इस्लामावाद २४ जेठ : पाकिस्तानमा कोरोना भाइरसबाट संक्रमितको संख्या दिन प्रतिदिन बढिरहेको भए पनि यहाँको सरकारले आगामी सोमबारदेखि लकडाउन खोल्ने भएको छ । प्रधानमन्त्री इमरान खानले सोमबारदेखि देशव्यापी रूपमा नै लकडाउनलाई खुकुलो बनाउने बताएको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका हुन् ।

प्रधानमन्त्री खानले देशको अर्थतन्त्रलाई बचाउन लकडाउनलाई लामो समयसम्म जारी नराख्ने बताएका हुन् । लामो समयसम्म लकडाउन गरी राख्दा मध्यमवर्गीय तथा श्रमजीवी वर्गको अवस्था नाजुक बन्नुका साथै दशेको अर्थतन्त्रमा नराम्रो प्रभाव पर्ने बताए ।

त्यसैले यहाँका अधिकांश शहरका साथै देशका प्रमुख केन्द्र तथा बजार पसल पनि खुल्ने भएको बताइएको छ । प्रधानमन्त्री खानले शुक्रबार सो कुराको जानकारी दिएका थिए । पाकिस्तानमा पछिल्लो समयमा ४ हजार ७३४ जना संक्रमित थपिएको शनिबार बिहान जानकारी दिइएको छ । ती पछिल्लो समयमा थपिएका संक्रमितसहित यहाँका संक्रमितको संख्या ९३ हजारभन्दा बढी पुगेको यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यहाँ सो भाइरसबाट ज्यान जाने व्यक्तिको संख्या १ हजार ९३५ जना पुगेको बताइएको छ । यहाँका स्वास्थ्य अधिकारीहरूले यो भाइरसबाट गएको २४ घन्टामा मात्र ९७ जनाको ज्यान गएको बताएका छन् । यहाँका ३२ हजार जनाभन्दा बढीलाई निको भएको बताइएको छ । यहाँको सिन्ध प्रान्त सबैभन्दा बढी प्रभावित क्षेत्र हो । त्यस्तै त्यसपछिको प्रभावित क्षेत्र भनेको पञ्जाव प्रान्त हो ।

Leave a Reply