कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै युट्युब र नेटफ्लिक्सले भिडियोको स्ट्रिमिङ्ग क्वालिटी घटाउने भएका छन् । प्रयोगकर्ताको चाप अकल्पनीय रूपमा बढेसँगै युट्युब र नेटफ्लिक्सले युरोपेली मुलुकहरूमा एक महिनाका लागि भिडियो स्ट्रिमिङ्ग क्वालिटी घटाउने भएका हुन् ।

भिडियो स्ट्रिमिङ्ग गुणस्तर घटाउँदा युरोपियन नेटवर्कहरूमा नेटफ्लिक्सको इन्टरनेट ट्राफिक २५ प्रतिशतले घट्ने अनुमान नेटफ्लिक्सका प्रवक्ताले गरेका छन् ।

त्यस्तै, युट्युबको मातृ कम्पनी गुगलका प्रवक्ताले युट्युब प्रणालीको बढ्दो चापलाई कम गर्नका लागि तथा युट्युब प्रयोगकर्तालाई सन्तोषजनक सेवा प्रदान गर्नका लागि सम्बन्धित मुलुकका सरकारहरूका साथै नेटवर्क अपरेटरहरूसँग मिलेर काम गरिरहेको बताएका छन् ।

इन्टरनेटलाई कोल्याप्स हुनबाट बचाउनका लागि एचडी भिडियो प्रशारणमा रोक लगाउन युरोपेली युनियनले गरेको अपिलसँगै युट्युब र नेटफ्लिक्सले यस्तो निर्णय गरेका हुन् ।

युरोपेली मुलुकहरूमा लकडाउनसँगै दशौँ लाख कामकाजी मानिसहरूले घरबाटै अनलाइन मार्फत काम गरिरहेका तथा विद्यार्थीले इन्टरनेटबाटै लेखपढ गरिरहेका अवस्थामा इन्टरनेटमा अकल्पनीय चाप बढेको भन्दै इयूका अधिकारीहरूले जुनसुकै बेला इन्टरनेट कोल्याप्स हुनसक्ने चिन्ता जाहेर गरेका थिए ।

इन्टरनेटलाई कोल्याप्स हुनबाट जोगाउनका लागि भिडियो स्ट्रिमिङ्ग साइटहरूले एचडी भिडियोमा रोक लगाएर इन्टरनेटको ट्राफिक कम गर्नुपर्ने इयूका अधिकारीहरूले बताएका थिए ।

इयूको इन्टरनेट बजार हेर्ने आयुक्त थिएरी ब्रेटनले बुधबार र बिहीबार नेटफ्लिक्सका सीर्ईओ रिड हास्टिङसँग भेट गरी भिडियो स्ट्रिमिङ्ग साइटहरूका कारण इन्टरनेट नेटवर्कमा परेको अत्यधिक चापका बारेमा जानकारी गराएका थिए ।

Leave a Reply