काठमाडौं : विश्वकै होचो कलाकारको रूपमा परिचित मनोज विकको सहयोगार्थ फिल्म ‘सेल्फी किङ’को विषेश शो हुने भएको छ। नेपाल राष्ट्रिय मोडलिङ संघले आगामी शनिबार अर्थात् यही २५ गते फिल्मको विषेश शो आयोजना गर्न लागेको हो।

बोनम्यारो रोगबाट केही समयदेखि पीडित मनोजको अहिले उपचार भइरहेको छ। पारिवारको आर्थिक अवस्था मजबुत नहुँदा उनको उपचारमा आर्थिक समस्याले कठिनाई उत्पन्न भइरहेको छ। ‘विश्वका होचा कलाकारको छवि बनाएका मनोज राष्ट्रका गौरव हुन्’ नेपाल मोडलिङ संघका केन्द्रीय अध्यक्ष दिनेश शाहीले भने ‘उनको उपचारमा केही सहयोग पुगोस् भन्ने उद्देश्यले फिल्मको विषेश शो गर्न लागिएको हो।’

विशेष शोका लागि ‘सेल्फी किङ’ निर्माता सुवास थापा र दिनेश राउतले फिल्म उपलब्ध गराएका छन्। फिल्मको विषेश शोबाट उठेको सम्पूर्ण रकम मनोजलाई नै प्रदान गरिने बताइएको छ। शो कमलपोखरीस्थित सिटी सेन्टरको बिग मुभिजमा बिहान ९ बजे राखिएको छ। उक्त शोमा फिल्मका कलाकार, राजनीतिक नेता तथा समाजसेवीहरुको समेत उपस्थिति रहने अध्यक्ष शाहीले जानकारी दिए।

विशाल सापकोटा निर्देशित फिल्ममा दिनेश राउत र शुभाष थापाको लगानी रहेको छ। फिल्ममा विपिन कार्की, लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, लोकमणि सापकोटा, सविन बाँस्तोला, कमल देवकोटा, राजेश बिसुराललगायतका कलाकारको अभिनय रहने छ भने अभिनेत्री केकी अधिकारीले ‘जाली रूमाल’ बोलको गीतमा अभिनय गरेकी छिन्।

फिल्ममा विशालकै लेखन, सुसन प्रजापतिको छायाकन, जीवन थापाको सम्पादन, सुवास भुषालको संगीत, बि. पाण्डेको शव्द, अञ्जु पन्त र पुरुषोत्तम सुबेदीको गायन, उदय पौडेलको संगीत संयोजन, निर्मल लामाको कोरियोग्राफी, कृति जोशीको श्रृगार, आशिष पौडेलको कस्ट्युम डिजाइन, उत्तम न्यौपानेको साउण्ड डिजाइन, विनोद पोखरेलको स्टिल फोटोग्राफी र किशोर नेपालको कला निर्देशन रहेको छ। यसमा सहनिर्माता राजेश बिसुराल र प्रवल कोइराला रहेका छन्।

Leave a Reply