काठमाडौं : चलचित्र ‘प्रेम गीत’ को सिरिज ‘प्रेम गीत ३’ मा मुख्य अभिनेत्री बन्नका लागि २ हजार ७ सय १४ जना युवतीले आवेदन दिएका छन्। आसुसेन फिल्म्स प्रोडक्सनले चलचित्रको मुख्य क्यारेक्टर गीतका लागि आसुसेन फिल्म्स डट कम तथा आसुसेनको अफिसियल इमेलमा इच्छुकबाट आवेदन माग गरेको थियो।
आवेदन दिएका मध्येबाट शुक्रबार उत्कृष्ट २५ जना युवतीलाई अडिसनका लागि छनोट गरिएको छ। निर्माता तथा निर्देशक सन्तोष सेन, निर्देशक छेतेन गुरुङ, सिनेम्याटोग्राफर राजेश श्रेष्ठ लगायतको टिमले २७ सय १४ जनाबाट उत्कृष्ट २५ छनोट गरेको हो।
अब, उत्कृष्ट २५ बाट अभिनेत्री अर्थात् चलचित्रको ‘गीत’ पात्रका लागि एक जना छनोट गरिने निर्मता सेनले बताए। उनका अनुसार छनोट गर्न लागिएकी युवतीबाट चलचित्रको भित्रको पात्रको चरित्र, लुक्स, उचाई, अभिनयशैली, सुन्दरता लगायतलाई ध्यान दिइने छ।
‘प्रेमको जोडी अर्थात् ‘गीत’ को लागि आएका आवेदन अधिकांश आकर्षक हुनुहुन्थ्यो’, निर्मता सेनले भने, ‘उहाँहरूबाट उत्कृष्ट २५ छान्न हामीलाई निकै हम्मे–हम्मेसमेत परेको थियो।’
‘प्रेम गीत’ मा प्रदीप खड्कासँग पूजा शर्माले अभिनय गरेकी थिइन् भने ‘प्रेम गीत २’ मा भने अश्लेषा ठकुरीले गीतको भूमिका निर्वाह गरेकी थिइन्। अब निर्माण हुन लागेको चलचित्र ‘प्रेम गीत ३’ मा नयाँ लुक्सलाई भित्राउने तयारी गरेका निर्माण पक्षको छ। चलचित्र ‘प्रेम गीत ३’ आगामी चैत्र २८ गते अलनेपाल प्रदर्शन गर्ने निर्माण पक्षले जनाएको छ।