काठमाडौं, १ साउन : अमेरिकामा ह्याकरको समूहले उच्च पदस्थ र विशिष्ट व्यक्तिसहित उद्योगपतिका ट्विटर अकाउण्ट ह्याक गरी सहयोग रकम माग गरेको घटना सार्वजनिक भएको छ ।
बिट क्वाइन घोटाला नाम दिइएको यो प्रकरणमा ह्याकरको समूहले अर्बपति उद्योगी इलोन मस्क, जेफ बेजोस र बिल गेट्सलाई लक्षित गरेर उनीहरूको ट्विटर अकाउन्टमा सन्देश पठाएका हुन् ।
यसैगरी, पूर्वअमेरिकी राष्ट्रपति बराक ओबामा, विदेशमन्त्री जो विडेन, मिडिया सञ्चालक माइक ब्लुमबर्ग तथा चर्चित गायक किने वेस्टबाट समेत रकम माग गरेको खुलेको छ ।
‘सबैले केही न केही माग गरिरहेका छन् र अब सही समय आएको छ’ लेखिएका सन्देशसहित एक हजार डलर पठाएमा २ हजार पठाइदिने आशयका सन्देशहरू प्राप्त भएको विल गेट्सले बताएका छन् । धेरै प्रतिष्ठित र चर्चित व्यक्तिहरूलाई लक्षित गरी पठाइएको उक्त सन्देश केही समयपछि हटाइएको बताइएको छ ।
बीबीसीका अनुसार ह्याक गरिएको खातामा पासवर्ड परिवर्तनको आग्रह समेत अस्वीकार गरिएको छ र केही अन्य खाताको कामहरू काम गर्न छोडेका छन् । ट्विटरले यसरी चर्चित व्यक्तिहरूलाई एकै पटक धेरै सन्देश पठाउन मिल्ने गरी आफ्नो प्रणालीमा भएको छेडखानीको अनुसन्धान शुरु गरिसकेको बताएको छ ।
ट्वीटरका कार्यकारी प्रमुख ज्याक डोर्सेले बुधबार अबेर लेखेका छन्, ‘ट्वीटरमा हाम्रो लागि अत्यन्तै चुनौतीपूर्ण दिनको सामना गर्दैछौँ, यसप्रकारको गतिविधिपछि हामी सबै त्रसित महसुस गरेका छौँ ।’ उनले अगाडि लेखेका छन्, ‘हामी सबै के र कसरी भएको सम्बन्धमा डायग्नोस गर्दैछौँ, सकेजति साझा गर्नेछौँ ।’
साइबर सुरक्षा कम्पनी क्राउडस्ट्राइकका सह संस्थापक दमित्री अल्परोभिचले रोयटर्ससँगको कुराकानीमा भने, ‘सामाजिक सञ्जालको यो अहिलेसम्मकै सबैभन्दा खराब ह्याक हो ।’
टेस्ला र स्पेस एक्सका प्रमुख एलन मस्कको ट्वीटर खातामा कोभिड–१९ ले गर्दा म उद्धार हुनुपर्ने महसुस गरेको लेखिएको छ । बिट क्वाइनको लिङ्क साझा गर्दै उक्त ट्वीटमा बिटक्वाइनको कुनै भुक्तानी ३ मिनेटभित्र पठाइए दोब्बर हुने उल्लेख गरिएको छ । तर, ट्वीट गरिएको केही मिनेटभित्रै उक्त ट्वीट हटाइयो ।
उक्त हयाकमा अर्बपतिहरूसँगै उबर र एप्पल पनि लक्षित गरिएको छ । बिल गेट्सका प्रवक्ताले एपी समाचार संस्थासँग कुराकानी गर्दै ट्वीटरले हाल सामना गरिरहेको मुद्दाको एक कडीको रुपमा ह्याकलाई अर्थ्याएका छन् ।