Sunday, September 8

चीनको साङ्घाइका २ करोड ५० लाख जनतालाई घर बाहिर निस्कन रोक

चीनले साङ्घाइमा जारी निषेधाज्ञालाई थप विस्तार गरी सहरको दुई करोड ५० लाख जनसंख्यामा लागू गरेको छ ।

साङ्घाइमा कोभिड–१९ संक्रमितको संख्या ह्वात्तै बढेपछि प्रशासनले यो निर्णय लिएको हो ।

साङ्घाइमा देखिएको कोभिड–१९ संक्रमणदर नियन्त्रणका लागि सुरुमा बढी प्रभावित पूर्वी र पश्चिमी क्षेत्रहरूमा छुट्टाछुट्टै प्रावधानहरू अपनाइएको थियो तर अहिले सहरको सबै भूभाग समेट्ने गरी अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको हो ।

साङ्घाई हालसम्म निषेधाज्ञा जारी भएको चीनको पहिलो ठूलो एकल सहर हो।

महत्त्वपूर्ण वित्तीय केन्द्रसमेत रहेको यस सहर विगत एक महिनादेखि कोरोनाभाइरस संक्रमणको नयाँ लहरसँग संघर्षरत छ ।

अधिकारीहरूले कोरोनाभाइरसको संक्रमणदर प्रतिदिन १३ हजारभन्दा माथि पुगेपश्चात् नयाँ नियम लगाएका हुन् । सहरका केही भेगका बासिन्दाका अनुसार उक्त कडा प्रावधानअन्तर्गत कोही पनि आफ्नो घर बाहिर निस्कन पाउँदैनन् ।

साङ्घाईले यति बेला क्वारन्टाइन नीतिलाई लागू गर्दै चीनको शून्य–कोभिड रणनीतिको उच्चतम विन्दुसम्म परीक्षण गरिरहेको छ ।

यस नीतिले चीनलाई अन्य देशहरूको दाँजोमा अलग्गै राखेको छ। अन्य देशले भाइरसको प्रभाव न्यूनीकरण गर्दै जनजीवन चलायमान राख्ने कोसिस गरेको समय चीनले शून्य–कोभिड रणनीतिलाई अगाडि सारेको हो ।

सहरव्यापी परीक्षण कार्यक्रमपश्चात् २४ घण्टामा दुई करोड पचास लाख मानिसहरूको नमुना संकलन गरी गरिएको परीक्षणमा उक्त अवधिमा १३ हजार व्यक्तिमा कोभिड संक्रमण देखिएको हो ।

समस्या समाधानका लागि कम्तीमा ३८ हजार व्यक्ति अन्य क्षेत्रबाट साङ्घाइ खटाइएको बीबीसीले जनाएको छ ।

सरकारी समाचार संस्थाहरूले सन् २०२० मा वुहान निषेधाज्ञा पछि यो हालसम्मकै ठूलो देशव्यापी चिकित्सकीय कार्यक्रम भएको बताएका छन् ।


Discover more from खबरगृह

Subscribe to get the latest posts sent to your email.

Leave a Reply

Discover more from खबरगृह

Subscribe now to keep reading and get access to the full archive.

Continue reading