Wednesday, February 21

त्रिकोणात्मक सिरिजका लागि नेपाली क्रिकेट टोलीले थाल्यो अभ्यास खेल

सेप्टेम्बर दोस्रो साताबाट ओमानमा हुने आइसीसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत नेपाल, अमेरीका र ओमान सम्मिलित एकदिवसीय त्रिकोणात्मक सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीले अभ्यास थालेको छ । वर्षायाममा मौसम प्रतिकूल भइरहेको अवस्थामा पनि मुख्य प्रशिक्षक डेभ ह्वाटमोरले टोलीलाई अभ्यास गराउन सुरु गरेका हुन् ।

यसअघि सोही सिरिजका लागि भनेर नेपाल क्रिकेट संघ (क्यान) ले १९ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको थियो । जसमा गुल्सन झा पहिलो पटक राष्ट्रिय टोलीमा परेका छन् । पूर्वकप्तान पारस खड्काले संन्यास लिएपछि उनको नाम टोलीबाट हटाइएको छ । दुई दिन अगाडि खेलाडीले अभ्यास सुरु गरे पनि बिहीबार मात्र बोलाइएका सबै खेलाडी प्रशिक्षणमा उपस्थित भएका हुन् ।

राष्ट्रिय क्रिकेट टोलीले बिहानीसत्रमा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा फिटनेस प्रशिक्षण गरेका थिए भने दिउँसो कीर्तिपुर मैदानमा प्रशिक्षण गरेका छन् । युवा ब्याट्सम्यान रोहितकुमार पौडेल लामो समयपछि सिनियर टोलीमा कमब्याक गरेका छन् । लिग टु मा नेपालले अहिलेसम्म चार खेल खेलेको छ । जसमा दुई जित निकाल्दा दुई खेलमा नतिजा सुम्पिएको छ ।

घरेलु मैदानमा ओमान र अमेरिकासँग नेपालले चार खेल खेलिसकेको छ । लिगमा नेपालले चार खेलमा ४ अंक जोडेको छ । नेपाल छैटौँ स्थानमा रहेको छ । ओमान १० खेलमा १६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । १२ खेलमा १२ अंक जोडेको अमेरिका दोस्रो स्थानमा रहेको छ ।

Leave a Reply

Discover more from खबरगृह

Subscribe now to keep reading and get access to the full archive.

Continue reading