एजेन्सी । बलिउड अभिनेत्री पायल रोहतगी पछिल्लो समय सिनेमामा देखिएकी छैनन् तर उनले दिएको पछिल्लो बयानले भने चर्चा बटुलिरहेको छ।
हाल उनको एक भिडियो भारतमा भाइरल भइरहेको छ। सो भिडियोमा उनी वरिष्ठ अभिनेत्री एवं आलिया भट्टकी आमा सोनी राजदानमाथि केन्द्रित गरेकी छन्।
भिडियोमा पायलले भारतीय नागरिक नरहेको मान्छेले कुन नाताले भारतीय जनतालाई भोट हाल्न आग्रह गरेको भनेर प्रश्न उठाएकी छन्। उनले यस्ता मानिसलाई देशबाहिर फाल्नुपर्नेसमेत बताएकी छिन्।
उनले त्योसँगै ‘मान्छे बूढो हुँदै गएपछि बहुलाउँछन् भन्थे हो रहेछ’, भनेकी छिन्। उनले देशमा एमसिआर लागू भए आलियाका आमा-छोरी नै देशबाट बाहिर हुने बताइन्।
पायलले सोनीको ट्वीट पोस्टपछि प्रतिक्रिया जनाउँदै यस्तो बताएकी हुन्। सोनीले यसपटकको भारतीय चुनावमा घृणाका विरुद्ध मतदान गर्नुपर्ने बताएकी थिइन्। यो उनको ट्वीट भारतीय जनता पार्टीलाई भोट नहाल्न गरिएको अपिल थियो।
आलियाकी आमासँग ब्रिटिस पासपोर्ट छ र आलियासँग पनि बेलायती नागरिकता छ। केहि दिन पहिले एक टिभी अन्तर्वार्तामा आलियाले आफूसँग भारतीय पासपोर्ट नभएकाले भोट हाल्ने इच्छा हुँदाहुँदै पनि हाल्न नपाउने खुलासा गरेकी थिइन्।
पायलले यसै कुरा लिएर आमा-छोरीमाथि बयान दिएकी हुन्। पायलले यस्तो बताए पनि सोनीले आफू पहिले मानव भएकाले मानिसलाई भोट हाल्न आग्रह गरेको ट्वीट गरेकी छन्।