युरोपको भीमकाय हवाई कम्पनी एयरबसमाथि ह्याकरहरुले शृंखलाबद्ध साइबर आक्रमण गरेको कम्पनीले जनाएको छ। आक्रमणकारीले मुख्यतया एयरबसका आपूर्तिकर्ताको विवरण चोरी गर्न खोजेका थिए।

एयरबसका सुरक्षा विज्ञहरूका अनुसार आक्रमणकारीहरू चिनियाँ नागरिक रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। ह्याकिङका बारेमा अनुसन्धानरत दुईजना सुरक्षा विज्ञहरूले एयरबसमाथि १२ महिनाको अवधिमा चारपटक आक्रमणको प्रयास भएको बताएका छन्।

तर, एयरबसको सुरक्षा प्रबन्ध निकै शक्तिशाली र अद्यावधिक रहेका कारण ह्याकरहरू कम्पनीको मुख्य प्रणालीमा प्रवेश गर्न नसकेको एयरबसले जनाएको छ। एयरबसले आममानिसका लागि विमान निर्माण गर्नुका साथै सैनिक प्रयोजनका सामग्री पनि बनाउने गर्दछ।

ह्याकरहरूले पछिल्लो समय बेलायती इन्जिन निर्माता रोल्स–रोयस र फ्रान्सेली प्रविधि कन्सल्टेन्सी एक्स्प्लेओमाथि साइबर आक्रमण गर्ने प्रयत्न पनि गरेका थिए। एएफपीका अनुसार एयरबसका निम्ति कार्य गर्ने दुई वटा फ्रान्सेली कम्पनीमाथि पनि साइबर आक्रमण भएको थियो।

हवाई सुरक्षासँग सम्बन्धित बुस्टएरोस्पेस कम्पनीका विशेषज्ञ रोमाइन बोटानले साइबर आक्रमणकारीले एयरबसको कम्प्युटर प्रणालीको कमजोर हिस्सा पहिचान गरी मुख्य प्रणालीमा प्रवेश गर्न चाहेको बताए।

‘ठूला कम्पनीको सुरक्षा प्रबन्ध निकै राम्रो हुन्छ, र त्यसलाई सहजै तोड्न सकिन्न। त्यसैले ठूला कम्पनीकै साना साना हिस्साभित्र आक्रमणकारीहरू छिर्ने प्रयत्न गरिरहेका हुन्छन्’ उनले भने।

Leave a Reply