नायिका पूजा शर्माले रूकुमको चौरजहारी घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडाभन्दा कडा कारबाहीको माग गरेकी छन् । सामाजिक संजाल फेसबुकबाट घटनाका बारेमा प्रतिक्रिया दिँदै यस्तो बताएकी हुन् ।
उनले रोग नयाँ आउँदा हाम्रो सबैको सोच भने पुरानै रहेको भन्दै व्यंग्यसमेत गरेकी छन् । उनले समानता नै मनवताको आधारशीला हो भन्ने तथ्यलाई बुझ्न पनि सुझाएकी छन् । अब रोगसँग लड्नु कि छिमेकीको मिचाइबाट लड्नु कि आफ्नै घर भित्रको अन्तर जातीय विभेदसँग लड्ने भन्दै अहिले साँच्चै गाह्रो स्थिति रहेको उल्लेख गरेकी छन् ।
‘रोग चाहिँ नयाँ आउन थाली सक्यो तर हाम्रो सोचमा चाहिँ कहिले नयाँपन आएन हो । समानता नै मानवाताको पहिलो आधारशिला हो भन्ने तथ्य कहिले बुझ्छौ होला है हामीले ? अब रोगसँग लड्नु कि छिमेकीको मिचाइबाट लड्नु कि आफ्नै घर भित्रको अन्तर जातीय विभेदसँग लड्नु । साच्चै नै गाह्रो छ स्थिति’ उनले अगाडि लेखेकी छन्, ‘भगवान् हामी सबैलाई सतबुद्धि र सही बाटो देखाऊ ! दोषीलाई कडाभन्दा कडा कारबाही होस् सरकार ।’
शनिबार पश्चिम रुकुममा प्रेमिकासँग विवाह गर्न साथीसहित आएका जाजरकोट भेरी नगरपालिकाका नवराज विकसहित ३ जनाको केटी पक्षको आक्रमणबाट जोगिन नदीमा हामफाल्दा मृत्यु भएको छ । अन्य तीन जना बेपत्ता छन् भने १२ जना घाइते भएका छन् । उक्त घटनामा संलग्न रहेको आरोपमा गाउँपालिका अध्यक्षसहित १२ जनालाई प्रहरीले पक्राउ गरेको छ ।