पहिलो दिन वर्षकै सर्वाधिक ठूलो ओपनिङ गरेको कलंकको व्यापार निरन्तर ओरालो लागेको छ। आलिया भट्ट, वरूण धवन, सोनाक्षी सिन्हा, आदित्य रोय कपुर, संजय दत्त तथा माधुरी दिक्षित अभिनित ‘कलंक’ले लगानी उठान पनि कठिन हुने विश्लेषण गरिएको छ। फिल्म १५० करोड भारूको बजेटमा तयार भएको हो।
करण जोहर निर्मित सिनेमा उनको करियरकै सबैभन्दा ठूलो फ्लप बन्न निश्चित रहेको चर्चा भारतीय संचार माध्यमले गरिसकेका छन्। सिनेमाको यो अवस्थालाई लिएर ‘कलंक’ अभिनेत्री सोनाक्षी सिन्हाले मुख खोलेकी छन्। उनले सिनेमाको वक्सअफिस आफ्नो नियन्त्रणमा नरहेको प्रतिक्रिया दिइन्।
‘मेरा लागि हरेक सिनेमा उस्तै महत्वपूर्ण हुन्छन्। आशासँगै सिनेमाको सफलताको लागि ईश्वरसँग प्राथना गर्छु तर केहि सिनेमाले दुर्भाग्यवशः राम्रो प्रतिफल दिएको छैनन्’, सोनाक्षीले अगाडि थपिन्, ‘तर म आशा मार्दिन। म सदैव आफ्नो उत्कृष्ट दिने प्रयास गर्छु तर वक्सअफिस मेरो नियन्त्रणमा हुँदैन। अभिनेत्रीका रूपमा मेरो नियन्त्रण मेरो काम र अभिनयमा मात्र हुन्छ। त्यसैले जुन कुरामा मेरो नियन्त्रण छैन, त्यसको बारेमा म चिन्ता गर्दिन।’
त्यसैगरी कलंककी अर्की स्टारकास्ट आलिया भट्टसँग भारतीय सञ्चार माध्यमले फिल्म फ्लप हुनुको कारण सोधे। आलिया फिल्म फ्लप हुनुको कारणको आफूले विश्लेषण गर्न नमिल्न पन्छिइन्। तर, उनले केही रोचक कुरा भने सञ्चारकर्मीहरूलाई सुनाइन्।
‘फिल्मको विश्लेषण मैले गर्ने होइन, यसको आवश्यक पनि छैन। जनताको अदालत सबैभन्दा ठूलो हुन्छ’ उनले थपिन्, ‘यदि दर्शकले फिल्म स्वीकारेका छैनन् भने यसको अर्थ यो हो कि फिल्मले साँच्चै नै केही विशेष जादु देखाउन सकेन। हामीले मात्र यसलाई स्वीकार गर्नुपर्छ र पछिका लागि पाठ सिक्नुपर्छ।’
किन भयो कलंक फ्लप ?
कलंकमा राम्रो स्टारकास्ट र दमदार अभिनय हुँदाहुँदै पनि दर्शकहरूले यसलाई किन रुचाएनन् ? यसको सबैभन्दा ठूलो कारण हो फिल्मको पटकथा। फिल्मको पटकथा निकै ढिलो गरी अगाडि बढ्छ। साथै यो फिल्म निकै लामो छ।
अभिषेक वर्मनले यसको निर्देशन गरेका छन् भने करण जोहरले फिल्ममा १५० करोड भारु खर्च गरेर बनाएका छन्। तर, फिल्म रिलिज भएको पाँच–६ दिन बितिसक्दा पनि लगानीको आधा रकम पनि उठाउन सकेको छैन।