्रयास गरिने छ। यस अभियानका क्रममा चन्द्रमाबाट ठूलो मात्रामा ग्यासको नमूना सङ्कलन गरिनेछ। यी मिसनहरूमा चन्द्रमा र यसको वरपरको वातावरणसँग सम्बन्धित जानकारीहरू प्राप्त हुने छ, जसलाई मंगल ग्रहमा मानव पठाउने महत्त्वाकांक्षी योजना पूरा गर्न प्रयोग गरिनेछ। डिडब्लू

Leave a Reply