भक्तपुर । परीक्षा अगावै प्रश्नपत्र बाहिरिएपछि रोकिएको प्रदेश-२ को माध्यमिक शिक्षा परीक्षा (एसइई) यही चैत २२ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । परीक्षा बोर्डको आज (चैत्र १८ गते) बसेको बैठकले सो निर्णय गरेको राष्ट्रिय परीक्षा बोर्डका सदस्यसचिव दुर्गा अर्यालले जानकारी दिए ।

लगातार प्रश्नपत्र बाहिरिन थालेपछि गत शुक्रबार सरकारले रद्द गरेको परीक्षा पुनः सञ्चालन गरिने भएको हो । प्रश्नपत्र बाहिरिएको विज्ञान विषयको परीक्षा चैत २२ गते तथा सामाजिक विषयको परीक्षा चैत २३ गते सञ्चालन हुने अर्यालले बताए । अन्य विषयमध्ये चैत २४ गते जनसङ्ख्या, संस्कृत, कर्मकाण्ड र ज्योतिष विषय, चैत २५ गते वेद विषय तथा चैत २६ गते ऐच्छिक विषयको परीक्षा सञ्चालन हुने उनले जानकारी दिए । चैत २७, २८ र २९ गते भने प्राविधिक विषयको परीक्षा हुनेछ ।

प्रदेश २ मा एसइई अन्तर्गतका अनिवार्य विज्ञान, सामाजिक विषयका प्रश्नपत्र एकपछि अर्को गरी बाहिरिएका थिए। बिहीबार र शुक्रबार लगातार प्रश्नपत्र बाहिरिएपछि शिक्षा मन्त्रालयको आग्रहमा गृह मन्त्रालयले घटनाको छानबिनका लागि केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) खटाएको छ । त्यस्तै शुक्रबार साँझ शिक्षा मन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा बसेको आकस्मिक बैठकले परीक्षा स्थगित गर्ने निर्णय गरेको थियो ।

परीक्षा स्थगित गरेपछि प्रदेश-२ का विभिन्न ठाउँमा परीक्षार्थीहरूले विरोध प्रदर्शन गरेका थिए । विरोध प्रदर्शनका क्रममा विभिन्न शैक्षिक संस्थामा तोडफोड गर्नुका साथै प्रहरीका सवारी साधनमा आगजनी गरेका थिए । परीक्षा दिन पाउनु पर्ने भन्दै उनीहरूले शिक्षा मन्त्री र प्रदेशका मुख्यमन्त्रीको समेत राजीनामा माग गरेका थिए ।

Leave a Reply