बलिउड अभिनेता अमिताभ बच्चनलाई कोरोना पुष्टि भएकाे छ । बच्चनले आफ्नाे आधिकारिक सामाजिक सञ्जाल ट्वीटर र फेसबुकमार्फत आफूलाई काेराेना पाेजिटिभ देखिएको पुष्टि गरेका हुन् ।
७७ वर्षका उनी उपचारका लागि मुम्बईकाे नानावाती अस्पताल भर्ना भएकाे भारतीय संचारमाध्यमले लेखेका छन् ।
‘आज (शनिबार) साँझ मलाई कोरोना पोजेटिभ भएको छ । अस्पताल भर्ना भएको छु । अस्पतालले सम्बन्धित निकायलाई खबर गरिसकेको छ,’ अमिताभले आफ्नो पाेस्टमा लेखेका छन्, ‘मेरो परिवारका सदस्य र स्टाफको पनि परीक्षण गरिएको छ । नतिजा आउन बाँकी छ ।’
उनले पछिल्लो १० दिनमा आफू र आफ्नो परिवारको सम्पर्कमा आएकालाई पनि परिक्षण गराउन आग्रह गरेका छन् ।
अमिताभ पछिल्लो पटक सुजीत सरकारको ‘गुलाबो सिताबो’मा देखिएका थिए । कोरोना महामारीका कारण यो फिल्म अमाजोन प्राइम भिडियोमा रिलिज गरिएको थियो ।
उनी रियालिटी शो ‘कौन बनेगा करोडपति’को १२ सिजनको होस्टका रुपमा पनि देखिँदै थिए ।