काठमाडौं : ‘सप्तरङ्ग’ कार्यक्रमको दोश्रो चरण प्रारम्भ हुने भएको छ। नोभेम्बर दोस्रो साताबाट सातै प्रदेशमा सुरु हुने कार्यक्रमको तयारी अन्तिम चरणमा रहेको आयोजक गृष्मा ब्रोर्डकास्टिङले जानकारी दिएको छ। गत वर्ष सातै प्रदेशमा पहिलो चरणको कार्यक्रममा सम्पन्न भएको थियो।
पहिलो सिजनमा सद्भाव र ऐक्यवद्धतालाई केन्द्रमा राखेको आयोजकले दोस्रो सिजनको कार्यक्रमलाई पर्यटन प्रवर्धन र समुन्नति केन्द्रित गरेको छ। दोस्रो सिजनका लागि अभिनेता राजेश हमाल, गायक सुगम पोखरेल, गायिका मेलिना राई, हिमाल सागर, प्रकाश सपुत र रवि ओडसँग सम्झौता भइसकेको आयोजकका प्रवन्ध निर्देशक गृहेन्द्र घिमिरेले जानकारी दिए।
पहिलो सिजनमा सात प्रदेशविचको सम्बन्ध नागरिकस्तरमा सुमधुर बनाउन प्रभावकारी भएकाले दोस्रो सिजनमा देशका सातै प्रदेशमा सांगितिक यात्राको माध्यमबाट पर्यटकिय स्थानको प्रवर्धन र सम्भावनाको खोजी गरिने घिमिरेले बताए। पर्यटन वर्ष २०२० को पूर्वसन्ध्यामा आयोजनाको तयारी गरिएको कार्यक्रमले संगीत र मनोरञ्जनका साथ स्थानिय कला संस्कृतिलाई उजागर गर्ने लक्ष्य राखिएको आयोजकले बताएको छ।