काठमाडौं : भारतका रोबिन भट्ट र अमेरिकाका जेफ मोनाहोन पटकथा लेखन सिकाउने भएका छन्। नेपाल फिल्म एन्ड कल्चरल एकेडेमीले चलचित्र विकास बोर्डसँग मिलेर गर्न लागेको पटकथा लेखन कार्यशालाका लागि स्रोत व्यक्तिको रुपमा रोबिन र जेफ नेपाल आउने कन्फर्म भएको हो। एकेडेमीका अध्यक्ष केपी पाठकले भदौमा हुने कार्याशालाका लागि दुवैजना नेपाल आउन तयार रहेको जानकारी दिए।

७२ वटा बलिउड फिल्म लेखेका रोबिन भट्ट महेश भट्टका नातेदार हुन्। उनले महेशका धेरैजसो फिल्मसँगै ‘बाजीगर’, ‘ओमकारा’, ‘कृष’, ‘चलते चलते’, ‘चेन्नइ एक्सप्रेस’ आदि फिल्म लेखेका छन्। जेफ भने अमेरिकाको न्युयोर्क एकेडेमीमा पढाउँछन्। रोबिन भट्टले नेपाल आउन आफू उत्साहित रहेको बताएका छन्।

‘नेपाल आउने रहर पहिलादेखि नै थियो। आफ्नो लेखनयात्रा नेपालका लेखकसँग बाँड्नलाई म साँच्चिकै उत्सुक छु,’ उनले भनेका छन्। जेफसँगै मिलेर रोबिनले पटकथा लेखनका तकनिकी र व्याकरण सिकाउने छन्।

एकेडेमीका अध्यक्ष केपी पाठकले नेपालमा फिल्म लेखकको कमीलाई महसुस गरी लेखन कार्यशाला गर्न लागेको बताए। ‘राम्रो पटकथा कुनै पनि राम्रो फिल्मको आधार हो। वर्कसपले यो क्षेत्रमा काम गरिरहेका लेखकलाई थप क्षमता विकासका लागि प्रेरित गर्ने अपेक्षा छ,’ पाठकले भने।

कार्यशालाको संयोजन लेखक सम्पदा मल्लले गरिरहेकी छिन्। उनले कार्यशाला बिल्कुलै सिकारुका लागि भन्दा पनि कम्तीमा एउटा छोटो फिल्म बनाएका लागि लक्षित गरिएको बताइन्। उनले कार्यशालापछि सहभागी हरेकले एउटा पटकथा लेख्न पर्ने र त्यसबाट एक जना विजेता छान्ने बताइन्। मल्लले भनिन्, ‘उत्कृष्ट हुने पटकथाले १ लाख नगद पाउनेछ।’

कार्यशालामा सहभागी हुन इच्छुकले असार मसान्तसम्म नाम दर्ता गराइसक्नु पर्ने आयोजकले जनाएको छ। कार्यशाला भने भदौको ४ देखि १० गतेसम्म मकवानपुरमा हुनेछ।

Leave a Reply