युनिसेफको सहयोगमा कारखाना निर्माण
संयुक्त राष्ट्रसंघ बालकोष (युनिसेफ) ले प्लास्टिकजन्य फोहोरबाट इँटा बनाउने उद्देश्यले पश्चिम अफ्रिकी मुलुक आइभरीकोस्टमा कारखाना स्थापना गर्ने भएको छ।
बालकोषका प्रवक्ताले निजी क्षेत्रको सहकार्यमा स्थापना गरिने कारखानाकाबाट उत्पादित इँटा स्कुल निर्माण प्रयोग गरिने जानकारी दिए। प्लास्टिकबाट उत्पादित यी इँटा निकै टिकाउ र न्यून लागतमा उत्पादन हुने बताइएको छ।
राष्ट्रसंघका उपप्रवक्ता फरहान हकले आइभरीकोस्टमा बालबालिकाका लागि १५ हजार कक्षाकोठाको अभाव रहेको बताउँदै नयाँ योजनाले विद्यार्थीलाई पठनपाठनका लागि सहज वातावरण निर्माण हुने विश्वास व्यक्त गरे।
उनले भने ‘यो नवीन साझेदारीबाट आगामी दुई वर्षभित्रै २५ हजारभन्दा बढी बालबालिकाका लागि ५०० कक्षाकोठा निर्माण हुनेछन्।’
बालकोषका कार्यकारी निर्देशक हेररिता फोरले पनि एक वक्तव्य प्रकाशन गरी अफ्रिकी बालबालिका र समुदायले सामना गर्नु परेका चुनौती ठूला रहेको बताए।
बालकोषले कोलम्बियाली सामाजिक संस्था कोन्सेप्टोस प्लास्टिकोससँगको साझेदारीमा आइभरीकोस्टको राजधानी अबिजानमा यो कारखाना स्थापना हुन लागेको जनाएको छ। कारखानाको निर्माण कार्य यसै वर्षको अन्त्यसम्ममा पूरा हुनेछ।
बालकोषका अनुसार एक वर्षमा कारखानाबाट ९ हजार ६०० टन प्लास्टिकजन्य फोहोर प्रशोधन हुनेछ। यसअघि नमुनका रुपमा कोलम्बियामा निर्माण गरिएका प्लास्टिक इँटाबाट गोन्जाभिल्ले, डिभो र टोउमोडीमा नौ वटा कक्षाकोठा बनाइएको छ।
नमुना परीक्षणमा प्लास्टिकका इँटाको प्रयोग निकै सफल भएको बालकोषले जनाएको छ।