यमबुद्धको सपनालाई अभियानको रुपमा सञ्चालन गरिरहने छु : बुवा अम्बिका अधिकारी
काठमाडौं : चर्चित र्यापर गायक स्व. यमबुद्धको स्मृतिमा शुक्रबार महेन्द्र भृकुटी माध्यमिक विद्यालयका विद्यार्थीबीच एकल गायन प्रतियोगिता सम्पन्न भएको छ।
यमबुद्ध फाउण्डेशनले ललितपुरको जावलाखेल एकान्तकुनास्थित उक्त विद्यालय परिसरमा आयोजना गरेको गायन प्रतियोगिता कार्यक्रममा २३ जना विद्यार्थी सहभागी भएका थिए। गायन प्रतियोगितामा अनुग्रह ताङ्दो राई प्रथम, मनिषा गिरी द्वितीय र कृष्ण परियार तृतीय भए। फाउण्डेशनका अध्यक्ष अम्बिकाप्रसाद अधिकारी र कोषाध्यक्ष उर्मिला अधिकारीले गायन प्रतियोगितामा सहभागी भएका सबै विद्यार्थीलाई प्रमाणपत्र र टिसर्ट वितरण गरे।
कार्यक्रममा बोल्दै अम्बिका अधिकारीले आफ्नो छोरा गायक स्व. यमबुद्धका सपना र योजनालाई देशैभरि अभियानका रूपमा सञ्चालन गर्दै लैजाने बताए। उनले यमबुद्ध हामी माझ नभए पनि उसले गरिब परिवारका विद्यार्थीलाई गर्ने गरेको सहयोगलाई सधैँ निरन्तरता दिइरहने प्रतिबद्धता जनाए।
विद्यालयका प्रधानाध्यापक पुष्पराज जोशीले यमबुद्ध धेरै युवाको मन-मनमा बसेको बताउँदै उनका सामाजिक कार्यको सबैले प्रशंसा गर्नुपर्ने बताए। जोशीले यमबुद्धले युवा माझ एक छुट्टै किसिमको छाप छोडेर गएको उल्लेख गरे।
त्यसैगरी, अध्यक्ष अधिकारीले उक्त विद्यालयमा अध्ययनरत विपन्न परिवारका छात्र छात्रालाई झोला (स्कुल ब्याग) र स्टेशनरी सामानसमेत वितरण गरेका थिए। यमबुद्धको वास्तविक नाम अनिल अधिकारी हो। उनी तीन वर्षअघि लण्डनस्थित आफ्नै घरको बाथरुममा मृत भेटिएका थिए।