दक्षिण कोरियाको दक्षिणपश्चिमी क्षेत्रको एक गाउँमा जथाभावी छुरा प्रहार गरी कम्तीमा पाँच जना नागरिकको हत्या गरिएको छ।
यसरी मारिनेमा सर्वसाधारण नागरिक परेका छन्। त्यस्तै अरू १३ जना छुरा प्रहारबाट नराम्ररी घाइते भएका छन्। एकजना स्थानीयले आफ्नो अपार्टमेन्टमा आगो लगाएको र आगो लागेपछि भाग्ने क्रममा भाग्न खोज्ने नागरिकलाई छुरा हानिएको बताइएको छ।
सो अपार्टमेन्टको चौथो तल्लामा एकजना ४२ वर्षीय स्थानीय बस्ने गरेका थिए। उक्त अपार्टमेन्टको आफू बसिरहेको तल्लामा आगो लगाएर भागेका थिए।
उनी भाग्ने क्रममा सो अपार्टमेन्टको भूइँतल्लाको प्रतिक्षालयमा बसिरहेका मानिस भाग्न खोजेका र भाग्ने क्रममा उनीहरूमाथि नै छुरा हानिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
उनीहरू सो अपार्टमेन्टमा बसोबास गरिरहेका व्यक्ति भएको खुलेको छ। उनीहरूमध्ये पाँच स्थानीयलाई छुरा हानी घटनास्थलमै हत्या गरिएको थियो। यसरी मारिनेमा एकजना १३ वर्षीया बालिका पनि रहेकी छिन्।
त्यसैगरी, मारिनेमा दुई जना ७० वर्षका, एकजना ६० वर्षका नागरिक र अर्का एकजना ३० वर्षका रहेका खुलेको पनि समाचारमा जनाइएको छ।
उनले सो अपार्टमेन्टमा लगाएको आगो करिब २० मिनेटपछि निभाइएको थियो। ती व्यक्तिलाई प्रहरीले गोली प्रहार गरी पक्राउ गरेको थियो। उनले आफूले गल्ती गरेको स्वीकार गरेका छन्।
उनी बेरोजगार व्यक्ति भएकोले उनमा निराशा रहेको देखिएको छ। प्रहरीले उनको स्वास्थ्य रिपोर्ट भेटेको र ती व्यक्तिमा मानसिक रोग रहेको पाइएको पनि अधिकारीले जानकारी दिएका छन्।